धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएको छ । रसुवा र नुवाकोट जोड्ने वेत्रावतीमा रहेको दुईवटा मोटरेबल पुल बाढीले बगाएपछि आवतजावत तथा सामान ढुवानीमा समस्या भइरहेको छ । समस्या समाधान गर्न नुवाकोट–रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माणसँगै फलाँखु नदीमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी-२, तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड-५, वहाखोलासम्म फलाँखु नदीमा ७५ मिटर लामो बेलिब्रिज निर्माण गर्न लागिएको हो । सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलिब्रिज निर्माणका लागि मन्त्रालयले आवश्यक निर्देशन तथा सहजीकरण गरिरहेको जानकारी दिएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवालाई जोड्ने छोटो वैकल्पिक मार्ग तयार हुने मन्त्रालयले जनाएको छ । उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिने छ । बाढीका कारण रसुवाको सडक सम्पर्क प्रभावित भएका वेला बेलिब्रिज निर्माणले जिल्लामा आवतजावत तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन सहयोग पुग्ने अपेक्षा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गर्नुभएको छ ।






प्रतिक्रिया