नगरप्रमुख पण्डितद्वारा पिसिआर ल्याबको निरीक्षण

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:१७
Logo of trishuli prawaha

विदुर, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितसहितको टोलीले त्रिशूली अस्पतालको कोभिड ल्याबको सोमबार निरीक्षण गर्नुभएको छ ।

     जिल्लामा कोरोना संक्रमितको पिसिआर परिक्षणको लागि नगरपालिकाले ८६ लाख रुपैयाँ खर्चेर खरिद गरेको पिसिआर मेसिन त्रिशूली अस्पतालमा जडान गरिएको छ । उक्त मेसिन सञ्चालनको लागि आवश्यक प्राविधिक कर्मचारीको ब्यवस्था गरी सञ्चालनको तयारीमा रहेको छ । प्रतिनिधीसभा सदस्य नारायण खतिवडाले स्थानीय पुर्वाधार साँझेदारी कार्यक्रम अन्तर्गत शोधभर्ना हुने गरी विदुर नगरपालिकाले पिसिआर मेसिन खरिद गर्नको लागि बजेट विनियोजन गरेको छ । त्रिशूली अस्पतालमा निर्माण भएको ल्याबको निरीक्षण गर्दै विदुर नगरपालिकाका प्रमुख पण्डितले आवश्यक सामाग्रीको तत्कालै खरिद गरी स्वाब परिक्षण कार्यलाई तिव्रता दिन आग्रह गर्नुभयो ।

     नुवाकोटमा कोरोना भाईरसको संक्रमणको अवस्था भयाबह भएको भन्दै उहाँले कोरोना भाईरस संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि पिसिआर ल्याब तत्कालै सञ्चालन गर्नको लागि आग्रह गर्नुभयो । स्वाब परिक्षणको लागि आवश्यक पर्ने केमिकल र केही उपकरण नआईपुग्दा ल्याब तयारी अवस्थामा रहेपनि सञ्चालन हुन सकेको छैन । ल्याब सञ्चालनको लागी आवश्यक खर्च वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने आश्वासन अस्पताल विकास सिमितिले पाएको छ । अस्पतालमा जडान गरिएको पिसिआर मेसिनले दैनिक ३ सयको हाराहारीमा स्वाब परिक्षण गर्न सक्छ ।