गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक
चौमासिकमा लक्ष्यको सय प्रतिशत सफल
विदुर, नेपालको गेम चेञ्जर आयोजनाको रुपमा परिभाषित गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको स्तरोन्नती गर्ने कार्य दोस्रो चौमासिकमा लक्ष्यको सय प्रतिशत सफलता हासिल गर्दै निर्माण अगाडी बढिरहेको छ ।
नेपालको चीनसँग जोडिएको सडक मध्ये रसुवागढी सडक अहिलेसम्मको छोटो दूरीको सडक हो । सडक स्तरोन्नतीको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढिरहेको योजनाको गल्छीदेखि मैलुङ सडकखण्डको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । स्याफ्रुवेंशी–रसुवागढी सडकखण्डको स्तरोन्नतीको लागि बिजुलीको पोल सार्ने काम र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढिरहेको जानकारी आयोजना कार्यालयले दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत भई प्राथमिकता प्राप्त आयोजनाको स्तरोन्नतीको विषयमा राष्ट्रिय योजना आयोगले आन्तरिक मुल्याङ्कन गरेको छ । विदुरमा अन्तक्रिया कार्यक्रम गर्दै राष्ट्रिय योजना आयोगले नेपाल सरकारको प्राथमितामा परेको योजनामा बजेटको कुनै कमि नहुने जनाएको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा.पुष्पराज कँडेलले सरकारकै रोजाईको सडकमार्ग भएकाले मुआब्जाको लागि आवश्यक रकम निकासा गर्न अर्थ मन्त्रालयमा पहल गर्ने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीकै चासोको विषयमा रहेको गल्छी सडकमा बजेटको अभाव नहुने उहाँले बताउनु भयो ।
२०७२ बंैशाख १ गतेदेखि निर्माण कार्य शुरु भएको सडकको गत जेठ ६ गते ट्र¥याक खोल्ने कार्य सम्पन्न भएको थियो । अहिले यो सडकखण्डमा सवारी साधन सञ्चालन भईरहेका छन् । राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना २०७५÷०७६ र २०७७÷०७८ मा उल्लेख भएअनुसार आगामी २०८० भित्र निर्माण तथा स्तरोन्नती हुने उल्लेख छ । अन्तक्रिया कार्यक्रममा विघठित प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाले एउटै आमयोजनाको सडकलाई विभिन्न कित्तामा विभाजन गरी मुआब्जा निकाल्न नहुने बताउनु भयो । गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटरको सडकमा रहेका सबै प्रभावितलाई राज्यले एउटै ब्यवहार गर्नुपर्ने बताउनु भयो । विदुर नगरपालिकाको पिपलटारदेखि ढुङ्गेसम्मको मुआब्जा विवाद अदालतमा विचाराधिन रहे तापनि सरकारले अहिले नै मुआब्जा दिने निर्णय गर्नुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले विकासमा राजनिती गर्न नहुने बताउनु भयो । विकास निर्माणको विषयमा सबै जनप्रतिनिधीको एकै मत भएमा मात्रै योजना कार्यान्वयन र समस्या समाधान गर्न सहज हुने धारणा राख्नुभएको थियो । गल्छी–त्रिशूली–रसुवागढी सडकको विषयमा नुवाकोटका जनप्रतिनिधीको मत विभाजन भएका कारण समस्या समाधान गर्न नसकिएको बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीको भौतिक पुर्वाधार सल्लाहकार गजेन्द्र थपलियाले प्रधानमन्त्रीकै चासोको विषयमा गल्छी–त्रिशूली सडक रहेको बताउनु भयो । हाल तिव्र गतिमा स्तरोन्नती भईरहे तापनि काम नभएको योजनाको रुपमा गल्छी–रसुवागढी सडकलाई हेरिएको बताउनु भयो । गेम चेञ्जर आयोजनाको रुपमा परिभाषित गरी आवश्यक श्रोत र साधन उपलब्धता हुँदा पनि सडक स्तरोन्नतीमा किन ढिलाई भईरहेको छ भनेर चासो राखिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जिल्लामा रहेका विकासे अड्डाको आपसी समझदारी नहँुदा विकास निर्माणले गति लिन नसकेको बताउनु भयो । स्थानीय सरोकारवालाको मागलाई ध्यान नदिने सोच र निर्माणस्थलमा वन, विद्युत् प्राधिकरणलगायतका कार्यालयको दादागिरीले निर्धारित समयमा विकास निर्माण हुन नसकेको धारणा उहाँले राख्नुभएको थियो । सामान्य सहजिकरणले नागरिकले सहुलियत पाउने विषयमा समेत विकासे अड्डा चुपचाप बस्ने गरेको उहाँको भनाई थियो । कार्यक्रममा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले आयोजनाले ८२ किलोमिटर क्षेत्रभित्र रहेका सबै प्रभावित नागरिकलाई एकै नजरले हेरेको बताउनु भयो । सडक स्तरोन्नतीको क्रममा देखिएका स–साना विवादलाई न्युनीकरण गर्दै अगाडी बढिरहेको बताउनु भयो । सडकमार्गको दायराभित्र पर्ने सबै प्रभावितलाई आयोजनाले मुआब्जा दिने बताउँदै प्रक्रियागत तहमा केही ढिलाई भएको उहाँले बताउनु भयो ।
सडक स्तरोन्नतीको पछिल्लो कदम उत्साहजनक भईरहेको कार्यक्रममा सहभागीले बताएका छन् । रफ्तारमा चलिरहेको कामलाई निरन्तरता दिंदै तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न गर्नेतर्फ आयोजना लम्किएको योजना प्रमुख भण्डारीले बताउनु भयो । पछिल्लो चौमासिक रुपमा लिएको लक्ष्य १ सय प्रतिशत सफलता हासिल गर्दै निर्माण अगाडी बढिरहेको उहाँले जानकारी दिनुभयो । सडक स्तरोन्नतीको काम ७० प्रतिशत सकिएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाईएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो । यस्तै स्याफ्रुवेंशी–रसुवागढी सडकखण्डको स्तरोन्नतीको लागि बिजुलीको पोल सार्ने काम र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाईएको छ ।
योजनाका अनुसार पिपलटारदेखि बेत्रावतीसम्मको सडकखण्डमा काम भएको छैन । अदालतमा मुद्दा परेपछि यो खण्डको काम तीन महिनादेखि रोकिएको छ । बेत्रावतीदेखि नयाँपुलसम्म सडक चौडा गर्ने, वाल लगाउने, नाला र कल्भर्ट बनाउने काम चलिरहेको छ । बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु जोड्ने सडक भन्दा गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक २५ किलोमिटर दूरी छुटिन्छ ।