कोरोना संक्रमणको कारण धरायसी हुँदै गएको अर्थतन्त्र उकास्नु अहिलेको मुख्य चुनौती रहेको छ । धरायसी उद्योग ब्यवसायलाई चलायमान बनाउन सरकारले झण्डै ६ महिनाको प्रतिबन्दपछि लामा दूरीका यातायात तथा आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याएको छ । यातायात क्षेत्रसँगै बन्द रहेका होटल तथा रेष्टुरेण्ट खुल्न थालेको छ । काठमाडौंलगायत मुख्य ब्यापारिक केन्द्रसँगको सम्पर्क टुटेपछि यसको असर ब्यापार ब्यवसायको अरू क्षेत्रमा पनि थपिएकोे थियो । कोरोनाको कारणले १०औं लाख श्रमिक बेरोजगार बन्न पुगेका थिए ।
देशको अर्थतन्त्रमा यसको अल्पकालिन र दिर्घकालिन दुवै असर देखिन थालेको छ । छिमेकी देश भारतको अर्थतन्त्रमा आएको गिरावटको प्रभाव पनि नेपालको अर्थतन्त्र पर्ने निश्चित छ । कोरोना संक्रमण, नियन्त्रण र भ्याक्सिन नआएसम्म पर्यटक आउने सम्भावना देखिंदैन । गाउँमा फर्केका युवा अहिले अवसर नभएकोले शहर र विदेशतिर फर्किसकेका छन् । शहरमा बेरोजगार हुनेहरू एकपेट खानको लागि स्वयम्सेवीले बाँड्ने खानामा निर्भर हुन थालेका छन् । त्यसैले रोगबाट समाजलाई जोगाउन पनि जरूरी छ । त्यति नै जरूरी छ भोकबाट जोगाउन । अरू देशले विपत्मा या भोकमरीमा परेका आम सर्वसाधारण जनतालाई भोकै नपरून् भनेर नगद सहयोग बाँडिरहेका छन् । तर नेपालले शुरूमा जे जति बाँड्यो त्यसबाहेक अहिले गर्नसक्ने अवस्थामा छैन ।
असोज १ गतेदेखि काठमाडौंलगायत पोखरा, चितवन जस्ता घना बस्ती भएका क्षेत्र खुलेका छन् । देशभर ब्यवसाय खुलेको छ । आउजाउ भिडभाडले काठमाडौंमा फैलिएको संक्रमण देशमा फैलिंदो अवस्थामा छ । अहिले हामी यस्तो चेपुवामा रहेका छौं, सामना नगरी अघि बढ्न नसक्ने अवस्थामा आईपुगेका छौं । त्यसैले अब ब्यक्ति–ब्यक्ति र परिवार तथा समुदायले यसबाट थपिने जोखिम कम गर्न थप सर्तकता अपनाउनु जरूरी छ । स्वास्थ्य सम्बन्धी मापदण्ड कडाईका साथ पालन गर्ने, अत्यावश्यक अवस्थामा बाहेक आउजाउ नगर्ने र घरबाहिर ननिस्किने उपाय नै रोग फैलन नदिन अपनाइने मुख्य विधी हो । नेपालमा राजमार्ग क्षेत्रमा खाना तथा खाजाका पसल र शौचालयको ब्यवस्थाले स्वास्थ्य मापदण्ड पालन गर्न मुश्किल पर्ने देखिन्छ ।
बसपार्कहरू नै पनि संक्रमणको दर बढाउन सहज हुने गरी भद्रगोल भईरहेका छन् । यसतर्फ विशेष ध्यान दिनु जरूरी छ । खाना तथा खाजा पसलले प्याकमा खाना बेच्ने र अलग्गै बसेर खान मिल्ने ब्यवस्था गरेर संक्रमणको जोखिम घटाउन सक्छन् । यी उपाय सरकार र प्रशासनको दबावमा होइन, स्वयम् सचेत भएर मात्र पालन गर्न र सफल बनाउन सकिन्छ । अब स्थानीय सरकार र स्वास्थ्य सम्बन्धी सरोकारवाला निकायले यसतर्फ जनपरिचालनको कार्यक्रम ल्याउन आवश्यक छ । नागरिकको सचेतना नै कोरोना भाईरस (कोभिड–१९)बाट बच्ने प्रभावकारी उपाय हो । आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरी समस्या उत्पन्न हुन सक्नेप्रति सबै सरोकारवालाले बुझ्न जरूरी छ ।