धुन्चे । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा विध्वंसकारी हिमबाढीमा परेर रसुवा र नुवाकोट क्षेत्रबाट ३४ देशका ६ सय सात विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाईँकुण्ड गएका ६ सय सात विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभयो ।

बेपत्ता भएका विदेशी पर्यटकमध्ये दुई सय ६९ पुरुष, तीन सय २९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी देश भारतका छन् । विभागका अनुसार भारतका एक सय ८९ नागरिक बेपत्ता भएका छन् । त्यसैगरी, हराइरहेका विदेशी नागरिकमा अस्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथिवानियाका एक, मलेसियाका ५५, नेदरल्यान्डका दुईजना रहेका छन् । त्यसैगरी न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रुसका ६, सिंगापुरका नौ, दक्षिण अफ्रिकाका ६, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एकजना रहेका छन् । त्यस्तै, लात्भियाका ३३, स्विट्जरल्यान्डका एक, इटलीका दुई, चीनका ३७, भियतनामका एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराइरहेका छन् । बाढीमा परेर नेपालका एक सय ८८ पर्यटक बेपत्ता भएका हुन् । विभागका अनुसार बेपत्ता हुनेमा एक सय ६१ पुरुष र २७ महिला छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईँकुण्ड घुम्न गएका नेपालीको सङ्ख्या ठुलो रहेको विभागका सूचना अधिकारीले बताउनुभयो । सरकारले विपत्का बिच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म तीन सय १० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये दुई सय ५८ पुरुष र ५२ महिला छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । नुवाकोट र रसुवाका स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिइरहेको छ ।






प्रतिक्रिया