मन्त्री फुँयालबाट चिम्टेश्वरमा निर्माणाधीन भ्युटावर र पार्कको अवलोकन

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:४३

विदुर, बागमती प्रदेश प्रदेश सरकारको बजेटमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको ऐतिहासिक एवम् धार्मिक क्षेत्र चिम्टेश्वरमा भ्युटावरसहित पार्क निर्माण भइरहेको छ । उक्त निर्माणाधीन भ्युटावरसहित पार्कको स्थलगत अवलोकन निरीक्षण बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बुधबार गरेका छन् ।

      मन्त्री फुँयालले चिम्टेश्वरलाई धार्मिक एवम् दृश्य अवलोकनका लागि पर्यटक आकर्षक गर्ने कार्यक्रम प्रदेश सरकारले अघि सारेको बताए । मन्त्री फुँयालले स्थानीयसँग चिम्टेश्वर क्षेत्रमा बनाउन सक्ने भौतिक पूर्वाधारबारे छलफल गरेका थिए । स्थानीय राजनीतिक दलका नेता, स्थानीयवासीले मन्त्री फुँयाललाई चिम्टेश्वरको ऐतिहासिक, धार्मिक महत्वबारे जानकारी गराउँदै दृश्य अवलोकनका लागि चिम्टेश्वर महत्वपूर्ण स्थान रहेको बताएका थिए । मन्त्रीको भ्रमण टोलीमा बागमती प्रदेश सभाका मुख्य सचेतक केशवराज पाण्डे र मन्त्रालयका सचिवको सहभागिता रहेको थियो । मन्त्रीको टोलीलाई चिम्टेश्वरमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले स्वागत गर्दै नगरपालिकाले गरिरहेको पूर्वाधार कार्यको जानकारी गराएका थिए । प्रदेश सरकारको सहयोगमा धमलेदेखि बेलकोटगढी नगरपालिकाको केन्द्र बागखोर हुँदै चिम्टेश्वरसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । मन्त्री फुँयाल नुवाकोटमा नेकपाको कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गरी रसुवा गएका थिए ।