औषधी ब्यवसायी संघ आन्दोलित

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०७७, शनिबार ०७:५५

बट्टार, बिक्री बिल जारी नगरेकै कारण मेडिकल तथा फार्मेसीलाई २ लाख रूपैयाँको जरिवाना तोक्नु ब्यवसायीमाथी ज्यादती भएको ठहर नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा नुवाकोटले गरेको छ ।

गत हप्ता औषधी ब्यवस्था विभाग काठमाडौंले जिल्ला प्रशासन कार्यालय नुवाकोटको सहयोगमा नुवाकोटका औषधी पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले औषधी पसलको अनुगमन गर्ने क्रममा जिल्लाको सापकोटा मेडिकल हल बट्टार, सम्मान मेडिकल हल बट्टार, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल बट्टार, विदुर फार्मेसी बट्टार र समिर फार्मेसी ढुंगेलाई बिक्री बिल बिजक जारी नगरी औषधी बिक्री गरेको आरोपमा दुई लाख रूपैयाँ जरिवाना तोकेको थियो । ब्यवसायीको सामान्य क्रुटिमा पनि प्रशासन कडारूपमा प्रस्तुत भएकोमा नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा नुवाकोटले आपत्ति जनाएको छ । प्रशासनले अनुगमनको बहानामा अबैध धन्दा चलाउने मेडिकल हलको अनुगमन नगरी राज्यको मापदण्ड पालना गरेर ब्यवसाय गरिरहेकालाई आतङ्कित बनाएको ठहर गर्दै प्रशासनको विरूद्ध अदालत जाने तयारी संघले गरिरहेको छ ।

समन्वय, सहकार्य, सह–अस्तित्वको आधारमा विषम परिस्थितीलाई जित्नुपर्ने अवस्थामा निजी स्वास्थ्य सेवामाथी उपभोक्ताले बिल नलिएको विषयमा उपभोक्ता सचेतना जगाउन पर्नेमा उल्टो ब्यवसायीमाथी जरिवाना गरी जुन हर्कत भएको छ आम पेशा ब्यवसायीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको संघका अध्यक्ष टलकमान श्रेष्ठले बताए । ब्यवसाय र सामाजिक सेवा दुई वटा सेन्टिमेन्टमा सञ्चालन हुने औषधी पसलमा दर्ता भई आयकर तिरी कारोबार अनलाईन सिस्टममा गई ब्यवसाय भईरहेको घाम जत्तिको छर्लङ्ग छ । पर्यवेक्षण अनुगमनको न्युनतम मापदण्डको परिपालना नगरी सचेतना र सचेत नगरी अन्यायपूर्ण एकै पटक जरिवाना गर्ने कार्य भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी र फार्मेसी ओदानका ३ वटा खुट्टाहरू हुन् । गुणस्तरीय स्वास्थ्य सेवा दिन कोभिडको यो परिस्थितीमा जोखिम उठाउने र पहल कदमी लिने कार्यलाई प्रोत्साहन गर्नुको बदला निरूत्साहित पारेको संघका महासचिव भिमबहादुर रोक्काले बताउनु भयो । प्रशासनको औषधी पसल अनुगमन गर्नेभन्दा पनि अबैध धन्दा गर्नेहरूलाई प्रोत्साहन गरिरहेकोमा संघले आपत्ति जनाएको छ ।