हाम्रा कुरा : सरकारको अनुभुति गर्न पाईएन ?

राष्ट्रियताको नारा उरालेर दोस्रो कार्यकाल आरम्भ गरेको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला चौतर्फी असफलताको सिकार भएको छ । संकटको समयमा सरकारका निर्णय, कार्य र सेवा प्रवाह सबै असफल र गन्जागोल भएपछि आम जनताले नै त्यसको भार ब्यहोर्नुपर्छ । यतिबेला ओली सरकार आफ्ना निर्णय, कार्य र सेवा प्रवाहका सबै क्षेत्रमा सम्पूर्ण रूपमा असफल भईरहेको छ । त्यसको मार आम जनताले र समग्रमा देशले खेपिरहेको छ । कतिञ्जेल खेपि रहला ?

सरकारको असफता देखाउने केही घटना हेरौं । सरकारले औपचारिक रूपमा देशमा लकडाउन गरायो । लकडाउनले कोरोना नियन्त्रण हुँदैन । कोरोनासँग दैनिक जिउन सिक्नुपर्छ भनेर लकडाउन हटाईयो । त्यसपछि कोरोना संक्रमणको बढोत्तरी भईरह्यो । यसले अहिलेसम्म निरन्तर रूपमा बढिरहेको छ । लकडाउनले गर्दा सार्वजनिक जीवनमा भने तोडिंदै गएपछि राजश्व उठाउने बहानामा खुल्ला गरियो । देशका मुख्य शहर र साना बजारमा क्रमशः पसल खुल्न थाले । निजी सवारीसाधन सडकमा गुडिरहेका थिए । ठाउँ–ठाउँमा पसल खुल्न थाले । खोल्न चाहने ब्यापारी र रोक्न खोज्ने प्रहरीबीच झडप, धक्का, मुक्काका घटना भए । सरकारप्रति जनताको अविश्वासको यो एउटा चरम उदाहरण देखियो । गत महिनाबाट लकडाउन खुल्ला गरी स्थानीय प्रशासनलाई आवश्यकता अनुसार कोरोना संक्रमण रोक्न अधिकार प्रत्योजन गरियो । अहिले पनि ५० वटा भन्दा बढी जिल्लाको केही भाग र पूरा भागमा निषेधाज्ञा छ । निषेधाज्ञा कहिलेसम्म कसरी र किन लगाउने भन्ने बारे सरकार जनतालाई आश्वस्त पार्ने गरी निर्णयमा पुगेको छैन । निषेधाज्ञा त गरियो कोरोना संक्रमितको संख्या झन् बढ्न थाल्यो । अनि निषेधाज्ञा केही खुकुलो हुँदै जाँदा यसको अर्थ बुझ्न आम मानिसलाई अप्ठेरो परिरहेको छ ।

लकडाउनपछि निषेधाज्ञाले देशभित्रको अर्थतन्त्र र प्रारम्भमा लहर र निर्माण परियोजनामा काम गर्ने आमश्रमिक र पछि किसानको हुर्मत त लियौं, तर न विदेशबाट कोरोना संक्रमित आउन रोकिएका छन्, न तिनको ब्यवस्थित परीक्षण भएको छ । न त विभिन्न मुलुकमा फसेका र नेपाल आउन चाहनेको उद्धार गर्न सकिएको छ । दोस्रो पक्ष क्वारेन्टाइनको हो । कतिपय ठाउँमा क्वारेन्टाइन बस्नकै लागि स्थानीय तहले गरीव मजदुरसँग पैसा उठाउन थालेका छन् । क्वारेन्टाईन खास समयसम्म कसैले समुह या समुदायमा कोरोना नसारोस् भनेर समुदाय भन्दा बाहिरबाट आएकाका लागि ब्यवस्था गरिएको हो । तर, क्वारेन्टाइनमा बस्ने भिडमा छन्, खाने–बस्ने राम्रो ब्यवस्था छैन, संक्रमित सँगसँगै बस्नुपर्दा पहिले निरोगी भएकामा पनि कोरोना सल्केको छ, उपचार नपाएर मानिस मरेका छन् र सरकारले सबैको परीक्षणसमेत गर्न सकेको छैन । कतिपय मानिस सरकारलाई देखाउन दिनमा क्वारेन्टाइनमा बस्ने र राती घरमा पुगेर सुत्ने गरेका छन् । यो जनताको स्वास्थ्यमाथिको आपराधिक खेलबाड हो ।

तेस्रो पक्ष, स्वास्थ्य उपकरण र औषधी खरीदमा भएको लापरबाही र भ्रष्टाचारको हो । ओम्नी समुहसँग गरिएको खरिद र पछिल्लो समय सेनामार्फत गरिएको खरिदमा पनि बजारमा प्रचलित मूल्यको तुलनामा कैयन् वस्तुमा निकै बढी मूल्य तिरिएको छ । यसले वर्तमान सरकार महामारीलाई नै भ्रष्टाचारका लागि प्रयोग गरिरहेको सन्देश जान्छ । चौथों, अर्थतन्त्र डाँमाडोल छ । दैनिक प्रशासनिक खर्च धान्नकै लागि पनि ऋण लिनुपर्ने अवस्थामा राज्यकोषको आधार खस्किंदै गएको छ । बजेटमा आगामी वर्षका लागि ७ प्रतिशतमाथिको विकास लक्ष्य राख्ने सरकारले अहिले नै भोकले मरिरहेका र बिलौना गरिरहेका मानिसलाई बाँच्ने अधिकारको सुरक्षा गर्न सकेको छैन । अहिले किसानले रासायनिक मल पाएका छैनन् । मल खरिदमा सरकार र पार्टीका उच्च नेताका आसेपासेको संलग्नताले भ्रष्टाचार बढ्ने, मोल समयमा नआउने प्रवृत्ति मौलाईरहेको छ । यसअघिकै भ्रष्टाचारका अनेक काण्डको ढाकछोप गर्नमा देखिएको सक्रियता र शान्ति सुरक्षा कायम गर्नमा देखिएको असफलताले के स्पष्ट हुन्छ भने वर्तमान प्रधानमन्त्री ओलीले राज्य र त्यसको सेवा प्रवाहलाई ठट्टाको विषय बनाएका छन् ।