नुवाकोट र रसुवाका पालिकाले भन्दैछन् जहाँ छौ त्यहीँ दशैं मनाउँ

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:४६

धुन्चे, चाडपर्व नजिकिएसँगै सर्वसाधारणको गाउँघर जाने र किनमेल गर्ने क्रम बढेको छ । वडादशैंका लागि सार्वजनिक सवारी साधनसँगै पसल, बजारलगायतका सार्वजनिक स्थलमा नागरिकको चाप बढेपछि कोरोना भाईरस संक्रमणको जोखिम झन् बढ्ने देखिएको छ । नुवाकोटको १२ वटा पालिका र रसुवाका पाँच पालिकाले बसेकै स्थानमा रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् । साथै, स्थानीय तहले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर आवत–जावत गर्न र दशैंलगायतका चाडपर्व मनाउन सार्वजनिक रूपमा आह्वान गरेका छन् ।

कोरोनाको संक्रमण बढेपछि नुवाकोटको विदुर नगरपालिकाले मानिसको आवतजावतमा कडाई गर्ने भएको छ । नगरपालिकाले जिल्लाका मुख्य बजारमा समेत कोरोना संक्रमण बढ्न थालेपछि आवतजावतमा कडाई गर्ने नीति लिएको छ । नगरपालिकाका मेयर सञ्जु पण्डितले नयाँ मान्छे गाउँटोलमा पसेको देख्ने बित्तिकै वडालाई खवर गर्न आग्रह गरेको छ । नगरपालिकाले वडामा प्रवेश गर्ने बित्तिकै एक हप्ता अनिवार्य होम क्वारेन्टाईनमा बस्नुपर्ने नियमलाई कडाईका साथ पालना गराउन लागेको छ । जिल्ला बाहिर वा जिल्लाभित्रबाटै नगरपालिका क्षेत्रमा पर्व मनाउन आउने ब्यक्ति शंकास्पद देखिए जाँच गराएर क्वारेन्टाईनमा राख्ने तयारी गरिएको मेयर पण्डितले बताउनु भयो । जिल्लाका बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमण बढेमा क्वारेन्टाईनले थेग्न नसंक्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर चाडपर्व मनाउन नगरबासीलाई आग्रह गरेको छ । जिल्लाको १० वटै गाउँपालिकाले विदेशमा वा गाउँघर बाहिर रहेकाबाट कोरोना संक्रमण बढी हुने भन्दै गाउँघरमा चाडपर्व मनाउन निगरानी थालेका छन् । तारकेश्वर, सुर्यगढी, लिखु, ककनी र शिवपुरी गाउँपालिकाले जिल्ला प्रवेश गर्ने सिमा नाकामा निगरानी बढाएका छन् । पालिकाहरूले भिडभाड नगर्न र घरभित्रै चाडपर्व मनाएर गन्तब्यमा फर्कन आग्रह गरेका छन् ।

रसुवाका स्थानीय तहले अहिले जहाँ बसेको हो, त्यहीँ दशैं मनाउन आग्रह गरेका छन् । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालले संघीय सरकारले सवारी खुला गरेकोले रोकेर पनि सम्भव नहुने भएकोले सामाजिक दूरी कायम गरेर भीडभाड नहुने गरी आवतजावत गर्न अनुरोध गर्नुभएको छ । सार्वजनिक सवारी साधन चलेकोले आवतजावत रोक्न नसंक्ने भन्दै नागरिक आफैं सुरक्षित हुनुपर्ने उहाँले बताउनु भयो । नौकुण्ड गाउँपालिकामा दशैंको समयमा जिल्ला बाहिरबाट आउनेलाई रोकेर जहाँ छन्, त्यही रोक्न र त्यही मनाउन अपिल गरेको उपाध्यक्ष सिर्जना लामाले बताउनुभएको छ । जिवजिवे ग्रामिण अस्पतालका अहेव पौडेलले दशैंमा आवतजावत नगर्न र गर्नै परे पिसिआर परीक्षण गरेर मात्र आउने र पोजेटिभ देखिए आईसोलेसनमा राख्ने योजना रहेको बताउनु भयो । कोरोनाका कारण भयावह अवस्था आउनुपूर्व नै सचेतता अपनाउन आग्रह गरिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख देवीलाल सापकोटाले बताउनु भयो । दशैंलगायतका पर्वमा गाउँघरमा आएकाहरूको निगरानी गरिने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।