विदुर । सरकारले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक रू.१५ हजारसम्म आवास तथा आवश्यक खर्च उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्ले चारजनासम्मको परिवारलाई मासिक रू.१५ हजार र चारजनाभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रत्येक सदस्यबापत रू.दुई हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवास खर्च दिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत आइतबार जानकारी दिनुभएको हो । उहाँका अनुसार सरकारले उपलब्ध गराउने आर्थिक सहायता लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत सरकारले अघि सारेको छ । यसका लागि आवश्यक विवरण सङ्कलन गर्न सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको पनि मन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो । बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसके पनि विस्तृत आवश्यकता मूल्याङ्कन कार्य सरकारले जारी राखेको छ । प्राप्त विवरणका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका कामलाई तीव्रता दिइने सरकारको योजना छ ।






प्रतिक्रिया