+
Search

ताजा अपडेट +

पपुलर +

क्वालिटी परीक्षणमा पिसिआर मेसिन

क्वालिटी परीक्षणमा पिसिआर मेसिन
त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, नुवाकोटवासीले कोरोना भाइरसको परीक्षण गर्न अब काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन तथा उपकरण जिल्ला भित्रिएको छ । उक्त मेसिनको मंगलबार त्रिशूली अस्पतालमा सेटिङ गर्ने काम सकेर क्वालिटी परीक्षण बुधबारबाट सुरु भइरहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

      विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिनले जिल्लावासीको कोरोना भाइरसको परीक्षण आइतबारदेखि गर्ने जानकारी त्रिशूली अस्पतालका ल्याब टेक्निसियन नारायण राईले दिए । पिसिआर मेसिन सञ्चालनको लागि मेडिकल माइक्रोबायोलिस्ट ज्ञानेश्वर थारूको नेतृत्वमा नौजना प्राविधिक कर्मचारीले प्रदेश प्रयोगशाला धुलिखेलबाट तालिम लिएर आइसकेका छन् । मेडिकल माइक्रोबायोलिस्ट थारूको नेतृत्वमा पिसिआर मेसिन सञ्चालन गर्न त्रिशूली अस्पतालले आठवटा कोठा तयार गरेको छ ।

     पिसिआर मेसिन खरिदका लागि नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गतको बजेट शोधभर्ना हुने गरी अहिले विदुर नगरपालिकाले कार्यपालिकाको बैठकले बजेट विनियोजन गरेको नगरप्रमुख सञ्जु पण्डितले बताए । नगरपालिकाले पिसिआर मेसिनका लागि स्पेसिफिकेसन र स्ट्यान्डर तोकी गरिएको बोलपत्र आह्वानमा चौथो नम्बरमा रहेको मेनका इन्टरप्राइजेज छनोट भएको थियो । उक्त कम्पनीले सम्झौताअनुसार पिसिआर मेसिन सोमबार जिल्लामा ल्याएर सेटिङ गर्न थालेको थियो । नगरपालिकाले तोकेको स्पेसिफिकेसन, स्ट्यान्डरअनुसार पिसिआर मेसिन आएको नगरप्रमुख पण्डितले बताए ।

     मेनका इन्टरप्राइजेजले अमेरिकन कम्पनीको पिसिआर मेसिन भ्याटसहित ८५ लाख ९१ हजार ३ सय ९० रुपैयाँमा उपलब्ध गराउने गरी टेन्डर पारेको छ । उक्त मेसिन ल्याउन पहिलो नम्बरमा परेको कि. कन्सेप्ट नेपाल प्रालिले भ्याटसहित ६१ लाख ७७ हजार सात सय १० मा चाइनिज मेसिन, दोस्रो नम्बरमा परेको हेलिक्स इन्टरप्राइजेजले ७७ लाख २२ हजार तीन सय आठ रुपैयाँमा सिङ्गापुरमा बनेको पिसिआर मेसिन, तेस्रो नम्बरमा परेको सुदीप इन्टरप्राइजेजले जर्मनीमा बनेको पिसिआर मेसिन ७७ लाख ५१ हजार दुई सय ३५ रुपैयाँमा र पाँचौँ नम्बरमा परेको मेडी सोलुसन प्रालिले चाइनामा बनेको पिसिआर मेसिन भ्याटसहित ८८ लाख १२ हजार चार सय १८ रुपैयाँमा उपलब्ध गराउने टेन्डर भरेको जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह