हाम्रा कुरा : उज्यालो पर्वलाई उज्यालै बनाऊँ

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:४०
Logo of trishuli prawaha

नेपालीको रमाइलो उज्यालो चाड तिहार घर आँगनमा शुरू भईसकेको छ । यो उज्यालोको पर्व हो । तिहारसँग हाम्रा धार्मिक विश्वासहरू जे-जे जोडिएको भए पनि तिहार उज्यालोको पर्व हो । किंवदन्तीको माला लामो भएपनि तिहार उज्यालोको पर्व नै हो । अँध्यारोलाई कसैले राम्रो, असल मान्दैनन् । सबै उज्यालोलाई राम्रो मान्दछन् । सबै उज्यालोकै पछि लाग्छन् । अहिले हाम्रो देश उज्यालोतर्फ उन्मुख भईरहेको छ । अर्थात् प्रगतितर्फ उन्मुख छ । विगतको अँध्यारोलाई पन्छाउँदै अघि बढिरहेको भान भएको छ । जेमा पनि नकरात्मक मात्र देख्नेको संख्या घट्दो छ । यो उज्यालोले देशभर उज्यालो आशाका साथ पर्व मनाऔं ।

      नयाँ संविधानपछि इतिहासमै स्थिर सरकार बनेको छ । यो सरकारले ‘‘सुखी नेपाली समृद्ध नेपाल’’ बनाउने खाका कोर्दै छ । सरकारलाई सबैले सहयोग गरौं अनि मात्र देशमा उज्यालो फैलिने छ । देशलाई सधैं संक्रमणकालमा राख्न चाहनेहरू फेरी सलबलाईरहेका छन् । तिनीहरूलाई तिहारको उज्यालोले लपेटौं । २००७ सालदेखि अहिलेसम्म हामी नेपाली संक्रमणकाल छ भनि केही नगरी बसिरहेका छौं । अहिलेको सरकारले संक्रमणकाल अन्त्य गरेको छ । आशातित जनअपेक्षाका काम देखिन थालेका छन् । देशको विकास के होला । सधैं अभाव, अविकासमा कतिन्जेल रूमल्लिने ? छिमेकका देश विश्वका शक्ति सम्पन्न भईसंक्दा पनि हामी भने आफैं कहिले धर्मका नाममा, कहिले जातका नाममा, कहिले राजनीतिमा विभाजित भईरहेका छौं । हामी मात्र नागरिक अधिकारको कुरा गरिरहेका छौं । यो नागरिक अधिकारको कुरा गरिरहँदा आर्थिक अधिकार ओझेल परेको कसैले पत्तै पाएको छैन । हो, नागरिक अधिकार मुख्य हो । यसो भन्दैमा आर्थिक अधिकारका लागि काम नै नगरी नागरिक अधिकारले मात्र देश सम्पन्न हुन सक्दैन । मुखमा माड लाग्नका लागि आर्थिक विकास नै गर्नुपर्छ । त्यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राजनीतिमा सबै चिज जोडिने भएकाले अबको राजनीति देशको समग्र उज्यालोका लागि गरिनुपर्छ । सिमित घेरा, समुह, पार्टी, जात र धर्म भन्दा माथि उठेर हिंड्नुपर्छ । देश आफ्नै खुट्टामा अडिएर हिंड्न सक्नुपर्छ ।

      स्थिर सरकारलाई सबैले काम गर्न दिनुपर्छ । सबैले निःस्वार्थ सहयोग गर्नुपर्छ । सधैंभरी देशलाई अन्योलमा राखिरहने, भड्खालोमा जाकिरहने हो भने देश अझै अधोगतिमा जानेछ । देशका सक्षम युवा धमाधम विदेशीरहँदा अहिलेको यो युवापुस्ता सकिएपछि यो रूपमा भोलीको पुस्ता अवश्य रहँदैन । अहिले युवा जनशक्ति धेरै छ । यसलाई उपयोग गर्न नसके भोलीको युवा पुस्ता पक्कै युवाको भन्दा बृद्ध र बालबालिका बढी हुने दिन आउँछ । जन्मदर घट्दै गएको कारण भोली बृद्धहरू धेरै भएको समय आउन टाढा छैन । यसैले यो युवा समुहलाई परिचालन गरी राज्यले धेरै लाभ लिने बेला यही हो । अब पनि राजनीतिको ह्रस्व–दिर्घमा अल्झिने हो भने हामी कहीँ पुग्दैनौं । देशले केही पाउँदैन । मात्र सक्षम युवा गुमाउँछ । यो पुस्ताले चाख्न पाउने विकासको गति गुमाउँछ । यो उज्यालोको पर्वले हामी सबैलाई उज्यालोमा हिंड्न प्रेरित गरोस् । नेताहरू देशलाई उज्यालोमा हिंडाउन एकजुट होऊन् । सबैमा तिहारको शुभकामना । नेतृत्व तहमा रहेकाको सद्बुद्धि पलाओस् ।