एभरेष्ट बैंक, दुप्चेश्वर गाउँपालिका र उद्योग वाणिज्य सङ्घबीच सहुलियत कर्जा लगानी गर्न सम्झौता

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार ११:००

समुन्द्रटार, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नेपाल सरकारको सहुलियतपूर्ण कर्जा तथा व्यावसायिक कृषि कर्जा लगानी गर्न एभरेष्ट बैंक, दुप्चेश्वर शाखा, नुवाकोट उद्योग वाणिज्य सङ्घ र दुप्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता गत बिहीबार सम्पन्न भएको छ ।

     ऋण लगानीका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, एभरेष्ट बैंक लि.का नायव महाप्रबन्धक सन्धिर कुमार र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङबीच त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौताको एभरेष्ट बैंकका बजार प्रमुख पुष्पराज उप्रेती तथा एभरेष्ट बैंक लि. दुप्चेश्वर शाखाका प्रमुख सुरज केसी, दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्य, नुवाकोट उद्योग वाणिज्य सङ्घको घनेन्द्रप्रसाद रिजाल सम्झौताको साक्षी बसेका छन् । दुप्चेश्वर गाउँपालिकाको नीति तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सहायता कार्यविधि २०७५ र (तेस्रो संशोधन २०७७) बमोजिम उद्यमी व्यवसायीलाई व्यवसाय सुरुवात तथा विस्तारका लागि आवश्यक पर्ने ऋण एभरेष्ट बैंक लि.ले लगानी गर्ने सम्झौतामा उल्लेख गरिएको छ । उक्त सम्झौताअनुसार ऋण लिने व्यवसायीको जिम्मा गाउँपालिकाले लिनुपर्नेछ भने उद्योग वाणिज्य सङ्घले व्यावसायिक परामर्श र उद्यम विकाससँग सम्बन्धित सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व रहेको छ ।

     दुप्चेश्वर गाउँपालिका क्षेत्रको कृषि तथा पशुपक्षीजन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रवद्र्धन गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरिएको हो । गाउँपालिकाको नीतिअनुसार व्यवसायी बन्न चाहने वा व्यवसाय सञ्चालन गरिरहेका सबैखाले उद्यमीलाई नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर प्रदान गर्ने उद्देश्य रहेको छ । उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपाङ्गता तथा विपन्न तथा वित्तीय पहुँच प्राथमिकता दिई आय–आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यसमेत राखिएको छ ।

      नुवाकोट जिल्ला सहुलियत कर्जा लगानी गर्न विदुर नगरपालिकाले नेपाल बैंक लि.सँग र तादी गाउँपालिकाले कृषि विकास बैंकसँग यसअघि सम्झौता गरिसकेका छन् । बैंकहरूले नेपाल सरकार सहुलियत कर्जा प्रवाहसम्बन्धी कार्यविधि २०७७ अनुसार ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण दिनेछ । कृषि नै समृद्धिको आधार भएकाले लगानी बढाउन सहुलियतमा लगानी गर्ने कार्यक्रम ल्याइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताएका छन् । गाउँपालिकामा गत बिहीबार भएको त्रिपक्षीय सम्झौता कार्यक्रममा पालिकाका वडाध्यक्षसहित स्थानीय व्यवसायीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष अञ्जु आचार्यले उत्पादन वृद्धि गरी आय-आर्जनमा सुधार गर्न विभिन्न कृषि उद्यमका लागि कृषकले सहुलियतपूर्ण ब्याजदरमा ऋण पाउने जानकारी दिइन् । गाउँपालिकाको सिफारिस र जिम्मेवारीमा सहुलियत ब्याजदरमा आवश्यकताअनुसार सहुलियत ऋण लगानी गर्न बैंक तयार रहेको एभरेष्ट बैंकका शाखा प्रबन्धक सुरज केसीले उक्त अवसरमा बताए ।

      दलित समुदायको परम्परागत र पेसालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न जनजाति सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय–आर्जनका लागि सहुलियत प्रदान गर्ने यो कार्यक्रमले उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने भएकोले सम्झौताअनुसार नुवाकोट उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । कार्यक्रमलाई जिम्मेवार निकायले कार्यान्वयन गराए उत्पादन वृद्धि भई गाउँपालिकामा आय-आर्जनमा सुधार आउने नुवाकोट उद्योग वाणिज्यका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले अपेक्षा राखेका छन् । स्थानीय तहले कृषकलाई ऋणका लागि सहयोग गर्नुका साथै कृषकले उत्पादन गरेको उपजको बजारीकरण, मल, बिउ तथा उपकरणमा सहयोग गर्नुपर्ने सुझाव उनले दिए ।

     सहुलियत ऋणका लागि पाँच-पाँचजनाको सहकार्य समूह गठन गरिनेछ । उक्त समूहलाई बढीमा १० लाखसम्म ऋण उपलब्ध हुने उक्त ऋण सदस्यहरूले व्यक्तिगत रूपमा खर्च गर्न पाउनेछन् । एक व्यक्तिले दुई लाखसम्म ऋण लिन पाउने कार्यविधिमा उल्लेख छ । यसरी प्राप्त हुने ऋण उत्पादनमूलक कृषिमा लगानी गर्नुपर्नेछ ।