भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको अकल्पनीय बाढी सबै दृष्टिकोणले महाप्रलय नै हो । यसभन्दा अगाडि विसं २०१९ मा रसुवा जिल्लाको मनिगाउँमा पहिरो गएर त्रिशूली थुनिएर आएको बाढीलाई प्रलयको रूपमा मानिन्छ र त्यो समयको बाढीले रसुवाको आंशिक भूभाग र नुवाकोट जिल्लामा एक किसिमको प्रलयकारी बाढी आएको थियो । सोही वर्ष आएको बाढीले जङ्गबहादुर राणा घोडासहित हामफालेको त्रिशूली बजारमा रहेको धोबीखोला र त्रिशूली बजार आवतजावत गर्ने झोलुङ्गे पुलको दायाँवायाँ पर्खाल बाँकी राखेर बगाएको थियो ।

सो बाढीले केही झोलुङ्गे पुल बगाउने र केही मानिसको मृत्यु भएको तथा घरजग्गामा क्षति पुगेको थियो । हुन त त्यस वेलामा कुनै पक्की पुल र जलविद्युत् आयोजनाको निर्माण नै भएका थिएनन् । त्यो प्रलयकारी बाढीको समयमा म त्रिशूली हाइस्कुलमा पढ्ने गरेको र बाढीले झोलुङ्गे पुल बगाउँदा स्कुल नै परिवर्तन गरेर अध्ययन चालू राख्नुपरेको थियो । त्यसवेला केही समय तुइनबाट आवत–जावत गरी केही महिनापछि पुरानै झोलुङ्गे पुलको बुर्जामा नै नयाँ झोलुङ्गे पुल निर्माण गरी आवत–जावत नियमित गरिएको थियो । त्यस समयमा पनि थुनिएको पहिरो एकैपटक ठुलो भेल, बाढी भएर तटीय क्षेत्रका घर–बस्ती तथा व्यक्तिका जग्गा–जमिनको विनाश भएको थियो । त्यस समयमा नुवाकोटमा भन्दा धादिङ क्षेत्रमा कम विनाश र मृत्यु सङ्ख्या कम नै रहेको अनुमान गरिएको थियो । तैपनि नदीको तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिले त्यसबाट पाठ नसिकी नदी तट र प्राकृतिक बहाबलाई बेवास्ता गर्दा आजको यो विनाश हुन गएको अनुमान गर्न सकिन्छ ।
विनाश लीला : आजको अकल्पनीय विनाश लीलालाई हेर्दा त्रिशूली नदी करिब तीन सय वर्षअघि जति तटीय भूभाग ओगटेर बग्यो, अहिले त्यही रूपमा विस्तार भएको देखिन्छ । वर्तमान स्थितिमा नदीमा पानीको स्थिति सामान्य भए पनि हरेक स्थानमा एक किलोमिटरको चौडाइ विस्तार गरेर नदीले जग्गाजमिन, घर तथा अन्य भौतिक क्षति गराएको देखिन्छ । नदी दोहन गर्ने र प्रकृतिको विरुद्धमा विनाश गर्नेहरूले यो परिस्थिति निम्त्याएको भन्ने कुरामा शङ्का नरहे पनि हिमताल, पहिरो फुटेर त्यो सँगसँगै आएको लेदोले यो दुर्घटना भएको हो । साँघुरो, गल्छी र गहिरो बनेर बगेको त्रिशूली नदी पूर्वस्थितिमा भन्दा १५ देखि २० मिटर उचाइमा बहकिँदै गरेको देख्न सकिन्छ । वेत्रावतीको सन्धिस्थलको विशाल ढुङ्गा र इन्द्रायणी मन्दिरपारिपट्टिको जोर ढुङ्गा बगाएर वा पुरेर नामोनिसान देखिएको छैन । रसुवागढीदेखि नुवाकोट धादिङका र सहायक नदीका गरी ४० वटाजति पुल बाढीले नामोनिसान नरहने गरी बगाएको छ । अहिले त्रिशूलीपारि र वारि दूरदेशजस्तो बनेको छ र आवत–जावत ठप्प छ । गत वर्ष पनि त्रिशूलीमा विशाल बाढी आएको र नदीको फैलावट धेरै नभएकाले यसपटक पनि त्यस्तै स्थितिको अनुमान गरेर तटीय क्षेत्रका बासिन्दाले अविश्वास गरेको वा अटेर गरेको कारणले यस वर्ष अपूरणीय मानवीय क्षति भएको कुरा विश्वास गर्न सकिन्छ । यसपटकको ठुलो बाढीले पानी कम लेदो र गेग्य्रान बढी बगाएर ल्याएको र पुल, ड्यामजस्ता भागले बाढीको बहाबलाई अवरोध गरेको र जमेको लेदो, पानी संरचना एकैपटक हान्दै आउँदा ठुलो रूप लिएको अनुमान गर्न सकिन्छ ।
क्षतिको आकलन : रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा पाँच हजार ६ सय मिटर उचाइमा रहेको लाङ्टाङ हिमालको उत्तरी मोहोडामा जमेर रहेको हिमपहिरो एक्कासि एकैपटक बग्दा लेदोसहित बगाउँदै आएको भोटेकोशी–त्रिशूली नदीले यो विनाश लीला मच्चाएको अनुसन्धानकर्ताले बताएका छन् । छिमेकी राज्य चिनियाँ भूभागमा पनि यस हिमपहिरोले निकै क्षति पुर्याएको र स्वयम् चीनका राष्ट्रपतिले एक दिन सो क्षेत्रमा बसेर स्थितिको आकलन गरेको भन्ने सुन्नमा आएको छ । यसबाट पनि चीनले निकै सूक्ष्म मूल्याङ्कन गरेकोले संवेदनशील भएर निराकरणका उपाय अपनाउन लागेको बुझिन्छ । नेपालतर्फ विद्युतीय आयोजनाको ६ आवासीय भवन, एक कार्यालय भवन, आयोजनाको हेडवक्र्स, सम्पूर्ण संरचना र पावरहाउस ध्वस्त भएका छन् । रसुवागढी जलविद्युत् आयोजना, लाङ्टाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली ३ ‘बी’, त्रिशूली एवम् देवीघाट जलविद्युत् आयोजना सबै ध्वस्त भएका छन् । दुई सय मेगावाटभन्दा बढी उत्पादित विद्युत् बन्द भएका छन् । सर्सर्ती क्षतिको मूल्याङ्कन गर्दा जलविद्युत्तर्फ ५० अर्ब रुपैयाँ र अन्य भौतिक क्षति ५०औँ अर्ब रुपैयाँभन्दा बढीको आकलन गरिएको छ । मानवीय क्षतिको हकमा शव फेला परेको र हराइराखेका व्यक्तिको सङ्ख्या दसौँ हजारको हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ । तत्काल गर्नुपर्ने प्रकृतिले जति विनाश गरे पनि यो मानव/प्रकृति दुवैबाट सिर्जित समस्या हो र अझ विशेषगरी जलवायु परिवर्तनबाट आक्रान्त समस्या हो, जसबाट सुरक्षित हुन सही समयमा जोखिमको अन्वेषण र अनुसन्धान नहुनुले निम्तिएको हो । जे–जसो भए पनि प्रकृतिको यस्तै विध्वंसात्मक लीला पृथ्वीको सुरुवाती चरणबाट पुनरावृत्ति भई नै रहेको भूगर्भशास्त्री बताउँछन् । मानव सृष्टिदेखि यो निरन्तर चलिरहेको इतिहासले बताउँछ । जे-जसो भए पनि ‘हामी सिद्धिएका छैनौँ, लडेका मात्र हौँ, धुलो टकटक्याएर हामी उठ्नैपर्छ’ यो ध्रुवसत्य छ । आजभन्दा ४० वर्षअघि तस्कर, डकैत र विध्वंस क्षेत्र मानिएको न्युयोर्कको ‘टाइम स्क्वाएर’ अहिले संसारको ध्यान तान्ने विज्ञान र प्रविधिको नमुना क्षेत्र बनेको छ । मानवीय क्षतिको अपूरणीय हुन्छ, भौतिक क्षति नवनिर्माण हुन्छ । अब नदी तटीय विध्वंस क्षेत्रमा पुनर्जीवन स्थापित गर्न यातायात सञ्चालन आवतजावतका लागि झोलुङ्गे पुल तथा बेलिब्रिज, विद्युत्को सहजता, सामान्य जनजीवन पुरानै लयमा फर्काउने व्यवस्था तथा बाढीपीडितको लागि वासस्थानको व्यवस्था तत्काल गरिनुपर्दछ । अहिले बाढीपीडित क्षेत्रमा सक्रियता देखाएका दाताले अति आवश्यकीय वस्तु आपूर्ति गर्न मद्दत गर्नुपर्दछ । इतिहासलाई संरक्षण गरेर वर्तमानमा विकास गर्ने परिपाटी बनाउनु आवश्यक भइसकेको छ र प्रकृतिको संरक्षण र विकास सँगै लैजानुपर्छ भन्ने जागरण जनमानसमा जगाउनुपर्दछ ।
दीर्घकालीन विकास रणनीति : विश्वमा यस्ता महाप्रलय यदाकदा श्रव्य–दृश्य सामग्रीमा देखिन्छ र मन भरङ्ग हुन्छ । यस्तो महाप्रलयको बाढीको दृश्य दुर्भाग्यवश प्रत्यक्ष रूपले आफ्नै आँखाले देख्नुप¥यो, मन र शरीर यति भयग्रस्त भयो कि अहिले सम्झँदा पनि सपनाजस्तो लाग्छ । बाढी आउनुभन्दा आधा घण्टाअघि मेरो घरभन्दा तल मूल सडकमा केरुङ सामान लिन जान प्रतीक्षारत रहेका पचासौँ बन्द डिब्बा गाडी कर्कस ध्वनिसहित हर्न बजाउन थालेकोले केही दुर्घटना हुँदै छ भन्ने अनुमान भयो । एकैछिनमा मेरो घरको सिधा तल रहेको झोलुङ्गे पुलभन्दा पाँच मिटरमाथिबाट त्रिशूली नदी उर्लेर भूकम्प गएभन्दा ठुलो आवाजमा जमिन थर्काउँदै वेगमा बग्न थाल्यो, जब कि झोलुङ्गे पुलको उचाइ नै १५ मिटर थियो । नदीको तटीय क्षेत्रले करिब एक किलोमिटर विस्तार गरेर गडड आवाजसहित विनाश गर्न थाल्यो । वरपर सर्वत्र वातावरणमा चिच्याहट, रुवाइ र रामराम भन्ने आवाज सुनिन थाल्यो । नदीले ढाकेको क्षेत्र कालो मैलो, तुवाँलो र धक्कासहित घर हल्लिन थाल्यो । देख्दा–देख्दै झोलुङ्गे पुल, पक्की पुल र ठुलाठुला ढुङ्गा बगाउँदै गर्दाको दृश्यले मन एकदम विचलित भयो । तत्कालीन समयको दृश्य अवर्णनीय रहेको र सबै व्यक्ति आफ्ना परिवार, आफन्त र बालबच्चाको चिन्ताले रुवावासी गरेको दृश्य अति नै हृदयविदारक थियो । अब यो विध्वंसले सबैतिर विनाश गर्ने भयो भनी सबै चिन्तित देखिन्थे । त्यस दिनको बिहान धेरैजसोको खाना हराम तथा शारीरिक होसहवास नभएको र विचलित दृश्य देखिएको थियो । मानव जीवनमा दुःख छ, दुःखको उपाय पनि छ भने जस्तै अब स्थानीय तथा सङ्घीय सरकार र सबै पक्षले यस घडीमा मानवीय जीवनलाई पुरानै लयमा फर्काई नवनिर्माणको काम गर्नु अति आवश्यक छ । यो अकल्पित दुर्दशाबाट पार लगाउन सबै पक्षले नयाँ रणनीतिसाथ योजनाबद्ध रूपले विकास निर्माणका काम गर्नुपर्दछ । सो कार्य सफल गर्न आवश्कताअनुसार स्वदेशी तथा विदेशी सबै पक्षबाट सहयोग लिई निःस्वार्थ रूपमा अघि नबढेमा देश अन्योलको भुमरीमा फस्न सक्छ । २०औँ वर्षदेखि योजनाबद्ध रूपमा निर्माण गरिएका विद्युत् आयोजना, भौतिक संरचना, यातायात सञ्जाल, व्यक्तिले जीवन कालभरि सङ्घर्ष गरेर स्थापना गरेका संरचनालाई पुरानो रूपमा ल्याई नवनिर्माण गर्न निकै ठुलो मिहिनेत गर्नुपर्दछ । निम्नलिखित पक्षलाई ध्यान दिई दीर्घकालीन रणनीति अपनाउनु आवश्यक देखिन्छ ।
त्रिशूली जलविद्युत् आयोजनाको हेडगेट, अधिकांश नहर भाग र पावरहाउस ध्वस्त भएकोले १ नम्बर पुल र २ नम्बर पानी तार्ने पुलको सट्टा पारि भागबाट टनेलको माध्यमबाट पानी तार्ने, माटो र लेदोले पुरिएको नहर सफा गरी पानी सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यही पानी पुरानै रूपबाट सञ्चालन गरेमा देवीघाट जलविद्युत् आयोजना पनि सञ्चालन हुन जान्छ । अन्य ध्वस्त जलविद्युत् आयोजना पनि नयाँ शिराबाट सञ्चालन गर्नुपर्दछ । करिब ४० किलोमिटर पक्की मोटरबाटो बगाएको हुँदा पुनर्निर्माण र अन्य स्थानमा बाटो निर्माण गर्नुपर्ने हुन्छ । भौतिक पूर्वाधारका साथै सम्पूर्ण विकासको दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रका जोखिमको गहन रूपले अनुसन्धान गरी सोहीअनुसारको रणनीति अपनाउनुपर्छ । सडक र पुल निर्माण गर्दा कम्तीमा पनि एक सय वर्ष बाढी जोखिमबाट सुरक्षित हुने गरी निर्माण गर्नुपर्छ । सुरक्षित एकीकृत बस्ती निर्माण, नदी नियन्त्रण र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ । जलविद्युत् आयोजना निर्माण गर्दा तटीय क्षेत्रभन्दा माथि हिमनदी वा हिम पहिरोमुक्त जोखिम क्षेत्रमा निर्माण गर्नुपर्छ । श्रमिकको सुरक्षा तथा सङ्कटमा सौर्य ऊर्जा प्रविधिको व्यवस्था गर्नुपर्छ । दाताको सहयोग, विदेशी बैंकबाट ऋण र जलवायु कोष स्थापना गर्नुपर्छ । तुरुन्त दाता र लगानी सम्मेलन गर्नुपर्छ । पूर्वसूचना प्रणाली भरपर्दो र बलियो बनाउने, साइरन, सिसिटिभीजस्ता प्रणाली अविलम्व सुरु गर्नुपर्छ । सीमा पार सहकार्य र सहयोग तथा सञ्चार प्रणाली अपनाउनुपर्छ । बाढीपीडितका लागि पुनर्वास योजना, खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता यथाशीघ्र सञ्चालन गर्नुपर्छ । विदेशी राष्ट्रबाट सहयोग, बैंकबाट ऋण तथा प्रविधि आदानप्रदान गर्नुपर्छ । यो बाढीको महाप्रलय एक किसिमको हिमाली सुनामी भएकोले पुनर्निर्माणको मोडेल अनुकरण गर्नु आवश्यक छ । (लेखक पूर्वप्रशासक हुनुहुन्छ, विदुर–१० गेर्खुटार, नुवाकोट २०८३ भदौ ३०)






प्रतिक्रिया