सडक पुगेपछि जनजीवन सहज

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार ११:१७
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय सरकार आएसँगै सडकमार्ग निर्माणले तीव्रता पाइरहेको छ । सडक निर्माणले स्थानीयवासीको जनजीवन सहज र समय बचत भएको छ । गाउँ क्षेत्रमा सडक सञ्जाल पुगेपछि भारी बोकेर जीविका चलाउँदै आएका स्थानीय भरिया बेरोजगार बनेका छन् । जिल्लाको लाङ्बुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका-१ को सिङ्बन्दीदेखि लाङ्बु, घोर्मु, सस्र्युं हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । उक्त क्षेत्रमा सवारीसाधनले मालसामान ढुवानी गर्ने कार्य सस्तो र छिटो गरिदिने भएपछि स्थानीय भरिया विस्थापित भएका हुन् ।

     विगत तीन वर्षको अन्तरालमा नौकुण्ड गाउँपालिकाको वडा नं. १ को बस्ती-बस्तीमा ८० किलोमिटरभन्दा बढी सडकको ट्र्याक खोल्ने काम भइसकेको छ । यार्सामा उत्पादित वर्षेआलु खरिद गर्न सवारीसाधन लिएर बाहिरका व्यापारी घरघरमा पुग्न थालेपछि आलुबाट प्राप्त आयले दैनिक जीवन सहज भएको छ । सडकमार्ग पुगेपछि गाउँमा लाने खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा छिटोभन्दा छिटो अस्पताल लान सहज भएको छ । ६ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका-१ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै कारण सडक निर्माणलाई नै पहिलो प्राथमिकता दिइएको थियो । वडाध्यक्ष कान्छा तामाङले सडक निर्माणको साथसाथै आय-आर्जनका लागि परम्परादेखि गर्दै आएका घरेलु सीपबाट गरिने कामलाई समेत प्राथमिकता दिइरहेको बताए ।

      नयाँ खोलिएको मोटरबाटोले वडा नं.१ मा पर्ने सिङबन्दी, संयुल, थाङ्दोर, लाङ्बुु र आरुखर्कसम्मका बासिन्दालाई यातायातको सुविधा पुगेको छ । सडकलाई दरिलो पार्न नाली, टेवा पर्खाल एवम् कालोपत्र गर्ने कार्ययोजनासमेत अगाडि सारिएको उनले बताए । विकासको पहुँच नपुगेको उक्त क्षेत्रमा स्थानीय सरकारले सडक निर्माण, खानेपानी व्यवस्थापन, प्राथमिक उपचारका लागि स्वास्थ्यचौकी, विद्यालयको पठन-पाठनमा गुणस्तर सुधारजस्ता कार्यले गरिबी घट्दै जाँदा यस क्षेत्रकोे मुहार फेरिँदै गएको स्थानीयवासी छेसाङदावा तामाङले बताए । प्रमुख पेसा कृषि र पशुपालनमा आधारित रहेको उक्त वडामा प्रत्येक घरले पाँचदेखि १० वटासम्म गाई, भैंसी, बाख्राजस्ता चौपाया पालेको र खेतीयोग्य जमिनका सतहमा बढी मात्रा ढुङ्गे चट्टानले गर्दा कृषिजन्य वस्तु उत्पादनमा न्यून भएपछि अधिकांश मानिसले अन्यत्रबाट खाद्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेको छ ।

      यसअघिको चिठ्ठीपत्र लेख्न र वाचन गर्न जान्ने मानिस खोज्दै हिँड्नुपर्ने उक्त क्षेत्रमा ०३३ सालमा विद्यालय खुलेपछि साक्षरता दर बढ्नुको साथै शिक्षाको गुणस्तरमा सुधार तथा पढ्नुपर्छ भन्ने जागरण बढेको छ । अहिले विद्यालयका प्रधानाध्यापकसमेत स्थानीयस्तरमै उत्पादन भइसकेको छ । वडा नं.१ मा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या सयौँको हाराहारीमा पुग्न थालेको र केहीले उच्च शिक्षासमेत अध्ययन गरिरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । बीसभन्दा बढी स्थानीयले रोजगारीमा रहेका र उनीहरू वडासचिव, शिक्षकजस्ता पदमा सेवा गरिरहेको वडा कार्यालयले जनाएको छ ।

       नौकुण्डको अन्य वडामा पर्ने यार्सा, युब्रा, गाङभर, लारच्याङ, पारच्याङ, दारघारी, पाटीखर्क, सरमथली, दनुस्वाँरा, भोर्ले, चितीलगायतका गाउँको टोल-टोलमा सडक सञ्जाल जोडिसकेको छ । नयाँ खोलिएका सबै मोटरबाटो दिगोपन बनाउन ठाउँठाउँका खोला, खोल्चा-खाल्चीमा पुल-पुलेसा, नाली, टेवा पर्खाल र कालोपत्र गराउने कामलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।