पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय बान्द्रेमा सञ्चालन

  • त्रिशूली प्रवाह
  • १९ आश्विन २०७७, सोमबार १६:३७
Logo of trishuli prawaha

विदुर, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट पठन–पाठन सुरु गर्ने तयारीमा लागेको छ । शिक्षालयमा शुक्रबार पत्रकार सम्मेलन गरेर तीनवटा विषयमा तीनवर्षे डिप्लोमा कक्षा सञ्चालन हुने जानकारी दिइएको छ ।

     डिप्लोमा इन प्लान्ट साइन्स, डिप्लोमा इन एनिमल साइन्स र होटेल म्यानेजमेन्ट विषयको पठनपाठन हुने जानकारी शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले दिए । उनले असोज १५ गतेभित्र फारम भर्न विद्यार्थीलाई सूचना गरेका छन् । तीन विषयमा ४०–४० जनाको दरले एक सय २० जनालाई भर्ना लिइने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको लागि विदुर नगरपालिका वडा नं.– १ बान्द्रेमा रहेको सहिद प्रतिष्ठान नेपालले निःशुल्क भवन उपलब्ध गराएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको पहलमा नगरपालिकाभित्रै स्थापना भएको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले नुवाकोट, रसुवा र धादिङका विद्यार्थीलाई प्राविधिक विषय पढ्ने अवसर प्राप्त भएको छ ।

     जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले कृषि, भेटेरेनरीको साथमा पर्यटन र होटेल व्यवस्थापनले नुवाकोट र नेपालको आर्थिक विकासमा तत्काल नै परिवर्तन गर्ने बताए । चारजनालाई बहुप्राविधिक शिक्षालयमा सिटिइभिटीले छात्रवृत्ति दिएको छ । विदुर नगरपालिकाले पनि एउटा विषयमा कम्तीमा एकजनालाई निःशुल्क पढाउनेबारे छलफल भइरहेको विदुर नगरप्रमुख पण्डितले बताए । एक विषयमा तीनवर्षे डिप्लोमा गर्दा ९० हजार खर्च हुनेछ ।