+
Search

ताजा अपडेट +

पपुलर +

लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइँदैन है नेपालमै छ छुट

त्रिशूली प्रवाह
४ साल अगाडी

पाठकपत्र

नेपालको इतिहासमा राजनीतिक घटनाक्रमलाई समीक्षा गर्ने हो भने राणा, प्रजातन्त्र, पञ्चायत, बहुदल हँुदै गणतन्त्रसम्म आउँदा धेरै राजनीतिक उथलपुथल र व्यवस्था परिवर्तन भए । पछिल्लो १० वर्षको जनयुद्ध र ०६२÷६३ सालको जनआन्दोलनले निरङ्कुश सामन्ती राजतन्त्र ढालेर लोकतन्त्रको उदय गरायो । फलस्वरूप आमजनताले पिँजडामा रहेको सुगालाई खुला आकाशमा छोडेकोजस्तो महसुस गरे ।

      लोकतन्त्रबाट प्राप्त वाक स्वतन्त्रताको उपयोग गर्दै विभिन्न समुदायका आमशोषितपीडित नागरिकले सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक अधिकारका लागि आफ्नो आवाज बुलन्द गर्ने अवसर पाए । केही हदसम्म उपलब्धि पनि हासिल गरे । तर, विडम्बना ! आमजनता र देशको आर्थिक अवस्थाले सोचेजस्तो फड्को मार्न सकेन । बहुदलीय व्यवस्थामा पटक-पटक बहुमतको सरकार पनि बने । तर, सत्ता र शक्तिको मोहमा सुशासन कहिल्यै कायम भएन । २१औँ शताब्दीको सङ्घारमा उभिरहँदा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । सम्भवतः यो व्यवस्था नै आधुनिक युग र नेपालको माटो सुहाउँदो हुन सक्ला भन्दा अत्युक्ति नहोला । भलै यो व्यवस्थामा केही कमिकमजोरी भने नभएको होइन । तर, त्यसलाई संशोधन गर्न पक्कै पनि सकिन्छ । तर, देशको सत्ताधारीले नै यो व्यवस्थाको दुरुपयोग गर्दा जताततै भ्रष्टाचार, बेतिथि र अनियमितता झन् बढेको देखिन्छ । पहिले राजा-महराजाले मेरो देश एकलौटि लुटे । अहिले सबै नेताले पालैपालो लुटिरहेका छन् । पछिल्लो समय त झन् लुटको आतङ्क नै मच्चिएको छ । कहिले भूकम्पको नाममा लुटे, कहिले नाकाबन्दीको नाममा लुटे त कहिले कोरोनाको नाममा लुटे भने कहिले विभिन्न काण्डको नाममा लुटे । राज्यको ढुकुटीमा यसरी ब्रह्मलुट मच्चाइरहँदा देश-विदेशबाट आमसचेत नागरिकले त्यसको विरुद्ध खबरदारी गरिरहे । तर, जति खबरदारी गरे पनि यी भ्रष्ट नेताले त्यति नै लुटिरहे, लुटिरहे । सिंहदरबारका सिंहबाट सञ्चालित केन्द्रको मोटे डनदेखि स्थानीय तहको छोटे डन विभिन्न विकासका योजनाको बहना बनाउँदै सरकारी बजेटको हालिमुहाली गर्न वर्षायामको जुकाझैँ सल्बलाइरहेका हुन्छन् । भ्रष्टाचार, बेतिथि र अनियमितताले सीमा नाघिरहँदा एकाधबाहेक अरू सबै सम्बन्धित निकाय मौन रहेका छन् । किनकि ती निकायले पनि मिलेर कहीँ न कहीँबाट लुटको धन्दा गरिरहेका हुन्छन् ।

      आमनागरिक स्वास्थ, शिक्षा र रोजगारीका लागि यत्रतत्र दिन दुईगुना रात चैगुनाको दरले भौँतारिरहेका छन् । उपचारको अभावमा दूरदराजमा बसोवास गरेका दले दाइहरूले अकालमै मृत्युुवरण गरिरहेका छन् । रोजगार नपाएर त्यही दले दाइहरूकै लाखौँ छोरा रोजीरोटीका लागि अरबको मरुभूमिमा ५० डिग्रीको घाममा तर्तरी पसिना चुहाइरहेका छन् भने कोही जापान र कोरियाको बंगुर फार्ममा १७–१७ घन्टा खटिरहेका छन् । सुनौलो भविष्यको सपना बुनेर विदेशी भूमिमा श्रम गर्दागर्दै अकालमा ज्यान गुमाउनेको लासको बाकस एयरपोर्टमा आउँदा शोकाकुल परिवारलाई राहत र सान्त्वना दिन जानुको सट्टा मेरो देशको नेता आफ्नो गगनचुम्बी महलजस्तो घरको झ्यालबाट ती लासलाई चियाइरहेको हुन्छ । ती गरिब परिवारले आफ्नो छोराको लासलाई सद्गद् गर्न पैसा नभएर चन्दा उठाइरहेका हुन्छन् भने उता मेरो देशको भ्रष्ट नेता तारे होटेल र रिसोर्टमा विदेशी वाइन पिउँदै देश लुट्ने ग्रान्ड डिजाइन बनाइरहेका हुन्छन् । कृषि, जलस्रोत र पर्यटनबाट लाखौँ युवालाई रोजगार दिएर देशको अर्थतन्त्र नै कायपलट गर्न सक्ने अथाह सम्भावना हुँदाहुँदै पनि मेरो देशको नेता कमिसनको चक्करमा लागेर जनताको दैनिक जीवनयापनका लागि चाहिने नुनदेखि सुनसम्मका उपभोग्य सामग्री भारतलगायत अन्य मुलुकबाट आयत गरिरहेका छन् । मेरो देशको नेतालाई स्वदेशमा रोजगार सिर्जना गर्नुको सट्टा विदेशमा रहेका लाखौँ युवाको मिहिनेतबाट आएको रेमिट्यान्समाथि रजाइँ गर्ने बानी परेको छ । आफ्नै देशको सीमा, नदीनाला र कलकारखाना बेच्ने लत लागेको छ । हिजो गाउँबाट हात्तीछाप चप्पल लगाएर राजनीतिमा लागेको रामे दाई हेर्दा-हेर्दै आज करोडौँको घर र लाखौँको गाडी चढेर बिलासी जीवन बिताइरहेको छ । त्यही गाउँको श्यामे दाइ भने अझै पनि गाउँमा हात्तीछाप चप्पल लगाएर लखर-लखर गाउँबेंसी गर्दै रामे दाइले दिएको जस्ताको छाप्रोमा दुई छाक खोले खाई बुढेसकालको जिन्दगी कटाइरहेको छ । गरिब र जेहेन्दार विद्यार्थीको लागि छुट्याएको छात्रवृत्ति कोटामा मेरो देशको नेताले आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाइरहेका हुन्छन् । त्यही कोटाका लागि दाबेदार एउटा मिहिनेती, गरिब र जेहेन्दार विद्यार्थी पढ्न नसकेर अन्ततः मुग्लान पस्न बाध्य हुन्छ । सिंहदरबारकै सिंहहरूको निर्देशनमा राज्यको हरेक तह र तप्कामा नातावाद र कृपावादको हालिमुहाली चलिरहेको हुन्छ । जसले झुटको खेती र लुटको धन्दा गर्न सक्यो त्यसले रातारात महल ठड्याउँछ । तर, जसले इमानदारी साथ आफ्नो पौरख ग¥यो । त्यसले दुई छाक खान र एक सरो लाउन पनि धौधौ हुन्छ ।

      मेरो देश अहिले सङ्गीन मोडमा छ । माक्र्सवाद र लेनिनवादको बनावटी खोल ओढेर आफूलाई कम्युनिस्टको महान् नेता भन्ने अधिनायकवादी सन्की नेता तथा देशकै प्रधानमन्त्रीले पार्टीको आन्तरिक कलहको निहुँमा आफ्नो पद र कुर्सी धरापमा परेको महसुस गरेपछि संसद् नै विघटन गरेर राष्ट्रघाती कदम चाले । राष्ट्र र जनताप्रति इमानदार र बफादार नेताले आफू मरेर भए पनि आफ्नो देश बचाउँछ, तर मेरो देशको नेताले देश र जनतालाई मारेर आफ्नो पद र कुर्सी बचाए । जनता रोग र भोकसँग सडकमा लडिरहँदा मेरो देशको नेता कुर्सी बचाउनकै लागि मध्यावधि चुनावको घोषणा गरेर अर्बौं रुपैयाँ सकाउने खेलतिर लागे । धन्य छ मेरो देशको नेता ! धन्य छ । लाग्छ नेपाल लुटेराहरू बस्ने देश हो । जहाँ श्रम, सीप, नैतिकता र इमानदारीको कुनै स्थान छैन । त्यसैले गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन है नेपालमै छ छुट’ भन्ने गीतले इतिहास नै रचेको छ ।

फुलबहादुर मम्ब
हाल : दोहा, कतार

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह