+
Search

ताजा अपडेट +

पपुलर +

देविघाटमा निर्माणाधीन सोलारलाई स्थानीयको खवरदारी !

देविघाटमा निर्माणाधीन सोलारलाई स्थानीयको खवरदारी !
त्रिशूली प्रवाह
४ साल अगाडी

– प्रमिला सुनार

देविघाट, नुवाकोट जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सोलार आयोजनाबाट प्रभावित भएका विदुर नगरपालिका वडा नं.–१२ का बासिन्दाले खवरदारी गरेका छन् । आयोजनाले सामाजिक उत्तरदायित्व बहन नगरेको स्थानीयसँग सम्झौता गरेअनुसार पूर्वाधार निर्माणलगायतका सहयोगका कार्यक्रम सञ्चालन नगरेको भन्दै जिल्लाको सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

       स्थानीयबासीले निर्माणाधीन आयोजनाको पछिल्लो तीन दिनदेखि काम बन्द गराएपनि मागको सम्बोधन गर्न चासो नदिएको भन्दै ‘सोलार सरोकार समिति’ गठन गरेर नौ बुँदे माग राख्दै आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । समितिका अध्यक्ष नवराज ढुङ्गाना विज्ञानसहितको प्रभावित क्षेत्रका बासिन्दाले वडा नं.६ का नेपाली सेनाको जबरजंग गणको ब्यारेक हँुदै गोरीवेशी-नौबिसेबाट ज्यामिरे मोडसम्मको करीब चार किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने, गौरीवेंशी चोकदेखिको महेन्द्र माविसम्मको करीब एक किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने, आयोजनाको निर्माणमा स्थानीय श्रमिकलाई रोजगारमा प्रथामिकता दिनुपर्ने, सेनाको ब्यारकेदेखि गौरीवेशीसम्मको सडकमा बत्ति जडान गर्नुपर्ने माग उठाएका छन् ।

      स्थानीयले आयोजनासँग दुईवटा मरणपाटीलाई ब्यवस्थित गराउनुपर्ने, प्रभातिव क्षेत्रका बासिन्दाको लागी निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउनुपर्ने, महेन्द्र माविमा स्तरीय खेलमैदान निर्माण गर्नुपर्ने, गौरीवेशी–नौबिसे फाँटको खेतमा सिंचाईको लागि त्रिशूली नदीबाट पानी तान्नको लागि निःशुल्क विद्युत् उपभोग गर्न पाउनुपर्नेलगायतको माग राखेका छन् । समितिका अध्यक्ष विज्ञानले सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाई माग पूरा नभए अहिले काम बन्द गरिएको क्षेत्रमा थप संघर्षका कार्यक्रम चलाउन बाध्य हुने चेतावनी दिनुभएको छ । ‘सोलार सरोकार समिति’ले उठाएको मागअनुसार सम्बोधन गर्न नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले ग्रिड आयोजनाको प्रमुखलाई निर्देशन दिनुभएको छ ।

     नेपालकै सबैभन्दा ठूलो आयोजनाको रुपमा सञ्चालनमा रहेको २५ मेगावाट क्षमताको सोलार आयोजनाबाट अहिले परीक्षणको रुपमा १ दशमलव ५ मेगावाट विद्युत् उत्पादन भईरहेको छ भने आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पटक-पटक म्याद थप गरेर गत बैंशाखमा नै सम्पन्न गर्नुपर्ने आयोजना कोरोना रोगको संक्रमणको कारण निर्माण प्रभावित हुँदा थप ढिलाई हँुदै आएको आयोजना प्रमुख विकास रघुबंशीले जानकारी दिनुभएको छ । उहाँले आयोजना प्रभावितबाट राखेको माग जायज भएपनि क्रमशः सम्बोधन गर्दै लगिने भएकाले काम नै रोकेर अबरोध गर्नु जायज नभएकाले काम गर्ने वातावारण तयार गरिदिन स्थानीयबासी समक्ष आग्रह गरेका छन् । आयोजना प्रमुख रघुबंशीले जनताको मागलाई बेवास्था गर्दै नगरपालिकाका जनप्रतिनिधीको फर्ममा टेण्डर र अन्य काम प्रतिस्पर्धा बिना गराईरहेकोले यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरे आयोजनालाई लखेट्ने समितिका अध्यक्ष विज्ञानले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । आयोजनाले नेविप्राको नुवाकोटको अधिनमा रहेको स्थानीयले उपभोग गरिरहेका सयौं उर्बरभूमी कब्जा गरेर यस क्षेत्रको हजारौं कृषियोग्य उत्पादन हुने भूमीलाई असर पु¥याईरहेको उहाँले आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह