प्रदेशको सहयोगमा उत्तरगयाधाम संरक्षण

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १५:३१
Logo of trishuli prawaha

बेत्रावती, बागमती प्रदेश सरकारको सहयोगमा रसुवा–नुवाकोटको सिमानामा रहेको उत्तरगयाधामको संरक्षणका लागि नदी नियन्त्रणको काम सम्पन्न भएको छ ।

      त्रिशूली र फलाखु खोलाको संगमस्थल बेत्रावतीको उत्तरगयाधामको संरक्षण गर्न गत आर्थिक वर्ष बागमती प्रदेश सरकारको ६ करोड रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त बजेटले उत्तरगयाधाममा तटबन्ध तथा अन्य पूूर्वाधारका काम अगाडि बढाइएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । फलाखुको पुरानो झोलुंगेपुलमुनिदेखि पश्चिमको दुई नदी मिश्रण भएको स्थान हुँदै त्रिशूलीको शव दाहगृह आसपाससम्म करिब दुई सय मिटर भूभागको नदी किनारमा तारको जाली तथा सिमेन्टको पर्खाल लगाई नदी नियन्त्रण गरिएको छ ।

       नदी नियन्त्रणका साथै शौचालय तथा विश्रामगृह, स्नानपछि लुगा फेर्नका लागि चार कोठासमेतको पूर्वाधार तयार भइसकेको गाउँपालिका अध्यक्ष लम्सालले बताए । समग्रको निर्माण काम ९० प्रतिशत पूरा भएको छ । उत्तरगयाधाम संरक्षणका लागि १० करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । दोस्रो चरणअन्तर्गत नीलाद्री पर्वत जाने क्रममा फलाखुको संगमस्थलमा शङ्करले बेतको लौरीबाट उत्पन्न गराएका जल उत्खनन गरी बाहिर निकाल्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । वि.सं. ०१८ मा फलाखु खोलामा बाढी आउँदा पुरिएको तातोपानी मूल ०४९ मा योगी नरहरिनाथले नेपाली सेनामार्फत उत्खनन गराएको बेत्रावतीका वयोवृद्व समाजसेवी मोहनबहादुर थापाले जानकारी दिए ।

      यसैगरी तप्तकुण्ड, शिव मूर्ति तथा बौद्ध स्तुप, पौसेऔंसीमा गरिने पिण्ड-तर्पणका लागि श्राद्ध उद्यान, मरणपाटी र अन्य धार्मिक आस्था बढाउने खालका संरचना बनाउने कार्य परियोजनामा रहेको छ । रसुवा र नुवाकोटको सिमानामा अवस्थित उक्त धाममा दाहसंस्कार, पिण्डतर्पण, हरिबोधिनी एकादशीमा फूलको डोली तार्नेजस्ता कार्य हुँदै आएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आद्र्रकुण्ड, दूधकुण्ड, रिभरकुण्ड, गोपुकुण्डलगायत दर्जनौँ कुण्डको पवित्र जल मिसिएर आउने थलो भएकाले बेत्रावतीबाट प्रवाह हुने त्रिशूली नदीको जल आमनागरिकले पवित्र मान्दै आएका छन् । विगतमा नेपाल-तिब्बत भएको युद्धमा नेपाली फौजले विजय प्राप्त गरेपछि नेपाल र तिब्बतबीच वि.सं. १८४९ मा बेत्रावती सन्धिसमेत भएको स्थान अहिले स्थानीयको सक्रियतामा प्रचारप्रसार भइरहेको छ ।