काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा गत भदौ १० गते भोटेकोशी÷त्रिशूली नदीको हिमबाढीका कारण नुवाकोटको विदुर-९, कोलनीस्थित त्रिशूली अस्पताल प्रभावित भएकाले तत्काल विद्युत् आपूर्ति, डिजेल व्यवस्थापन र त्रिशूली नदीमा बेलिब्रिज निर्माण गर्न प्रतिनिधिसभा सदस्य डा. ओजस्वी शेरचनले सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापतिसमेत रहनुभएकी शेरचनले विदुर-कोलनी जोड्ने पक्की पुल भत्किएपछि विदुर, बेलकोटगढी, लिखु, सूर्यगढी, दुप्चेश्वर, शिवपुरी तथा रसुवाबाट दैनिक बिरामी अस्पताल आउन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले जटिल बिरामी तथा गर्भवती महिलालाई अन्यत्र रिफर गर्न तुइन वा हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था रहेको जानकारी प्रतिनिधिसभालाई दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)का अनुसार शल्यक्रिया भइरहेकै समयमा विद्युत् आउने–जाने समस्या रहेको र ब्याकअप जेनेरेटर सञ्चालनका लागि डिजेलको चरम अभाव रहेको छ । उहाँले यस्तो अवस्था बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषयमा तत्काल सरकारको ध्यान जाओस् भन्नुभयो । उहाँले त्रिशूली अस्पतालमा विद्युत् आपूर्ति सुनिश्चित गरी जेनेरेटर सञ्चालनका लागि तत्काल डिजेल उपलब्ध गराउन तथा विदुर–कोलनी जोड्ने बेलिब्रिज निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गर्नुभयो । आपत्कालीन अवस्थामा अस्पतालको सेवा अवरुद्ध हुनु स्वास्थ्य सेवा मात्र नभई मानवीय जीवन नै जोखिममा पर्नु भएको सांसद शेरचनले बताउनुभयो ।






प्रतिक्रिया