चिसो बढ्यो, कोरोना बढ्यो

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १३:५०

विदुर, देशभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको दर बढिरहँदा चिसो मौसमसमेत सुरु भएसँगै सङ्क्रमणको दर थप भयावह हुने देखिएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझै बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५-२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर थप बढ्न सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।

     विदेशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि सङ्क्रमित बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिँदै आएका छन् ।