परराष्ट्रमन्त्री ज्ञवालीबाट रसुवागढी नाका अवलोकन

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३७

टिमुरे, नेपालको चीनसँगको सञ्चालनमा रहेको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढीको गत बिहीबार असोज २२ गते परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अवलोकन गर्नुभएको छ । मन्त्री ज्ञवालीले नाकामा बनिरहेको पूर्वाधारको अवलोकन समेत गर्नुभएको थियो । उहाँले अन्तराष्ट्रिय सडक तथा नाका ब्यवस्थित गर्ने कार्यमा सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

      अवलोकन पश्चात् मन्त्री ज्ञवालीले रसुवागढी नाकालाई सामान्य ब्यापारिक नाकाको रूपमा मात्र नलिएको बताएका छन् । उहाँले बताएअनुसार केरूङ–काठमाडौं रेलमार्ग, अन्तरदेशिय प्रसारण लाइन निर्माण, उत्तर–दक्षिण आर्थिक करिडोर निर्माण, क्रस–बोर्डर इकोनोमिक जोन निर्माणलगायतका विषय सरकारको प्राथमिकतामा परेको छ । रसुवागढी-काठमाडौं सडक मार्गलाई बाह्रै महिना सञ्चालन हुने बनाउनका लागि काम भईरहेको छ भने स्याफ्रु–बेत्रावती सुरूङमार्गको अध्ययन कार्य अघि बढाईएको जानकारी उहाँले दिनुभयो । कोभिड-१९ का कारण चीनबाट स्थलमार्ग हुँदै हुने आयातमा केही समस्या रहेको र त्यसको समाधानका लागि चीन सरकारसँग निरन्तर वार्ता भईरहेको उनले बताए । ‘हामीले दुई देशबीचको ब्यापारका लागि उच्चस्तरमा वार्ता गरिरहेका छौं,’ उनले भने, बिस्तारै समस्याको समाधान हुँदै जानेछ । जिल्लामा नै पिसिआर जाँच गर्नका लागि प्रक्रिया अघि बढिसकेकाले पिसिआरका कारण नाकामा आयात बन्द हुने अवस्था नआउने जानकारी उहाँले दिनुभयो ।

     सडकको अवस्था र सामाग्री लोडअनलोडमा लाग्ने समयअनुसार सामाग्री आयात बढाउनका लागि स्थानीय रूपमा छलफल गर्न उनले आग्रह गरे । यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना, जिल्लामा नै आरडिटी÷पिसिआर गराउने र तीन सिफ्ट बनाएर सामाग्री आयातको ब्यवस्था मिलाउन सकिने छ । यी कारणले नै सामाग्री आयात रोक्नुपर्ने अवस्था आउन नदिन उनले आग्रह गरे । चीनसँगको सिमाको हालको अवस्था र रसुवा जिल्लाको सुरक्षा अवस्थाको जानकारी प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले र भन्सारको गतिविधीको जानकारी रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले मन्त्री ज्ञवालीलाई गराउनुभएको थियो । मन्त्री ज्ञवालीले रसुवागढीमा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माणको समेत अवलोकन गर्नुभएको थियो । धादिङको गल्छीबाट नुवाकोटको सदरमुकाम विदुर हुँदै रसुवागढी जोड्ने सडकको स्तरोन्नती कामको बारेमा समेत मन्त्रीले जानकारी लिएर काम चाडै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उहाँले रसुवा र नुवाकोटका कर्मचारीसँग भेटघाट गरेर जनप्रतिनिधीसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो । उहाँले समन्वय गर्ने भन्दैमा विद्यमान नियम, कानून पालना गर्न, गराउन कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ ।