४ सय ३९ ले अनुदान फिर्ता गरे

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:४२
Logo of trishuli prawaha

विदुर, नुवाकोटका लाभग्राही सूचीमा परेका भूकम्प पिडितले गैरसरकारी संघ-संस्थाबाट अनुदान पाएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ नुवाकोटबाट लिएको रकम फिर्ता गरेका छन् । नुवाकोटका ४ सय ३९ लाभग्राही सूचीमा रहेर अनुदान लिएका ब्यक्तिले २ करोड १९ लाख ५० हजार रूपैयाँ फिर्ता गरेका छन् ।

      एउटै लाभग्राहीले गैरसरकारी संघ-संस्था र सरकारबाट दोहोरो घर बनाउन अनुदान लिन नपाउने भएपछि स्वेच्छाले रकम फिर्ता गरेका छन् । भुक्तानी लिन नपाउने र लिएको थाहा भएमा कारबाहीमा परिने डरले रकम फिर्ता भएको हो । जिल्लाको विदुर नगरपालिका वडा नं.८ का २ सय १४, वडा नं.५ का ४ जना र वडा नं.७ का १ जनाले केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ नुवाकोटमा रकम फिर्ता गरेका छन् । त्यसैगरी, किस्पाङ गाउँपालिका वडा नं.-४ का १ जना, वडा नं.५ का २४ जना, पञ्चकन्या गाउँपालिका वडा नं.१ का १ सय ९३ जना र तारकेश्वर गाउँपालिका वडा नं.२ का २ जनाले समेत रकम फिर्ता गरेको आयोजना कार्यान्वयन ईकाइ नुवाकोटका प्रमुख शम्भुकुमार साहले जानकारी दिनुभयो ।

      नुवाकोटमा भूकम्प पिडित लाभग्राही सूचीमा रहेकालाई ह्याबिटेट फर ह्युमेनिटी इन्टरनेशनल, वर्ड रिन्यु, मल्टीशर इन्टरनेशनल, सेभ द चिल्ड्रेन, सेल्फ रिर्टन संस्थाले घर पुनःनिर्माणमा सहयोग गरिरहेको छ । नुवाकोटसहित वाग्मती प्रदेशको रसुवामा १८, धादिङमा ६९, सिन्धुपाल्चोकका ५ सय ३३ र काभ्रेका २ सय २३ जनाले लिएको अनुदान रकम फिर्ता गरेको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन ईकाइले सार्वजनिक गरेको छ । भूकम्प अति प्रभावित २२ जिल्लामध्ये अनुदान फिर्ता गर्ने म्याग्दीमा एकजना रहेका छन् ।

      राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तोकेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले यस सम्बन्धी निर्णय गरेको हो । नयाँ समयसीमाअनुसार हालसम्म कायम भएका पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने छ । त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनःनिर्माणका लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । सम्पूर्ण पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैंशाख मसान्तसम्ममा सम्बन्धित स्थानीयतहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।

      प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने बताउनुभयो । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गरेको छ । त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।