हप्तामा १ सय १० जना कोरोना संक्रमित

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:५३

विदुर, नुवाकोट जिल्लामा कार्तिक १९ देखि २६ गतेसम्म कोरोना रोग लागेको नयाँ संक्रमित १ सय १० जना थपिएका छन् ।

      त्रिशूली अस्पतालमा मंगलबार गरिएको ४१ जनाको परीक्षणको नतिजामा ९ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिनुभएको छ । त्यसैगरी बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको अनुसार थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका ३१ जना, शिवपुरी गाउँपालिकाका १, पञ्चकन्या गाउँपालिकाका १, किस्पाङ गाउँपालिकाका १ र सुर्यगढी गाउँपालिकाका २ जना रहेका छन् । थपिएका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएकाले उनीहरुलाई घरकै एकान्तबासमा चिकित्सकको निगरानीमा राखिएको छ ।

      जिल्लामा बुधबारसम्म संक्रमितको संख्या पुरूष ४ सय ८२ र महिला २ सय १ गरी ६ सय ८३ पुगेको छ । नुवाकोटमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ६२ पुगेको छ । त्रिशूली अस्पतालमा ६ जना, स्थानीयतहले बनाएको आईसोलेसन केन्द्रमा एक जना र ३ सय ५५ जनालाई घरकै आईसोलेसनमा राखिएको छ । नुवाकोटमा कोरोनाको कारण जिल्लाभित्र एकजना र काठमाडांैमा थप दुई जना गरेर तीन जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुवाकोटमा कार्तिक १९ गते १, २० गते १६, २२ गते २८, २३ गते १ र २४ गते १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।