बेत्रावती-मैलुङ-स्याफ्रुवेंशी सडक सुचारू

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:२७
Logo of trishuli prawaha

विदुर, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक योजना अन्र्तगत निर्माणाधीन बेत्रावती-मैलुङ-स्याफ्रुवेंशी सडक गत असारदेखि बन्द रहेको थियो । उक्त सडकखण्डको पहिरो पन्छाउने र सडक सफा गर्ने काम सम्पन्न भएपछि असोज २१ गतेदेखि सुचारू भएको छ ।

       गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक योजना कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण मैलुङदेखि स्याफ्रुवेंशीसम्मको विभिन्न स्थानमा गएको पहिरोले अवरूद्ध सडक गत बुधबारबाट सञ्चालनमा आएको छ । विगतमा नेपाली सेनाले ट्रयाक खोलेर नेपाल सरकारलाई हस्तान्तरण गरेको सडक ठेकेदारमार्फत स्तरोन्नतीको काम अगाडी बढिरहेको छ । उक्त सडक वर्षाको कारण धेरै ठाउँमा पहिरो गएपछि असारदेखि नै बन्द रहेको थियो । उक्त १९ किलोमिटरको सडकको निर्माणको जिम्मा लिएको ठेकेदार भारत कन्ट्रक्सन/सिद्धिशाही जेभिले पहिरो पन्छाउन तिन वटा स्काभेटर र एउटा ट्रिपर प्रयोग गरेर सडक सुचारू गराएको हो । अहिले उक्त खण्डमा सबै प्रकारका सवारी साधन सहजरूपमा गड्न सक्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । सडक अवरूद्ध भए तुरून्त खुलाउनको लागि तीन वटा हेबी इक्युपमेन्ट उक्त क्षेत्रमा राखिएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुवेंशी सडकखण्ड तीन वर्ष अगाडी नेपाली सेनाले ट्रयाक खोलेको थियो । डबल लेनको निर्माण हुने यो सडक साबिकको बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती-मैलुङ-स्याफ्रुवेंशीको दूरी २९ किलोमिटर मात्रै छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुवेंशी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन । यस्तै, स्याफ्रुबाट धुन्चे–कालिकास्थान हँुदै बेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हँुदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुदाँ कन्टेनर चालक र अन्य निजी सवारी चालकले यो सडक प्रयोग गर्ने गरेका छन् ।

      राष्ट्रिय प्राथमिकतामा परेको चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका जोड्ने छोटो दूरीको यो सडकको अनुगमन गत हप्ता पराराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले गर्नुभएको थियो । मन्त्री ज्ञवाली बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुवेंशी सडकमार्गको स्थलगत अनुगमन गर्दै रसुवागढी पुग्नुभएको थियो ।