बन्दाबन्दीले त्रिशूली कलेजलाई तलब खुवाउन समस्या

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:३९
Logo of trishuli prawaha

त्रिशूलीबजार, नुवाकोटको विदुर नगरपालिका त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा कार्यरत प्राध्यापक, कर्मचारीले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारणले मासिक तलब पाउन सकेका छैनन् ।

      ०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य सङ्कायको सम्बन्धन प्राप्त गरी हाल स्नातकोत्तर तहसम्म सञ्चालन भइरहेको कलेजले प्राध्यापक र कर्मचारीलाई गत चैतदेखि तलब दिन सकेको छैन । कोरोना महामारी, रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीबाट शुल्क उठ्न नसक्दा कलेजले प्राध्यापक र कर्मचारीलाई तलब दिन नसकेको हो । क्याम्पसप्रमुख सुजित श्रेष्ठले दिएको जानकारीअनुसार पूर्णकालीन प्राध्यापक र तीनजना कर्मचारीको सञ्चयकोष तलब दिन १० लाख रुपैयाँभन्दा बढी आवश्यक पर्छ । नुवाकोट जिल्लाकै नमुना सामुदायिक क्याम्पसको रूपमा रहेको त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा बिबिएस, बिएड, एमबिएसमा तीन सय ५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यार्थीको शुल्कबाहेक अन्य आयस्रोत नभएकाले कलेजलाई बागमती प्रदेश सरकार र विदुर नगरपालिकाले सुविधासम्पन्न कक्षाका लागि भवन निर्माण गर्न गत जेठमा बजेट विनियोजन गरिदिएको थियो । हाल दुईवटा भवन निर्माणाधीन अवस्थामा रहेका छन् । क्याम्पसका लागि कक्षाकोठाको अभाव भइरहेकोमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको विशेष पहलमा बागमती प्रदेशबाट चार कोठा भवनका लागि २५ लाख बजेट प्राप्त भएको कलेजले जानकारी दिएको छ । नगरपालिकाले कलेजको वैकल्पिक आयस्रोतका लागि भनेर चारवटा सटर र चारवटा कक्षाकोठा निर्माण गर्न ४० लाख बजेट विनियोजन भएको थियो ।

     उक्त भवनका लागि टेन्डर भएर हाल निर्माण भइरहेको छ । निर्माण भइरहेको भवनले कक्षाका लागि आवश्यक कोठामा पुग्ने फर्निचर त्रिभुवन विश्वविद्यालयले सहयोग गर्ने आश्वासन पाएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष शुभलाल श्रेष्ठले बताए । त्रिभुवन त्रिशूली माविले कलेज स्थापना गर्न आर्थिक, भौतिक सहयोग गरेको थियो । कलेजमा स्नातकतर्फ शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहमा एमबिबिएसका कक्षा सञ्चालन भइरहेको छ । कलेजलाई कोरोना महामारीले गर्दा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि विदुर नगरपालिकासँग वडा नं.– १ का अध्यक्ष लेनिन रञ्जितमार्फत आर्थिक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए । कलेज सञ्चालक समितिको सदस्यसमेत रहेका वडाध्यक्ष रञ्जितले आर्थिक सहयोगका लागि नगरपालिकामा प्रस्ताव गरेको बताए । कलेजले बन्दाबन्दीको समयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । जुम र क्लाउडबाट विद्यार्थीलाई तह र सङ्कायअनुसारको समूह बनाएर नियमित पठनपाठन अगाडि बढाइरहेको छ । कलेजले शुक्रबार अभिभावक, विद्यार्थी र विद्यार्थी सङ्घ, सङ्गठन र स्ववियु प्रतिनिधिसँग कक्षा सञ्चालन, नियमित परीक्षाबारे र शुल्क उठाउने विषयमा छलफल गरेको छ । विद्यार्थीले शुल्क तिर्न नसक्ने धारणा स्ववियुका प्रतिनिधि पारस अधिकारीले राखेपछि कलेजले आर्थिक स्रोतका लागि स्थानीय निकायलाई आग्रह गरिरहेको छ ।