ओली र प्रचण्ड अहंकारी र घमण्डी ! नेकपा पार्टी फुट्ने कि जुट्ने ?

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५०

सत्तारुढ नेकपाभित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वैचारिक लाइन, नीति र एजेन्डामा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि आरोप-प्रत्यारोप छताछुल्ल भएको छ ।

     प्रचण्डले पहिला लिखित रूपमा प्रधानमन्त्री केपी ओलीमाथि व्यक्तिगत आरोप लगाउँदै एकै ठाउँमा बस्नै नसक्ने गरी प्रस्ताव पेस गरेपछि मङ्सिर १३ गते जवाफी प्रस्ताव पेस गरेका ओलीले प्रचण्डलाई आफू षड्यन्त्र र जालझेलमा नबस्ने र सीधै लडाइँमा उत्रिन सक्ने भन्दै सत्तालोलुपता, आफन्त मात्रको संरक्षण गर्ने, धोकेबाज, अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गरेकोजस्ता आरोप लगाउँदै आफूमाथि लागेको आरोप पुष्टि गर्न नसके पार्टीमा नबस्दा पनि हुन्छ भनेर घुमाउरो तरिकाले प्रचण्डलाई जवाफ फर्काएपछि दुई अध्यक्षको झगडा के विषयमा भएको भन्ने कुरा प्रस्ट बाहिर आएको छ । दुई अध्यक्षको आरोप-प्रत्यारोप हेर्दा नेपालमा विपक्षी दल नै छैन भन्ने प्रस्ट भएको छ । दुईको एजेन्डा शक्ति र सत्ता प्राप्ति मात्र देखिएको छ । प्रचण्ड जसरी पनि शक्ति र सत्ता खोस्ने पक्षमा र ओली जसरी पनि जोगाउने पक्षमा रहेको अहिलेको लिखित आरोप-प्रत्यारोपले पुष्टि गरेको छ । नेकपाका अध्यक्षद्वयको झगडा आफू शक्तिमा आउनका लागि मात्र भएको र वैचारिक विवाद नभएको समाचार यसअघि पनि त्रिशूली प्रवाह साप्ताहिकले प्रकाशित गरेको थियो । दुवै अध्यक्षको कथित राजनीतिक प्रस्ताव हेरेर पछि कार्यकर्ता तल्लो तहमा लगेर छलफल गर्नै नहुने पक्षमा छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेसले लगाउनेभन्दा पनि तल्लोस्तरको आरोप दुवै अध्यक्षले एकले अर्कोलाई लगाएका छन् ।

      दुई अध्यक्षले आफूचाहिँ सत्ता र शक्तिका लागि होइन अर्को अध्यक्ष मात्र सत्ता र शक्तिको लागि लडेको हो भनेर कार्यकर्ता माझ भन्न सक्ने अवस्था नै दुवैको लिखित प्रस्तावले प्रस्ट पारेको छ । सत्ता र शक्ति प्राप्तिका लागि दुई अध्यक्षले यसरी तल्लोस्तरमा उत्रिएर गालीपत्र पार्टीमा पेस गरेर सार्वजनिक गर्छन् भन्ने अनुमान आमकार्यकर्ता र जनताले विश्वास नै गरेका थिएनन् । तर, अब एकले अर्कोलाई सिध्याउने खेलमा उनीहरू नै लागेको देखिएको छ ।
दुवैको आरोपपत्र बाहिर आएपछि केन्द्रका मन्त्रीहरूले धैर्यका साथ राजनीतिक संस्कार देखाएर आफ्नो भनाइ बाहिर ल्याएका छन् भने बागमती प्रदेश सरकारका मन्त्री शालिकराम जम्कट्टेललगायतका विगतदेखि पैसा उठाएर मोजमस्ती गर्दै आएका केही नेता र कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफ्नो हैसियत बिर्सिएर आलोचना गर्न थालेका छन् । माओवादीमा रहँदा पनि आर्थिक हिनामिनाको आरोप खेप्दै, पिटाइ खाँदै, आन्तरिक आक्रमणमा पर्दै आएका नेता र कार्यकर्ता अब दुई पार्टी पुरानै अवस्थामा फर्कने र फेरि चन्दा उठाउन पाइने भयो भनेर खुसी देखिन्छन् । यद्यपि पूर्वमाओवादी र पूर्वएमालेका अधिकांश नेता र कार्यकर्ता दुवै अध्यक्षले गल्ती गरेको कारण उनीहरूले बिगारेको पार्टी उनीहरूले नै बनाउनुपर्ने पक्षमा छन् ।  दुवै अध्यक्षले पेस गरेको प्रस्तावबारे मंगलबारदेखि नेकपामा छलफल भएको छ । यसले निकासा निकाल्नेमा सबै पक्ष सकारात्मक देखिएका छन् । तर, एकले अर्कोलाई जित्ने तुष दुवै अध्यक्षले राख्ने हो भने पार्टी विभाजन हुने पक्का छ । एक अध्यक्षले अर्को अध्यक्षलाई निस्तेज गरेर जाने हो भने राजनीतिक भविष्य पूर्णतः समाप्त हुने देखिन्छ । एक अध्यक्षले अर्को अध्यक्षको राजनीतिक भविष्य समाप्तै पार्ने हो भने एउटै पार्टीमा कुनै पनि हालतमा दुवै अध्यक्ष बस्ने छैनन् । आत्मसमर्पण गर्नुभन्दा खुट्टा तन्काएरै मर्नु वेश भन्ने निचोडमा दुवै अध्यक्ष पुगेका छन् ।

      प्रधानमन्त्री ओलीले फर्काएको लिखित जवाफले प्रचण्डलाई सबैलाई धोका दिने र आफ्ना लागि जे पनि गर्ने निरङ्कुश शासकको रूपमा देखाएको छ भने प्रचण्डको आरोपमा ओलीलाई पनि निरङ्कुश शासकको संज्ञा दिइएको छ । धेरैले प्रचण्डहरूले पार्टीमा बहुमत जुटाएर ओलीलाई एक्लै बाहिर पठाउँछन् अर्थात् ओलीको प्रस्ताव पूर्णतः फेल गरेर प्रचण्डको प्रस्ताव पास गरेर अगाडि बढ्छन् भनेर अनुमान गरेका छन् । तर, त्यो अनुमान पूर्णतः गलत देखिएको छ । ओली प्रचण्डले निकाल्दैमा निक्लने र प्रचण्डले राख्दैमा पार्टीमा रहने स्वभावका छैनन् । त्यस्तै, प्रचण्ड पनि ओलीले निकाल्दैमा निस्कने र राख्दैमा रहने नेता पनि छैनन् । दुवै अहंकारी र घमण्डी नेता हुन् । उनीहरूको सहकार्यले त्यही देखाएको छ । त्यही भएर दुईवटै अध्यक्षले मिलेर जाने निर्णय गर्दा पार्टी एक हुने र फुट्ने निर्णय गर्दा पार्टी फुट्ने पक्का छ । त्यसका लागि दुवै अध्यक्षले आ–आफ्नो प्रस्तावलाई छलफलपछि फिर्ता वा परिमार्जन गर्नुको विकल्प छैन । दुई अध्यक्षले आफ्नो मात्र प्रस्ताव पास हुुनुपर्ने अडान लिएर त्यही प्रस्ताव पार्टीबाट पास गराउने अडान लिएमा नेकपालाई चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्रीले सम्झाए पनि एक हुने छैन । सचिवालय, स्थाीय कमिटी र केन्द्रीय कमिटीका नेताहरूको कुरा त धेरै टाढाको विषय बनेको छ । आखिर नेकपाको घरमा आगो झोस्ने काम प्रचण्ड र ओलीले नै गरेका हुन् । घरधनीले नै आगो लगाउन थालेपछि शत्रुहरूले त घर जलाएर खरानी नै बनाउनुपर्छ भनेर लाग्नु स्वाभाविक भएको छ ।