+
Search

ताजा अपडेट +

पपुलर +

ज्योतिषशास्त्रीय दृष्टिमा यो वर्ष नेपालका लागि शुभ

ज्योतिषशास्त्रीय दृष्टिमा यो वर्ष नेपालका लागि शुभ
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

काठमाडौँ । ज्योतिषशास्त्रीय दृष्टिमा नववर्ष २०८३ राम्रो एवम् शुभफल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा वास्तु तथा ज्योतिषविद्ले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?’ विषयक ज्योतिविद्सँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले विसं २०८३ मा आठ शुभ ग्रह परेको र सूर्य एवम् मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिनुभयो । लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उहाँले बताउनुभयो । त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोह-अवरोह आउने ग्रहयोग छ । गौतमले भन्नुभयो, ‘युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ ।’ शक्तिराष्ट्रबिचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उहाँले बताउनुभयो । महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग यो वर्ष रहेको छ । नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।’ विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उहाँले गर्नुभयो । यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्यवृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत गर्नुभएको छ । ‘बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ,’ उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा केन्द्रित रहेर भन्नुपर्दा आगामी मङ्सिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भए पनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको छ ।’

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले विसं २०८३ मा पनि दारुणकाल नै चलिरहने भएकाले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष दुई-दुईवटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन । विश्वमा युद्धका सम्भावना पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।’ उहाँले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहले सङ्केत गरेको बताउनुभयो । नववर्ष २०८३ मा धार्मिक भावना झनै ह्रास हुने टिप्पणी उहाँले गर्नुभएको छ । राष्ट्रिय महिला ज्योतिष सङ्घका सचिव सुधा भट्टराईले मङ्गल सेनापति भएकाले अशान्ति, झगडा, विवादको सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । सँगै यसले परिवर्तनको सङ्केत पनि गरेको उहाँको भनाइ छ । मेसिनरी क्षेत्र मङ्गलले ह्यान्डल गर्ने भएकाले औद्योगिक क्षेत्रमा केही विकास हुन सक्छ । मङ्गलकै कारण आगामी वर्ष भौतिक उन्नति सँगसँगै उद्योगधन्दाको विकास हुन्छ भने शनि मीन राशिमा भएकाले राम्रा चिजमा देशले कोल्टो फेर्ने बताउनुभयो । ‘असारपछि वृहस्पति उच्च स्थानमा जाने भएकाले त्यसपछि मात्रै सुधार हुन्छ,’ भट्टराईले भन्नुभयो ।

ज्योतिषविद् एवम् वास्तुशास्त्री शिवप्रसाद पोखरेलले विश्व परिवेशलाई नियाल्दा आगामी वर्ष विशेष सतर्कता अपनाउनुपर्ने समय भएको भविष्यवाणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संवत्सर पनि अन्तिम तिरको परेकाले अधम फलदायकको अवस्थामा हामी छौँ । राजनीतिक दृष्टिले पनि विश्वका कतिपय मुलुकमा शासन परिवर्तन र शासकबिच मनमुटाव आउन सक्छ । यसले नागरिकबिच असन्तुष्टि पैदा गर्न सक्छ ।’ कृषि उत्पादनमा आर्थिक भार उत्पन्न हुने सम्भावना रहेको भन्दै उहाँले नेपालको सन्दर्भमा पनि प्राकृतिक र मानवसिर्जित विपत्ति आउनेतर्फ सचेत गराउनुभयो । ग्रहको उदय र अस्तले पनि ठुलो प्रभाव पार्ने भन्दै पोखरेलले विसं २०८२ वैशाखदेखि आगामी जेठ १८ गतेसम्म वृहस्पति र शनि, मिथुन र मीनमा परस्पर केन्द्रमा रहने र चैत १९ देखि वैशाख २८ गतेसम्म शनि र मंगल एउटै राशि मीनमा भ्रमण गरिरहने हुँदा अनेकन सङ्घर्षका घटना हुनेतर्फ सचेत गराउनुभयो । वास्तुशास्त्रीसमेत रहनुभएका पोखरेलले सिंहदरबार, नारायणहिटी दरबार, दशरथ रंगशालालगायत स्थलका संरचनाको वास्तु नमिलेकाले विगतदेखि नै पटक-पटक देशमा समस्या आउने गरेको दाबी गर्नुभयो । पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले धार्मिक तथा सांस्कृतिक पत्रकारको छाता सङ्गठनका रूपमा रहेको संस्थाले आगामी वर्षमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमका साथै क्षमता विकासका अन्य क्रियाकलापलाई समेत अघि बढाउँदै लैजाने जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह