+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधीन गल्छी-रसुवागढी सडक बाढीले ध्वस्त

निर्माण र सञ्चालन अन्योल

निर्माणाधीन गल्छी-रसुवागढी सडक बाढीले ध्वस्त
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नेपाल–चीन जोड्ने निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीको हिमबाढीले ध्वस्त भएको छ । यो आयोजनाको निर्माण सम्पन्न भएको ५५ किलोमिटर सडक ध्वस्त बनाएपछि थप निर्माण अन्योल भएको छ ।

Utsuk Books & Stationery

विसं २०७२/०७३ मा राष्ट्रिय गौरवको योजनामा समावेश भएर बढो कष्टका साथ निर्माण भइरहेको सडकको गल्छी–वेत्रावती खण्डमा जमेको लेदो पन्छाएर नयाँ ट्र्याक खोल्ने कार्य तीव्र रूपले अगाडि बढिरहेको छ भने देवीघाट–गल्छीखण्डमा जमेको लेदो पन्छाएर सडक सञ्चालन गरिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो । बाढीले नेपाल–चीन जोड्ने छोटो दूरीको पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी सडकको ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सडक विभागका सहायक प्रवक्ता इन्जिनियर शुभाञ्जन दाहालका अनुसार ५५ किलोमिटर सडकमध्ये रसुवा जिल्लामा ४६ किलोमिटर र नौ किलोमिटर नुवाकोट जिल्लामा क्षतिग्रस्त छ । विसं २०७२ मा नेपालले भारत सरकारको इच्छाविपरीत संविधान जारी गरेको झोकमा भारतले नाकाबन्दी गरेको थियो । भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबिच रसुवागढी केरुङबाट हुने आर्थिक गतिविधि तथा व्यापारिक कारोबारलाई छिटो, छरितो र सहज तुल्याउने उद्देश्यले सडक निर्माण सुरु गरिएको थियो । जम्मा कुल ८२ किलोमिटर दूरीको सडक हालसम्म ५० प्रतिशत पनि निर्माण पूरा भएको छैन । पहिलो खण्ड गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर, तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढी १७ किलोमिटर छ । कुल ८२ किलोमिटर सडकमध्ये लगभग ४० किलोमिटर सडक निर्माण भइसकेको थियो । निर्माण सम्पन्न भएको ४० किलोमिटरमध्ये गल्छी–त्रिशूली–मैलुङतर्फ २० किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ भने निर्माणाधीन कच्ची अवस्थाको रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी १६ किलोमिटर, मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर सवारी गुड्न नसक्ने अवस्थामा रहेको सडक विभागका उपमहानिर्देशक शुभराज न्यौपानेले बताउनुभयो । नेपाली सेनाको सहकार्यमा देवीघाटमा गत हप्ता जडान भई सञ्चालन भइसकेको एक्रो ब्रिजका लागि प्राविधिक र सामान ढुवानीमा सहयोग गरेको, स्थानीय निर्माण सामाग्री उपलब्ध गराएको आयोजना प्रमुख ओझाले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

बाढीले गल्छीदेखि रसुवागढीसम्म नयाँ, पुरानो र कल्भर्टसहित २२ वटा पुल क्षति भएको सडक विभागले जनाएको छ । तीनवटा कल्भर्ट पुल, १८ वटा नयाँ–पुराना पुल र एउटा बहुबली झरनासँगै निर्माणाधीन पुल विध्वंसकारी बाढीले बगाएको छ । गल्छी–रसुवागढी सडक योजना तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको थियो । प्रथम खण्ड गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर, दोस्रो खण्डमा मैलुङ–स्याफ्रुबेँसी १९ किलोमिटर र तेस्रो खण्डमा स्याफ्रुबेँसी–रसुवागढीसम्म १७ किलोमिटर छुट्याएर काम भइरहेको थियो । पहिलो खण्ड सिओभिइसी टुन्डी जेभी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर ४६ किलोमिटर लम्बाइमध्ये धेरैजसो कालोपत्रे भइसकेको थियो । सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार गल्छी–रसुवागढीको कुल ३५ किलोमिटर कालोपत्रे भइसकेको थियो । १९ किलोमिटर लम्बाइको दोस्रो खण्डको काम गर्ने जिम्मा भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले पाएको थियो । यो कम्पनीले सो खण्डको काम विसं २०७९ सम्ममा सक्ने गरी विसं २०७७ साउनमा सम्झौता गरेको थियो । रु.एक अर्ब ४५ करोड लागतमा उक्त खण्ड सक्ने गरी सम्झौता भए पनि करिब रु.३५ करोडको बिल भुक्तानी लिएपछि विसं २०७८ फागुनदेखि नै कम्पनी सम्पर्कविहीन भयो । त्यसपछि कार्यालयले प्रक्रिया पूरा गरेर सम्झौता खारेज गरी नयाँ ठेक्का लगाउने प्रक्रिया अगाडि बढाएर बाढी आउने भोलिपल्ट ठेक्काको सूचना प्रकाशित गर्ने तयारीमा रहेको थियो । त्यसैगरी, आयोजनाको तेस्रो स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको खण्ड चीन सरकारको अनुदानमा बन्ने गरी सम्झौता भएको थियो । १७ किलोमिटरको यो खण्ड निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले भूकम्प र कोभिडको कारण देखाउँदै काम सुरु नै गरेन । गत वर्ष मात्रै सो खण्डमा काम गर्ने गरी चिनियाँ कम्पनी कार्यक्षेत्र आएको थियो । ६ महिनादेखि काम सुरु गरेको कम्पनीका कामदार निर्माण सामग्री, उपकरण र साइड अफिस सबै भदौ १० गतेको विनाशकारी हिमबाढीले बगाएको छ । १० वर्षअगाडि सडक निर्माणका लागि जग्गा अधिकरण, मुआब्जाबाहेक रु.नौ अर्ब ५० करोडको अनुमानित कुल लागतमा निर्माण सुरु भएको थियो । आयोजनाले सुरुदेखि नै सहज रूपमा काम गर्न नसक्दा अहिले कुल लागत रु.१५ अर्ब ५० करोड पुगेको छ । भारतले विसं २०७२ मा लगाएको नाकाबन्दीका कारण नेपालमा परेको असरपछि तत्कालीन मन्त्रिपरिषद्ले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी –रसुवागढी सडक स्तरोन्नति गर्ने निर्णय गरेको थियो । यसको उद्देश्य भारतसँगको एकाधिर व्यापार हटाउनु थियो । विसं २०७३ मङ्सिरदेखि काम सुरु गरिएको यो सडकलाई चीन र नेपालबिचको छोटो दूरीको व्यापारिक मार्गका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको थियो । ११ मिटर चौडाइको यो सडकको सीमा दायाँबायाँ ३० मिटर तोकिएको छ । बाढीपछि विदुर नगरपालिकाको गँगटे–ढुङ्गे सडक निर्माण हुने र बाँकी गल्छीदेखि रसुवागढीसम्म नयाँ सर्भे गरी बन्ने जानकारी योजना प्रमुख ओझाले दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह