+
Search

ताजा अपडेट +

पपुलर +

आँसु थाम्दै बगरमा खोजतलास

आँसु थाम्दै बगरमा खोजतलास
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको हिमबाढीबाट बगरमा परिणत नुवाकोटका देवीघाट, ढुङ्गे, त्रिशूली, वेत्रावती बजारका बासिन्दा आँसु थाम्दै गेग्य्रानले पुरिएका घरभित्र बचेखुचेका सम्पत्ति खोज्न थालेका छन् । बाढीले ती क्षेत्रका अधिकांश घर बगाएको छ । हिलोले पुरे पनि बग्नबाट बचेका घर सुरक्षाकर्मीको सहयोग लिएर स्थानीयले खोतल्न थालेका हुन् ।

Utsuk Books & Stationery

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय वडाको रोहवरमा घरधनी र सुरक्षाकर्मीले घर खोतल्ने कार्य जारी राखेका जानकारी दिनुभयो । ‘हामीले पहिलो चरणमा उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरेका छौँ । त्यसपछि खानेपानी, बिजुली, टेलिफोन, तुइन र बेलिब्रिज बनाएर ‘रोड कनेक्टिभिटी’ जोड्ने प्रयास गरेका छौँ । उद्धार गरेकालाई ‘होल्डिङ सेन्टर’ मा राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले तीन-चार दिनदेखि वडाको रोहवरमा घरधनी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहायताले घर उत्खनन गरेर बचेखुचेको सम्पत्ति र शव छन् कि भनेर खोजीकार्य जारी राखिएको छ । बाढीले चार तलासम्म घर पुरेको पाइएकाले कति दिनमा कसरी खोजी कार्य सकिन्छ, भन्न सकिने अवस्था छैन ।’ ढुङ्गे बजारका पूर्ण श्रेष्ठले मनमा पीडा र आँखामा आँसु लिएर भए पनि केही बचेको छ कि भनेर खोज्न थालेको बताउनुभयो । ढुङ्गेका अर्का व्यवसायी रामहरि रिजालले दुई तलासम्म पुरिएको घरमा डोजरको सहायताले उत्खनन गर्दै तल्लो तलामा राखिएको चामल, दाल, चिनी सबै बगाएर हिलो भरिएपछि सफाइ गर्न लागेको बताउनुभयो । ढुङ्गे बजारकै खाद्य किराना व्यवसायी राजु गुप्ता पनि आफ्नो तीन तलाको घर बगाएपछि साथीभाइको सहयोग लिएर आफैँ खोतलेर बचेका सामान सफा गर्दै हुनुहुन्थ्यो । ‘सबै सामान बगाएर लगे पनि केही सामान भेटिन्छ कि भनेर खोजिरहेको छु,’ उहाँले बताउनुभयो ।

विदुर-५, देवीघाटका रामशरण वस्तीले चार तलाको घर बाढीले नबगाए पनि बाढी दोस्रो तलासम्म पसेर पूर्ण रूपमा क्षति भएपछि बिमाका कर्मचारी बोलाएर क्षतिको जानकारी गराई घरमा केही सामान सद्धे छ कि भनेर कामदार लगाएर खोज्न थालेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले घर भएको ठाउँ वरपर बगर बनाएको छ, अब अन्त कतै स्थानान्तरण गरे हुन्थ्यो ।’ देवीघाटका अर्का व्यवसायी सीता ढकालले भन्नुभयो, ‘देवीघाट बजारमा रहेको साढे तीन तलाको घरबाट अधिकांश सामान बगाएकाले खोज्नसमेत मन लागेको छैन ।’ बाढीले देवीघाट, ढुङ्गे, त्रिशूली, तुप्चे, सोले, भैँसे र वेत्रावती बजारमा कति घर बगाएर लग्यो, कति घर बचेका छन् भन्नेबारेमा यकिन तथ्याङ्क नआएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । ‘बाढीले कति घर बगायो ? कति घरमा क्षति गर्यो ? कतिको मृत्यु र बेपत्ता भए ? सबै विवरण वडाले लिइरहेको छ । छिट्टै यकिन विवरण प्राप्त हुनेछ,’ उहाँले भन्नुभयो, ‘सबै तथ्याङ्क आएपछि मात्र होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्ने र आफैँ व्यवस्थापन गरेर बस्नेको विवरण दिन सकिन्छ ।’ विध्वंसकारी बाढीबाट क्षति भएको यथार्थ विवरण आएपछि स्थानान्तरण र पुनस्र्थापनाको योजना बनाउन सहज हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह