एकल महिलालाई तीन हजार सहयोग

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार १२:३२
Logo of trishuli prawaha
  • प्रमिला सुनार

चोकदे, सूर्यगढी गाउँपालिकामा सञ्चालनमा रहेको ‘गरिवसँग विश्वेश्वर’ कार्यक्रम अन्तरगत ८४ जना एकल महिलालाई नगद तीन हजार रुपैयाँ प्रदान गरिएको छ ।

      एकल महिलाको जिविकोपार्जनमा सहयोग पु¥याउने कार्यक्रम अन्तरगत स्थानीय जातको कुखुरा खरिद गरेर पालन गर्नको लागि एक जनालाई तीन हजार रुपैयाँको दरले ८४ जनालाई २ लाख ५२ हजार रुपैयाँ गत हप्ता गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले प्रदान गर्नुभएको थियो । साबिक वागेश्वर गाविसको वडा नं.-३ र ४ मा पर्ने गैरीखर्क, चोकदे, ढुङ्गेचउर बस्तीमा रहेका एकल महिलालाई उपलब्ध गराईएको नगद रुपैयाँले अब कुखुरा खरिद गरेर जिविकोपार्जनतर्फ लम्कन अध्यक्ष घलेले आग्रह गर्नुभएको छ ।

      कार्यक्रममा सुर्यगढी गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी, वडा नं.-३ का वडाध्यक्ष ऋषीबहादुर पौडेल, वडा नं.-४ का वडाध्यक्ष रामकुमार गिरी, ‘गरिवसँग विश्वेश्वर कार्यक्रम’ का जिल्ला संयोजक राजकुमार अर्जेल, सामाजिक परिचालक नवराज भट्टराईलगायतको सहभागिता रहेको थियो । चालु आर्थिक वर्षको लागि तीन लाख रुपैयाँ प्राप्त भएकाले वडा नं.-४ हल्देकालिकामा कार्यक्रम गर्ने लक्ष्य राखिएको छ ।