किस्पाङ गाउँपालिका अनिश्चितकाल बन्द

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३६
Logo of trishuli prawaha

किस्पाङ, नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा कार्यरत ४ कर्मचारीलाई कोरोना सकं्रमण पुष्टि भएपछि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

      राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कर्मचारी र स्थानियबासीको पिसिआर परीक्षण गर्दा शनिबार गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अर्को सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । कर्मचारीलाई नै कोरोना देखिएकाले उहाँहरुको सम्पर्कमा आएका अन्य कर्मचारी तथा सेवाग्राहीको पहिचान गरी पिसिआर परीक्षण र संम्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न कार्यालय बन्द गर्ने निर्णय गरेको अध्यक्ष लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । अर्को सूचना नआएसम्म गाउँपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आईतबारदेखि बन्द छ ।
अध्यक्ष लामाले आईतबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, कोभिड-१९ सँग मिल्दो-जुल्दो लक्षण देखिएमा नजिकको स्वास्थ्यचौकी, वडा कार्यालय र गाउँपालिकामा सम्पर्क गर्न सबैमा अनुरोध गर्नुभएको छ । कोभिड रोकथामाका लागि वडास्तरमा रहेका रोकथाम तथा नियन्त्रण समुह (सिपिजी)ले आफ्नो वडाभित्र प्रवेश गर्ने सवारी साधन तथा सवार ब्यक्तिको आवश्यक सुरक्षा मापदण्डअनुसार भए नभएको अनुगमन र निरिक्षण गरी तथ्याङ्क राख्नका लागि विज्ञप्तीमार्फत उहाँले अनुरोध गर्नुभएको छ ।