सडक कार्यालय अतिक्रमित जग्गा खोज्दै

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:४६

विदुर, डिभिजन सडक कार्यालय नुवाकोटको ककनी गाउँपालिका वडा नं.-४, रानीपौंवा बजारमा रहेको जग्गा र भवन स्थानीयबासी र सरकारी निकायले अतिक्रमण गरेपछि सडक कार्यालय फिर्ता गराउन लागिपरेको छ ।

      सशस्त्र द्धन्दको क्रममा तत्कालिन माओवादीको कार्यकर्ताले भवन आगो लगाउने र बम प्रहार गरेपछि २०५८ साउन २२ गते सडक कार्यालय रानीपौंवाबाट बट्टारमा सरेको थियो । सडकको रानीपौंवामा रहेको ३१ रोपनी जग्गासहित पक्की भवन, स्टोर, वर्कशप र कर्मचारी आवास भवन त्यसपछि अलपत्र परेको थियो । रानीपौंवाबाट बट्टार बजारमा भाडाको भवनमा कार्यालय सरेपछि सडकको भौतिक संरचना र जग्गा बेवारिसे बन्यो । सडक कार्यालय बट्टारबाट विदुर भवन बनाएर सरेपछि रानीपौंवाको जग्गा र भवनको संरक्षण गर्न तत्कालिन कार्यालय प्रमुखहरूले चासो देखाएनन् । स्थानीयबासी र सरकारी निकायले सडकको जग्गा अतिक्रमण र कब्जा गर्ने होडबाजी नै चल्यो । सडक कार्यालयको नाममा रहेको ४ रोपनी जग्गा र भवन प्रहरीचौकी ककनीले कब्जा गरेर गाउँपालिकाको सर्वदलीय समितिबाट सिफारिस गराएर क्याबिनेटमा लगेर निर्णय गराएपछि सडकको जग्गा अतिक्रमण शुरू भएको स्थानीयहरू बताउँछन् । प्रहरीचौकीले जग्गा लिएपछि स्थानीय सधियारले जग्गा अतिक्रमण गर्न थालेको वडा नं.-४ का अध्यक्ष दिपेश तामाङले बताए । सडकको जग्गा अतिक्रमण गरेर वडा कार्यालयले अस्थायी ट्रस्ट, स्थानीयले गुम्बा निर्माणदेखि थ्री स्टार क्लबको भवन समेत बनेको छ । भवानी मा.वि.ले दुई रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको छ भने आधा दर्जन भन्दा बढी ब्यक्तिले कार्यालयको जग्गा अतिक्रमण गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । कार्यालयले जग्गा बेवारिसे छाडेपछि पछि फिर्ता गर्ने गरी ट्रष्ट बनाएको समेत वडाध्यक्ष तामाङले बताए ।

     सडक कार्यालयले अहिले जग्गाको खोजी शुरू गरिरहेको छ । कार्यालय प्रमुख नारायणदत्त भण्डारीले शनिबार नापी नक्सा र लालपूर्जासहित जग्गाको अवलोकन गरेका थिए । कार्यालयको नाममा रहेको जग्गाको प्रारम्भिक नाप जाँच शुरू गरेको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो । स्थानीयबासी र सरकारी निकायबाट ४० प्रतिशत जग्गा अतिक्रमण भएको प्रारम्भिक नाप जाँचमा गर्दा देखिएको समेत उहाँले बताउनु भयो । अतिक्रमणमा परेको जग्गाको नाप जाँच नापी कार्यालयको प्राविधिकको सहयोग गरेर जग्गाको रेखदेख गर्न सोमबारदेखि कर्मचारी नै खटाएको छ । सशस्त्र युद्धको क्रममा कार्यालय बिस्थापित भएर सदरमुकाम विदुर आएपछि जग्गा र भवनको संरक्षण हुन नसकेको कार्यालय प्रमुख भण्डारीले स्वीकार गर्नुभयो । तिहारपछि अतिक्रमण गर्ने सरकारी निकाय र स्थानीयबासीको नाम सार्वजनिक गरेर हटाउन आग्रह गछौं । त्यसपछि जग्गामा कम्पाउण्ड वाल लगाएर संरक्षण गर्ने समेत उहाँले बताउनु भयो । जग्गा अतिक्रमणको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएर सहयोगको लागि आग्रह समेत सडक कार्यालयले गरिसकेको छ ।

     जिल्ला प्रशासन कार्यालय बल प्रयोग गरेर भएपनि अतिक्रमणमा परेको सडकको मात्र होइन जिल्लामा रहेको सार्वजनिक र सरकारी कार्यालयको जग्गा अतिक्रमण रोक्ने र अतिक्रमित जग्गा फिर्ता गराउने अभियान नै सञ्चालन गरेको छ । अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रतिबद्धता जनाउनु भएको छ । प्रजिअ ढकालले जिल्लाका धेरै बेथितीलाई निर्मुल गर्दै विधीको शासन स्थापित गराउन लागि रहनुभएको छ ।