फाँटैभरिको धान खाने मुसा दुलामा छन् । बिहानैदेखि रातिसम्म ट्वार ट्वार कराउने आहालभित्रका भ्यागुता भने छानेरै जेलमा कोचिएका छन् । धन्य राजनीति !
हाम्रै तराईको महोत्तरीमा रू.दुई अर्ब मात्र खर्च गरेर खोलिएको अति आधुनिक डिजिटल कन्ट्रोलबाटै क्वालिटी स्टान्डर्ड गर्ने तर हिलामा फुलेको कमल जस्तो सबै कवाडी र पोलेरै आगो ताप्नेखाले टुक्रा कागजबाटै चलेको कागज उद्योगमा तिन सय जनाले जागीर पाएछन् । विदेशमा मजदुरी गरेरै बचाएर ल्याएका केही राष्ट्रप्रेमीले आआफ्ना पाखापखेरामै फर्केर कसैले बाख्रा र माछा, कसैले कुखुरा र भैंसी पालेर, कसैले अनेक तरकारी, फलफुल, कफी आदि उत्पादन गरेर उच्च पहाडका कागुनो, फापर, जुनेलो, कोदो खेती आदि जहाँ इच्छा त्यही उपाय गरेरै सानो पुँजीले ठुल्ठुला उद्योग गर्दैछन् । यसरी पुँजीलाई सदुपयोग गर्नाको सट्टामा अति नै साना बचतकर्तालाई बचत गर्न सिकाएर दाउरा बेच्ने, दुनाटपरी बेच्ने, एक-दुई लिटर लोकल ठर्रा रक्सी बेचेर कमाउने, थोरै लिटर दुध बेच्ने, गिट्टी कुट्ने, इँटा पार्ने कुल्ली र नदीभित्रबाट डुबेरै बालुवा निकाल्नेसम्मका मजदुरले बचत गरेको रकम देशैभरिको जम्मा गरेरै विदेशमा पुर्याएरै कुकार्य गर्ने सबै राजनीतिक संरक्षण र तिनकै छातामुनि अनेक नामधारी पार्टीका छाउरादेखि उच्चतम तह तप्कासम्मका सबैको यहाँ सहकारी डुबाउनेमा मिलोमतो देखियो ।
हेर्दै जाँदा ठगहरू अनेक भेषधारी, विभिन्न पेसाको नाटक गर्ने नामधारी म्यानपावर कम्पनीका विभिन्न पदमा पदासीन भएर एदेखि जेडसम्मका ठगहरू जे-जे नाम, रुप, वेशभूषा देखाएर सहरका तारे होटलदेखि गाउँ गाउँका कवाडी टिपेर बजारमा बेचेर रू दुईचार कमाउनेसम्मका सबैलाई स्तरअनुसार नाता जोडेर पार्टनर बनी विदेशमा पठाइदिने भनेर व्यापारिक पार्टनर, साझेदार बनाएर जे-जे रूपमा देखिए पनि सबै एउटै गोलाका अरिङ्गाल रहेछन् । तिनले जसरी पनि लुटेराको सुरक्षा गर्ने रहेछन् । नयाँ नयाँ पार्टी खोलेरै नयाँ तरिकाले ठग्नेको संरक्षक चाहिँ सरकारी स्तनधारी पुतनाले गोकुलका बच्चालाई स्तनपान गराएजस्तै सहकारीका रूपमा घुम्ने ठगका मुख्य संरक्षक हुँदा रहेछन् । जानेर या नजानेरै प्रयोग भएका प्रहरीदेखि न्यायकर्मीसमेतको महाजालो मूल ताँदो तान्ने डोरी एउटै रहेछ । त्यो माथिको आदेश दिने को हो, रु ८६ अर्ब ठग्ने को को रहेछन् र तिनको सञ्चालन र संरक्षण कसले कसरी गरेको रहेछ, सबै खबर बाहिरिएको छ । प्रशासन र सरकारले नै माथिको आदेशले संरक्षण गरेको पुष्टि भइसक्यो । अब अन्तिम अस्त्रले नै माथिको आदेश लगाएरै बन्द गर्नैपर्छ । अन्यथा अराजकताले मेची महाकालीसम्मै मनपरि चलाउन सक्ने खतरा छ ।
विदुर-४ वागबानी, नुवाकोट
मोबाइल नं ९८४९८५३१११
प्रतिक्रिया