छुपाङ खोला सिंचाई कुलो बनेपछि ९ सय घरधुरीलाई सुविधा

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:५१

खरानीटार, तादी गाउँपालिका वडा नं.-१ उर्लेनीको काल्चे र ओर्खेका ९ सय धुरीका लागि सिंचाई कुलो सञ्चालनमा आएको छ ।

      गाउँमै सिंचाई सुविधा आएपछि काल्चेकी चोक्साङ तामाङ अहिले ७ रोपनी खेतमा धान लगाउन थालेकी छन् । उनको खेत र बारी गरेर २१ रोपनी जग्गामा अहिले सिंचाई पुगेको छ । यस क्षेत्रका स्थानीयबासी मकै र कोदो खेतीमा मात्र सिमित थिए । । कोदो र मकै मात्र लगाउने गरेको उक्त गाउँबासी सिंचाई सुविधा पुगेपछि अहिले धान र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । अब गाउँमै पक्की कुलोबाट धान लगाउन थालेको स्थानीय किसान अर्जुन तामाङ बताउँछन् । उनले अहिले तरकारी खेती पनि शुरू गरेका छन् । सहरबाट लसुन र प्याजलगायतका तरकारी किनेर खानुपर्ने बाध्यता रहेको बताउने उनले सिंचाई आएपछि गाउँमै फलाउन थालेको बताए । लसुन, प्याज भारतबाट आएको खाईन्थ्यो भने अहिले गाउँमै लसुन प्याज फलाउन थालेको उनले बताए । सिंचाई आएकाले प्लाष्टिक टनेल हालेर गाउँमै धेरै तरकारी उत्पादन गर्ने उनको लक्ष्य छ । सिंचाई अभावमा यहाँका किसान आकासे खेतीमा निर्भर थिए ।

      छुपाङखोला सिंचाई आयोजना निर्माण भएपछि स्थानीय किसानले समथर फाँटमा धान, गहुँ, तोरी खेती गर्न थालेका छन् । सिंचाई आएपछि स्थानीयले हिउँदमा खेती गर्न थालेका हुन् । उक्त सिंचाई आयोजना ८ किलोमिटर २ सय मिटर टाढा रहेको छुपाङ खोलाबाट पानी ल्याएर सिंचाई गर्न थालिएको छ । यो आयोजना डेढ वर्षमा गौरा÷जलुकेनीजेभीले निर्माण सम्पन्न भएको हो । तादी गाउँपालिका वडा नं.-१ उर्लेनीको काल्चे र ओर्खेका ९ सय धुरीका खेत सिंचाई सुविधा पाएका छन् । यहाँका सुख्खाटारमा सिंचाई सुविधा पुगेको छुपाङखोला उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर थापाले बताए । ‘आकासेखेतीमा रहेका स्थानीय किसान सिंचाई सुविधाले लाभान्वित बनेका छन्,’ उनले भने, ‘किसानको आयबृद्धि आर्थिक उपार्जन गर्न सक्ने छन् ।’ उच्च पहाडी क्षेत्रको ठूला सिंचाई आयोजना हो । आयोजनाले १ सय ६५ हेक्टर क्षेत्रफलमा सिंचाइ गरिने जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

      छुपाङखोला सिंचाईका लागि प्रादेशिक सिंचाई अन्तर्गत साढे ४ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । हामीले फागुनदेखि असारसम्म सिंचाई पुग्ने कार्यालय प्रमुख हरिप्रसाद गुरागाईले बताए । पहाडी क्षेत्रको बृहत योजना भएको उनले बताए । राहुचुली हिमालको फेदीबाट आएको मुहानबाट उक्त पानी ल्याईएको हो । दुई सय लिटर प्रति सेकेण्ड पानी बग्ने गरेको छ । यो सिंचाई आयोजना सदरमुकाम विदुरबाट ४० किमी दुरी पूर्वी भेगमा रहेको छ ।