नेपालको इतिहास पल्टाएर हेर्ने हो भने नुवाकोटको नाम अग्रपङ्क्तिमा आउँछ । काठमाडौँ उपत्यकाको उत्तर-पश्चिममा अवस्थित यो जिल्ला केवल भौगोलिक एकाइ मात्र होइन, बरु यो नेपाल एकीकरणको प्रस्थानविन्दु र नेपाली वीरताको साक्षी पनि हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको नुवाकोट प्राकृतिक स्रोत, सांस्कृतिक विरासत र रणनीतिक व्यापारिक मार्गको संगमस्थल हो । तर, आधुनिक नेपालको विकास दौडमा नुवाकोट जति अगाडि हुनुपर्ने थियो, त्यति हुन सकेन । यहाँका डाँडाकाँडा, ठुल्ठुला टार, बेँसी, नदीनाला र ऐतिहासिक धरोहरमा प्रचुर सम्भावना लुकेको भए पनि सही ढङ्गले उजागर गर्ने हो भने यो जिल्ला मुलुककै आर्थिक इन्जिन बन्न सक्छ ।
राजधानी काठमाडौँबाट नजिकै रहेको यो जिल्ला केवल इतिहासको गौरव बोकेको मात्र होइन, भविष्यको विकासको केन्द्र बन्न सक्ने असिम सम्भावना बोकेको भूमि पनि हो । पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यो स्थान केवल इतिहासको साक्षी मात्र होइन, पर्यटनको दृष्टिले पनि एक ठुलो अवसर हो । यदि यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरियो भने यो अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । तर, नुवाकोटको सम्भावना केवल इतिहास र पर्यटनमा मात्र सीमित छैन । कृषि क्षेत्रमा पनि जिल्लाले निकै ठुलो सम्भावना बोकेको छ । उर्वर जमिन, पर्याप्त पानीको स्रोत र मिहिनेती किसानका कारण यहाँ अर्गानिक खेतीको राम्रो सम्भावना छ । अहिले विश्वभर स्वस्थ खानाको माग बढ्दै गएको अवस्थामा नुवाकोटले अर्गानिक उत्पादनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउन सक्छ । यदि आधुनिक प्रविधि र बजार व्यवस्थापनलाई जोड्न सकियो भने किसान आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन् ।
ऐतिहासिक विरासत र पर्यटकीय पुनर्जागरणको सम्भावना
नुवाकोटको पहिचान साततले दरबारसँग जोडिएको छ । १८औँ शताब्दीमा निर्मित यो दरबार वास्तुकलाको अनुपम नमुना हो । गत २०७२ सालको भूकम्पले गर्दा पूर्ण रूपमा क्षति भई हाल पुनर्निर्माणको क्रममा छ । तर, नुवाकोटको पर्यटकीय सम्भावना दरबारमा मात्र सीमित छैन । यहाँका पुराना दरबार क्षेत्र, कोतघर, नवनिर्मित स्वयम्भू महाचैत्य, दुप्चेश्वर मन्दिर, भैरवी मन्दिर, देवीघाट, पञ्चकन्या मन्दिर, चिम्टेश्वर मन्दिर, बेत्रेश्वर मन्दिर, ऐतिहासिक सन्धिस्थल बेत्रावती, सूर्यगढी र विभिन्न गढीलाई एउटा एकीकृत ‘हेरिटेज सर्किट’का रूपमा विकास गर्न सकिन्छ । अहिले अधिकांश मानिस आधुनिक सहरको कङ्क्रिटका महल होइन, मौलिकता र रैथाने खानाको खोजीमा छन् । नुवाकोटको दरबार क्षेत्रमा रहेका पुराना नेवारी शैलीका घरलाई ‘हेरिटेज बुटिक होटेल’ वा परम्परागत होमस्टेमा रूपान्तरण गर्ने हो भने यसले उच्च तहका पर्यटकलाई आकर्षित गर्न सक्छ । पर्यटनको अर्को लुकेको पाटो भनेको धार्मिक पर्यटन हो । दुप्चेश्वर महादेव, जसलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिन्छ, त्यहाँको पूर्वाधार विकास र प्रचार-प्रसार गर्ने हो भने भारत र चीनका तीर्थयात्रीको ओइरो लाग्न सक्छ । त्यसैगरी भैरवी मन्दिर र यहाँ मनाइने सिन्दूरे जात्राको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्न आवश्यक छ । जब हामी इतिहासलाई आधुनिक सेवा र सुविधासँग जोड्छौँ, तब मात्र नुवाकोटको पर्यटनले व्यावसायिक रूप लिन सक्छ ।
कृषिमा आधुनिकता र विशिष्टीकरण
नुवाकोटको माटोमा विविधता छ । बट्टारको समथर टारदेखि ककनीको ठण्डा लेकसम्मको हावापानीले यहाँ बहुआयामिक कृषिको सम्भावना देखाउँछ । नुवाकोटलाई अब निर्वाहमुखी खेतीबाट माथि उठाएर ‘विशिष्टीकृत कृषि हब’ बनाउनुपर्ने वेला आएको छ । ककनी क्षेत्रमा हुने स्ट्रबेरी खेतीलाई अझै वैज्ञानिक बनाउन सकिन्छ । स्ट्रबेरी मात्र होइन, यहाँको मुला र ट्राउट माछाको माग काठमाडौँका पाँचतारे होटेलमा उच्च छ । तर, बिचौलियाको बिगबिगी र भण्डारणको अभावमा किसानले उचित मूल्य पाउन सकेका छैनन् । जसले गर्दा युवा कृषिमा आकर्षित हुन सकेका छैनन् । यसभित्र लुकेको अर्को सम्भावना भनेको ‘एग्रो-टुरिज्म’ हो । सहरका बालबालिकालाई खेतबारीमा कसरी अन्न फल्छ भन्ने देखाउने, आफैँले स्ट्रबेरी टिपेर खान पाउने र फार्म स्टेमा बस्ने व्यवस्था मिलाउन सके नुवाकोटको कृषिले पर्यटनबाट पनि आम्दानी गर्न सक्छ । मध्यपहाडी भेगमा अलैँची र कफी खेतीको पनि उत्तिकै सम्भावना छ । यदि सरकारले यहाँ एउटा ठुलो चिस्यान केन्द्र र प्रशोधन केन्द्र स्थापना गर्ने हो भने नुवाकोटको कृषि उपज मध्यपूर्वी देशसम्म निर्यात हुन सक्छ ।
जलस्रोत र ऊर्जाको मेरुदण्ड
नेपालको जलविद्युत् इतिहासमा नुवाकोटको योगदान अतुलनीय छ । त्रिशूली र तादी नदीले दशकौँदेखि नेपाललाई उज्यालो दिँदै आइरहेका छन् । तर, अबको सम्भावना केवल ठुला जलविद्युत् आयोजनामा मात्र सीमित छैन । ‘क्लिन इनर्जी’को क्षेत्रमा नुवाकोटले देशकै पहिलो ठुलो सौर्य ऊर्जा केन्द्र स्थापना गरेर नयाँ बाटो देखाएको छ । अबका दिनमा सौर्य र जलविद्युत्को मिश्रित प्रणालीलाई विस्तार गरेर नुवाकोटलाई नेपालको ‘इनर्जी क्यापिटल’ बनाउन सकिन्छ । यसका साथै, नदीकिनारका क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरी व्यापारिक खेतीलाई बढावा दिन सकिन्छ । त्रिशूली नदीको बहावलाई सदुपयोग गर्दै साहसिक जलयात्रा (र्याफ्टिङ) लाई व्यावसायिक रूपमा अझै व्यवस्थित बनाउनुपर्छ । र्याफ्टिङ गर्नेका लागि नदीकिनारमा ‘इको-रिसोर्ट’ सञ्चालन गर्न सके यसले स्थानीयस्तरमा रोजगारीको ठुलो अवसर सिर्जना गर्दछ ।
रणनीतिक व्यापारिक नाका र आर्थिक करिडोर
नुवाकोटको भूगोलले यसलाई एउटा महत्त्वपूर्ण व्यापारिक ट्रान्जिट प्वाइन्ट बनाएको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डले नुवाकोटलाई चीनसँगको व्यापारको मुख्य ढोका बनाएको छ । यो सडक केवल यातायातका लागि मात्र होइन, यसले नुवाकोटको आर्थिक अनुहार नै बदल्न सक्छ । यस सडक करिडोरको आसपासमा साना तथा मझौला उद्योग स्थापना गर्ने प्रचुर सम्भावना छ । चीनबाट आयात हुने सामानको भण्डारणका लागि ठुला गोदाम, लजिस्टिक पार्क र सवारी मर्मत केन्द्र यहाँ सञ्चालन गर्न सकिन्छ । भविष्यमा काठमाडौँ-केरुङ रेलमार्ग पनि यही क्षेत्र भएर जाने हुनाले नुवाकोट एउटा ठुलो व्यापारिक हब बन्ने निश्चित छ । त्यसैगरी टोखा-छहरे सुरुङमार्गले पनि अर्काे नयाँ व्यापारिक सम्भावना र आशा कोर्न सक्ने लक्ष्य राखिएको छ । यो सम्भावनालाई मध्यनजर गर्दै अहिलेदेखि नै व्यवस्थित सहरीकरण र औद्योगिक क्षेत्रको रेखाङ्कन गर्न आवश्यक छ ।
साहसिक खेल र मनोरञ्जनको केन्द्र
काठमाडौँको नजिकै भएकाले नुवाकोटलाई ‘विकेन्ड डेस्टिनेसन’का रूपमा विकास गर्न सकिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । ककनी, सूर्यचौर र चिम्टेश्वरजस्ता ठाउँबाट देखिने सेता हिमाल र सूर्योदयको दृश्य लोभलाग्दो छ । यी क्षेत्रमा जिपलाइन, बन्जी जम्पिङ र साइक्लिङ ट्रेल निर्माण गर्ने हो भने जेन–जी र युवा पुस्ताका लागि नुवाकोट पहिलो रोजाइ बन्न सक्छ । यसका लागि एउटा ठोस र बृहत्तर गुरुयोजना आवश्यक पर्छ । विशेषगरी सूर्यचौर क्षेत्र अहिले नै आन्तरिक पर्यटकको रोजाइमा परिसकेको छ । यसलाई थप पूर्वाधारयुक्त बनाउने र गुणस्तरीय रिसोर्ट खोल्ने हो भने यसले पोखराको प्याराग्लाइडिङको विकल्प दिन सक्छ । नुवाकोटको पहाडी भूभाग हाइकिङका लागि पनि अत्यन्तै उपयुक्त छ । सुन्दरीजलबाट नुवाकोट दरबारसम्मको ऐतिहासिक पदमार्गलाई फेरि जीवित बनाउन सके यसले ‘इको–टुरिज्म’मा नयाँ आयाम थप्नेछ ।
मानव संसाधन र युवा उद्यमशीलता
नुवाकोटको सबैभन्दा ठुलो तर ओझेलमा परेको सम्भावना यहाँका युवा हुन् । यहाँका धेरै युवा वैदेशिक रोजगारीमा छन् । तर, पछिल्लो समय विदेशबाट फर्केका युवाले आधुनिक पशुपालन र कृषिमा लगानी गर्न थालेका छन् । यो एउटा सकारात्मक सङ्केत हो । नुवाकोटमा प्राविधिक शिक्षालयको विस्तार गरी दक्ष जनशक्ति उत्पादन गर्न सके यहाँका उद्योग र आयोजनामा बाहिरबाट मान्छे ल्याउनुपर्ने अवस्था अन्त्य हुनेछ । स्थानीय सरकारले ‘युवा उद्यमी कोष’ स्थापना गरी नवप्रवर्तनमा लाग्ने युवालाई प्रोत्साहन गर्नुपर्छ । जब स्थानीय युवाले आफ्नै ठाउँमा सम्भावना देख्न थाल्छन्, तब मात्र जिल्लाको वास्तविक विकास सुरु हुन्छ । डिजिटल नोम्याड्सका लागि पनि नुवाकोटको शान्त वातावरण र काठमाडौँसँगको सामीप्यता वरदान साबित हुन सक्छ, यदि उच्च गतिको इन्टरनेट र बस्ने सुविधा मिलाउन सकियो भने ।
चुनौती र अगाडिको बाटो
यी तमाम सम्भावनाका बिच केही गम्भीर चुनौती पनि छन् । विसं २०७२ को महाभूकम्पले नुवाकोटका ऐतिहासिक संरचना र ग्रामीण बस्तीमा ठुलो क्षति पु¥याएको थियो । पुनर्निर्माणको काम भए पनि मौलिकता जोगाउने चुनौती अझै छ । सडक पूर्वाधार अझै पनि भरपर्दो छैन, वर्षायाममा धेरैजसो ग्रामीण सडक अवरुद्ध हुन्छन् । नुवाकोटको विकासका लागि अब ‘इन्टरग्रेटेड डेभलपमेन्ट प्लान’ (एकीकृत विकास योजना)को खाँचो छ । केवल भवन र सडक बनाउनु मात्र विकास होइन, बरु यहाँको मौलिक संस्कृति, वातावरण र प्रविधिलाई सँगसँगै लैजानु वास्तविक विकास हो ।
अन्ततः नुवाकोट सम्भावना नै सम्भावनाको एउटा सन्दुक हो, जुन अझै पूर्ण रूपमा खुल्न बाँकी छ । यहाँको इतिहासले गौरव प्रदान गर्छ, यहाँको भूगोलले अवसर दिन्छ र यहाँका मानिसले भविष्य निर्माणको भरोसा दिन्छन् । काठमाडौँको छायामा परेको यो जिल्ला अब आफ्नै खुट्टामा उभिन तयार हुनुपर्छ । कृषि, पर्यटन, ऊर्जा र व्यापारलाई चतुर्भुजका रूपमा विकास गर्ने हो भने नुवाकोटले समृद्धिको नयाँ उचाइ चुम्ने निश्चित छ । हामीले केवल नुवाकोटलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । यो केवल काठमाडौँ जाने बाटो मात्र होइन, यो आफैँमा एउटा गन्तव्य हो । जब हामी नुवाकोटभित्रका यी लुकेका सम्भावनालाई माया र मिहिनेतका साथ गोडमेल गर्छौँ, तब यो जिल्ला नेपालकै सुन्दर र समृद्ध भू-भागका रूपमा विश्व-मानचित्रमा चम्किनेछ । नुवाकोटको माटोले पुकार्दै छ, अब पालो यहाँको विकास र समृद्धिको हो । के हामी यो यात्रामा सहभागी हुन तयार छौँ ? (लेखक विदुर– २ नुवाकोटका स्थायीवासी एवम् नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)






प्रतिक्रिया