चारवटा पालिकामा राजश्व सुधार योजना निर्माण

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १६:०३
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको चार स्थानीय तहको राजश्व सुधार योजना निर्माण भएको छ । पुर्णिमा कार्यक्रमको सहयोगमा तयार गरिएको योजनामा सशक्तिकरण वातावरण र विकास ब्यवस्थापन केन्द्र (सेमिट) नेपालले प्राविधिक सहयोग गरेको छ । नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष ताराबहादुर कार्की सहभागी भएर जिल्लाको चारवटा पालिकामा गत वर्ष र यस वर्ष चारवटा पालिकामा राजश्व सुधार योजना निर्माण भएको छ ।

      राजश्व सुधार योजना निर्माणमा सेमिटको तर्फबाट पूर्व सचिव गंगादत्त अवस्थी नेतृत्व टोलीले जिल्लाको बेलकोटगढी नगरपालिका, म्यागङ, किस्पाङ र सुर्यगढी गाउँपालिका प्रमुख, उप–प्रमुख र वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुखसँग बृहत छलफल गरेर योजना बनाएको छ । योजना निर्माणले करका प्रचलित दर, दायरा, राजश्व शाखाको क्षमता अभिबृद्धि तथा राजश्व प्रशासन सुधार र तथा करदातासम्म पहुँचमा बृद्धि, करको दायरा बृद्धि, स्थानीय तहमा प्रगतिशिल करका दर लागू गर्नका लागि प्रोत्साहन गर्ने, तथा स्थानीय तहको आगामी ३ वर्षको राजश्व संकलनको प्रक्षेपण गर्न सघाउ पु¥याउने छ । स्थानीय तहको क्षमता विकासको लागि राजश्व सुधार योजना निर्माणमा सहयोग गरेको पुर्णिमा कार्यक्रमका महेश नेपालले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । पूर्णिमाको सहयोगमा गत आ.व.मा जिल्लाको तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकाको राजश्व सुधार योजना निर्माण भएको थियो । योजना निर्माणले काम गर्न सहज भएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष तथा राजश्व सुधार समित संयोजक अञ्जु आचार्यले बताईन् । योजनाले करदाता मैत्री योजना निर्माण भई स्थानीय तहको आन्तरिक आम्दानी बृद्धिमा सहयोग पुगेको तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले बताउनु भयो ।

      राजश्व सुधार योजनाको बारेमा स्थानीय सरोकारवाला निकायसँग छलफल कार्यक्रम नुवाकोट उद्योग वाणिज्य संघ समेतको सहभागितामा सबै स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उप–प्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडासचिव, आर्थिक तथा राजश्व शाखाका कर्मचारी, तथा सरोकारवालाको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम २०७७ असोज १८ गतेबाट २१ गतेसम्म क्रमशः सुर्यगढी, किस्पाङ, म्यागङ तथा बेलकोटगढीमा भएको थियो । योजनाले स्थानीय तहको आर्थिक बृद्धि तथा स्थायित्वको लागि सहयोग पुग्ने किस्पाङ गाउँपालिका अध्यक्ष छत्र लामाले जानकारी गराउनु भयो । स्थानिय तहको प्राथमिकतामा परेर पनि योजनाबद्ध रुपमा अघि बढ्न नसकेको अवस्थामा यो कार्यक्रमले स्थानीय तहलाई सहयोग पुगेको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनु भयो ।