तामाङ भाषामा पाठ्यपुस्तकको डमी तयार

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १३:५५
Logo of trishuli prawaha

विदुर, बागमती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरी बजेट छुट्याएका छन् ।

     कोरोना भाइरसका कारण पठन–पाठन अघि बढ्न नसकेको ती पालिकाले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा पालिकाले बजेटको व्यवस्था गरेका हुन् । घेदुङका महासचिव बाबु घिसिङका अनुसार मातृभाषा पठनपाठनका निम्ति पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तकको डमी तयार रहेको छ । घेदुङले बागमती प्रदेशको १३ वटै जिल्लाका ३२ वटा पालिकासँग तामाङ मातृभाषा पठन–पाठनका निम्ति सम्झौता गरेको छ । कोभिड–१९ गर्दा कार्यक्रम अघि बढ्न ढिलाइ भए पनि पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण टोलीले डमी तयारी गरिसकेको छ ।

     तामाङ भाषाको चारवटा भाषिका अर्थात् क्लस्टर छुट्याएर त्यसैअनुसार पाठ्यपुस्तक निर्माण गरिएको महासचिव घिसिङले बताए । त्रिशूलीपारि रसुवा, नुवाकोट र धादिङ क्लस्टर बनाइएको छ । त्यस्तै, त्रिशूलीवारि नुवाकोट, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक क्लस्टर, काभ्रेको तेलाम तथा ललितपुर, सिन्धुपाल्चोक क्लस्टर र पूर्वी क्लस्टरअन्तर्गत मकवानपुर, दोलखा, रामेछापलगायत जिल्ला रहेका छन् । तामाङ भाषा लेखनमा देवनागरी र तामयिग लिपिमा प्रयोग गरिँदै आएको छ । यसअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ५ सम्म तामाङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक देवनागरी लिपिका माध्यमबाट पठनपाठन गरिँदै आएको थियो । घेदुङले यो पटकबाट तामयिग लिपिको माध्यमबाट पाठ्यपुस्तक निर्माण गरेको छ ।

     बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले निर्माण गरेको ‘शिक्षा नीति, २०७७’ मस्यौदामा ९ दशमलव ५ मा शिक्षण सिकाइमा विद्यार्थीको मातृभाषा तथा लिपिको प्रयोग गर्ने उल्लेख छ । तथ्याङ्कअनुसार देशभरिमा तामाङ जातिको जनसङ्ख्या १५ लाख ४० हजारभन्दा बढी छ । तामाङ जातिको कुल जनसख्याको ७४ दशमलव ८ प्रतिशत बागमती प्रदेशमा बसोवास रहेको छ । यो सङ्ख्या १० लाख १२ हजार नौ सय हो ।