नेपालको सिमानासम्म रेलमार्गको अध्ययन

  • त्रिशूली प्रवाह
  • १९ आश्विन २०७७, सोमबार १६:४५
Logo of trishuli prawaha

धुन्चे, चीन सरकारले सिगात्सेबाट नेपालको सीमानजिकैको केरुङसम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ-सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल प्रवेश गर्ने चर्चा चुलिएकोे छ । केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने गरी टीकाटिप्पणी भइरहेको छ

      कोरोना महामारीबीच पनि चिनियाँ प्राविधिक टोलीले केरुङ-काठमाडौं रेलमार्गको बृहत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न नेपाललाई ताकेता गरिरहेको छ । उक्त रेलमार्गको डिपिआर गर्न अनुमति माग गर्दै चिनियाँ पक्षले नेपाललाई पत्राचारसमेत गरिसकेको रेल्बे कम्पनीले जनाएको छ । चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माण गर्न फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार केरुङ-सिगात्से भएर नै नेपालमा चीनबाट रेल आउने हो । यस सन्दर्भमा सिगात्से-केरुङ मार्गको निर्माण अगाडि बढ्नु नेपालका लागि सकारात्मक पक्ष हो । केरुङ–सिगात्सेको दूूरी पाँच सय४० किलोमिटर रहेको छ । प्रस्तावित केरुङ-काठमाडौं रेलमार्गको दूूरी ७२ किलोमिटर छ भने रसुवागढीदेखि केरुङसम्मको दूूरी २५ किलोमिटर रहेको छ ।

     महानिर्देशक मिश्रका अनुसार कोभिड-१९ महामारी नभएको भए अहिलेसम्म केरुङ-काठमाडौंको पनि अध्ययन सुरु भइसकेको हुने थियो । केरुङ-काठमाडौं रेलमार्ग निर्माण अगाडि बढाउन नेपाल र चीनबीच नियमित रूपमा बस्दै आएको बैठक कोभिड-१९ का कारण बस्न नसक्दा अध्ययन अगाडि बढ्न नसकेको उनले स्पष्ट पारेका छन् । केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली नेपाल आउन तयारी अवस्थामा रहे पनि कोभिड-१९ का कारण नेपाल आई अध्ययन अगाडि बढाउन सकेको छैन । उक्त रेलमार्ग निर्माण गर्न तीन चरणमा अध्ययन सम्पन्न गरिनेछ । पहिलो चरणमा हवाई सर्वेक्षण, दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल पङ्कित योजना रहेको छ । तीनै चरणको अध्ययनमा करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यो सबै अध्ययन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा हुनेछ । यसअघि रक्सौल-काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अनुमति माग गर्दै भारतले नेपाललाई पत्राचार गरिसकेको छ । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले प्रस्तावित केरुङ-काठमाडौं रेलमार्गको डिपिआर तयार गर्न चिनियाँ टोली तयार भएर बसेको र प्रस्तावसमेत पठाइसकेको जानकारी दिए । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्ष पहिले नै बुझाएको थियो । गृह मन्त्रालयले डिपिआरका लागि नेपाल आउन चिनियाँ प्राविधिकलाई अनुमति दिइसकेको उनले बताए ।