बजार अनुगमन

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:४६
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको प्रमुख बजार क्षेत्रका पसलमा गुणस्तरहीन र म्याद नाघेका वस्तुको खुलेआम बिक्री-वितरण भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटले अनुगमन सुरु गरेको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएसँगै बजारमा अखाद्य वस्तु र म्याद सकिएका सामग्री फेला परेको छ । अनुगमन टोलीले बजारमा म्याद गुज्रिएको पेयपदार्थ, खाद्यान्न फेला पारेपछि व्यवसायीलाई सम्झाई–बुझाई अबका दिनमा यस्तो नगर्न प्रतिबद्ध गराइएको डिभिजन कार्यालयका प्रमुख नमराज श्रेष्ठले बताए ।

अनुगमनको क्रममा व्यवसायीले दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, भेटेरेनरीमा विषादी र पशुचौपायाका लागि औषधि एकैठाउँमा राखेर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका शाखा अधिकृत दयाराम पौड्यालले जानकारी दिए । शाखा अधिकृत पौड्यालले यो पहिलो चरणको अनुगमन भएकाले सम्झाई–बुझाई गरी १५ दिनभित्र कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्न सचेत गराइएको बताए ।