कोरोना सङ्क्रमित सङ्ख्या समुदायमा भुसको आगो सल्के जसरी बढ्दा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमित र मृत्यु हुने दर चाडपर्वपछि बढ्दा राज्यले थेग्न नसक्ने अवस्थामा पुगेको छ । कोरोनालाई रुघाखोकीकै रूपमा लिएर कतिपय व्यक्ति खुलेआम हिँडडुल गरिरहेका छन् । अति आवश्यक काम नपरी नहिँड्ने, हिँड्नुपरे स्वास्थ्यका मापदण्ड अपनाएर माक्स अनिवार्य गर्न सर्वसाधारणले असजिलो मानेको देखिन्छ । जसले गर्दा कोरोना सङ्क्रमणले भयावह रूपमा लिने अड्कल स्वास्थ्य विज्ञहरूले गरिरहेका छन् ।
कोरोना परीक्षण सहज नभएकाले सङ्क्रमितको सङ्ख्या समाचारमा आएभन्दा कैयौँ गुणा बढी हुन सक्छ । कोरोना सङ्क्रमित को हो, को होइन भनेर छुट्याउन नसक्ने अवस्था अहिले आएको छ । यस्तो अवस्थामा नागरिक आफैँ सचेत हुनु जरुरी छ । भिडभाड र समूहमा दसैँ, तिहार, छठ मनाउँदा सङ्क्रमणको दर ह्वात्तै बढेको छ । हिँडडुल गर्दा माक्स लगाउने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाल्न सक्यौँ भने मात्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । चाडपर्व र चिसो मौसमको कारण रुघाखोकी र बिरामी हुनेको दर बढेको छ । अहिले गाउँघरमा परालको आगोझैँ कोरोना सङ्क्रमण फैलिने दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले दसैँ, तिहार र छठपछि धेरैलाई रुघाखोकी लागेको देखाउँछ । रुघाखोकीलाई साधारण रूपमा लिँदा निमोनिया हुने र निमोनिया भएपछि कोरोनाको लक्षण देखिने गरेको छ । रुघा लागेपछि निमोनिया भएका अधिकांशमा कोरोना भएर ज्यान गुमाउनेको सङ्ख्या उल्लेखनीय रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले पुष्टि गरेको छ । एक सातासम्म पनि रुघाखोकी निको नभएकालाई सरकारले निःशुल्क कोरोनाको परीक्षण गरेर पुष्टि भएमा एकान्तवास बस्ने व्यवस्था नगरेसम्म कोरोना सङ्क्रमण दर बढिरहनेछ । सङ्क्रमण देखिएका व्यक्ति एकान्तवास नबस्नेको सङ्ख्या र रुघाखोकी लागेका शङ्कास्पद सङ्क्रमितको सङ्ख्या गाउँघरमा बढिरहेको छ । कोरोना र रुघाखोकी एउटै होइन, तर रुघाखोकी निको नभएकामा कोरोनाको लक्षण देखिने गरेकाले रुघाखोकी लागेकोले समेत एकान्तवासमा बसेर माक्स अनिवार्य प्रयोग गर्ने र स्वास्थ्यका मापदण्ड अपनाउँदा वृद्धवृद्धा र दीर्घरोगीलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।
गत हप्ता नयाँ खोप आउने समाचार आएसँगै तपाईं–हामी सबैमा आशा जगाएको छ । खोप आउने सुनिश्चितताले कोरोना महामारी छिट्टै अन्त्य हुने अपेक्षा गरौँ । अधिकांश खोप उत्पादकले अनुसन्धान र विकास खर्च खोपको मूल्यमा राख्ने र नाफाका लागि निर्माण गर्ने हुनाले सुरुका दिनमा खोपको मूल्य बढी हुन सक्छ । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता लगभग ९५ प्रतिशत छ र यसलाई दुईदेखि आठ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घन्टासम्म सुरक्षित राख्न सकिन्छ । खोपको यस्तो विशेषताका कारण उत्साह थप बढेको हो । तर, खोप अमेरिकामा बन्दै छ, नेपालमा होइन । हाम्रो गाउँठाउँमा यो उपलब्ध हुन अझै कुर्नुपर्नेछ । कति समय लाग्छ भन्ने कसैलाई थाहा छैन । स्वास्थ्य मन्त्रालयले खोप बन्नेबित्तिकै आयात गर्न आवश्यक ऐन, कानुनको तर्जुमा गरिसकेको भए पनि खरिदको प्रक्रिया अगाडि बढाउन समय लाग्नेछ । त्यसलाई प्रत्येक घरघरमा छिट्टै पु¥याउन सक्ने स्वास्थ्य संरचना हामीसँग छैन । परीक्षण मेसिन ल्याएर परीक्षण गर्न त हामीलाई धौधौ भयो झन् खोप नै लगाउन कत्तिको गाह्रो होला । बनाएको ३० दिनभित्र खोपको प्रयोग गरिसक्नुपर्छ । हाम्रा लागि यो कत्तिको सम्भव हुन्छ हेर्न बाँकी छ । खोप बनेर खुसी भए पनि हामीसम्म नआइपुग्दासम्म स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्नुको विकल्प छैन । मास्क लगाउने र भौतिक दूरीको पालना गर्नु अपरिहार्य छ । स्वास्थ्य मन्त्रालयले महामारीमा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा खासै काम गरेन, जसका कारण धेरै सङ्क्रमितको ज्यान गयो । भेन्टिलेटर र उपचार कक्षको अभाव अझै छ । कोरोनाको उपचारमा लापरबाही गरे पनि खोप ल्याउने र लगाउने संरचनालाई मजबुत पार्न स्वास्थ्य मन्त्रालयले तदारुकता देखाएको छ । सरकारको प्रयास सफल होस् । यसको छिटोभन्दा छिटो सहज तरिकाले हरेक नेपालीको खोप पाउने अवस्था रहोस् ।