नुवाकोटका पाँच, धादिङका ६ र रसुवाका तीन पालिकामा आधारभूत अस्पतालको शिलान्यास

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १६:१४
Logo of trishuli prawaha

विदुर, ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गरेको छ । नुवाकोट, रसुवा र धादिङसहित सातै प्रदेशमा ५, १० र १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको छ । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास भएको हो । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण थालेको मन्त्रालयले जानकारी दिएको छ ।

      शिलान्यास भएका अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको सङ्केतको रूपमा व्याख्या गरेको छ । पाँच शय्याको ५२, १० शय्याको एक सय नौ र १५ शय्याको ३५ अस्पतालको शिलान्यास भएको हो । अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ । अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरेको छ । अस्पतालका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँबराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको छ । पहिलो चरणमा बागमती प्रदेशमा ५१ वटा अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास भएको हो । सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गरेका छन् । यसै कार्यक्रमअन्तर्गत नुवाकोटको ककनी, तारकेश्वर, पञ्चकन्या, शिवपुरी र म्यागङ गाउँपालिकामा अस्पतालको निर्माण तथा स्तरोन्नतिका लागि शिलान्यास भएको हो । पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा १० शय्याको अस्पताल भवन शिलान्यास गरिएको छ । नेपाल सरकारले देशभरिका तीन सय ९६ अस्पतालको एकै साथ उद्घाटन भएसँगै नुवाकोट जिल्लामा पनि ६५ शय्यासहित पाँच गाउँपालिकामा अस्पतालको शिलान्यास भएको हो ।

      भद्रुुटारमा बन्ने स्वास्थ्य भवनको नुवाकोट निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद हितबहादुर तामाङले शिलान्यास गरेका थिए । उक्त उद्घाटन समारोहमा बागमती प्रदेशका उपसभामुख राधिका तामाङको विशेष आतिथ्य रहेको थियो । ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय तहले तोकेको स्वास्थ्यचौकी १० शय्यामा स्तरोन्नति हुने भएको छ । तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्यचौकी १० शय्याको, शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्यचौकी १० शय्यामा निर्माण सुरु भएको छ । यस्तै, म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल स्थापना हुँदै छ । मन्त्रालयले तोकिएकै समयमा सबै स्थानीय तहलाई अस्पताल निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिइएको छ । यता, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आगामी १५ महिनाभित्रै अस्पतालको निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।

      १० शय्याको अस्पतालमा दुई मेडिकल अधिकृतसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पताल एउटै डिजाइनका हुनेछन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । मन्त्रालयले पाँच शय्याको अस्पतालका लागि सात करोड ११ लाख ९८ हजार, १० शयुयाका लागि १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि १८ करोड ६८ लाख दुई हजार रुपैयाँ समान बजेट विनियोजन गरेको छ । यस्तै, रसुवाका तीन स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । रसुवाको नौकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा अस्पतालको शिलान्यास भएको हो । नौकुण्ड गाउँपालिकामा पाच्र्याङ स्वास्थ्यचौकी पाँच शय्या, आमाछोदिङमो गाउँपालिकामा गोल्जुङ स्वास्थ्यचौकी पाँच शय्या र कालिका गाउँपालिकामा जिबजिबे प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्यामा निर्माण हुन लागेको हो । राज्यको निर्णयअनुसार सबै अस्पताल दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ । धादिङको गंगाजमुना, बेनिघाटको रोराङ, ज्वालामुखी, त्रिपुरासुन्दरी र गल्छी गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास सोमबार भएको छ ।