धुन्चेको नामकरण र घले राजाको उत्पत्ति

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०७७, बिहीबार १५:५८
  • सरस्वती न्यौपाने

धुन्चे,  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६ धुन्चेको नामकरण र घले राजाको उत्पत्ति रोमाञ्चकारी र ऐतिहासिक रहेको छ ।

     जिल्लाको सदरमुकाम रहेको हालको धुन्चेको पुरानो नाम दुङलाङ हो । दुङलाङको अर्थ शङ्ख ठडिएको ठाउँ भन्ने बुझिन्छ । परापूर्वकालमा अहिलेको गोरखा जिल्लाको बारपाकमा एकजना घले राजा (ग्याल्बो) थिए । बौद्ध राजाको धेरै छोरा थिए । ती राजा आफ्ना छोरालाई कुनै उपयुक्त स्थान खोजेर व्यवस्था गर्न चाहन्थे । छोरामध्ये एकजनालाई बोलाएर उनले भनेछन्, ‘म मन्त्र गरेर यो शङ्खलाई यहाँबाट फाल्छु, यसलाई खोज्दै जानु र जहाँ शङ्ख फेला पर्छ तिमी त्यही ठाउँको राजा भएर राज्य चलाउनू ।’ त्यसपछि घले राजाले मन्त्र गरेर शङ्ख त्यहाँबाट उडाइदिए, शङ्ख आकाशमा उड्यो । राजाका छोरा ठिसुम देप्के घले आफ्नो बाबुले फालेको शङ्ख खोज्दै बारपाकबाट धादिङको तिप्लिङ हुँदै हालको धुन्चे पछाडिको ब्राबल आइपुग्दा अग्लो भीरको टुप्पोमा आकाशतर्फ ठडिएर बसेको अवस्थामा शङ्ख फेला परेको हुनाले भीरको नाम पनि दुङलाङमो राखियो । बिस्तारै दुङलाङमोबाट दुङलाङ नाम रहन गएको बुढापाका बताउँछन् । ठिसुम देप्केले शङ्ख पाएपछि आफूलाई राजा घोषणा गरेर गोङगाङ भन्ने स्थानमा दरबार बनाएर थोक्रा वंशका तामाङलाई काजी पद दिए । तितुङ वंशका तामाङले बोम्बो र झाँक्री भएर काम गर्न थाले । राजा ठिसुम देप्के घलेपछि उनको सन्तानले गोङगाङ दरबारमा लामो समय शासन चलाए । यो दरबार सडक निर्माण गर्दा असावधानीका कारण दरबारको भग्नावशेष नष्ट भएकोले प्रस्ट देखिँदैन । यो दरबार अहिलेको धुन्चेको पूर्वतर्फ तिवारी बगर जाने बाटोमा रहेको कृषि बागवानी फार्म र चरन विकास जाने पासाङल्हामु राजमार्गमा पर्छ । यस दरबारमाथि अहिले छुर्तेन निर्माण गरिएको छ ।

     दुङलाङ शब्द अहिले पनि तिब्बेत (चाइना)को केरुङ जोङ्खा र ल्हासासम्म चिनिन्छ । धुन्चे बजारमा दुई किसिमका घलेको बसोवास रहिरहेको छ । बोङ्जो घले र ग्याल्दाङ घले छन् । घले मुख्य त चार प्रकारका हुन्छ-सामरी घले, रिल्दी घले, ग्याल्दाङ घले, डागे घले । जुन चार किसिमभित्र पनि धेरै घलेभित्रको बोङ्जो घले र ग्याल्दाङ घलेले राँगो, भैंसी, गाई, बङ्गुर, सुङ्गुर, लसुन, छ्यापी, केही पनि खाँदैनन् । बोङ्जो घलेको दरबार दुई हजार वर्ष भन्दा पुरानो जोङचेत भन्ने ठाउँमा रहेको छ । दरबारको भग्नावशेष अझै धुन्चेमा सुरक्षित रहेको छ । दरबार ढुङ्गाको ओडारसँगै टाँसिएको छ । यो दरबार ग्याल्दाङ घलेको पराजयपश्चात् जीर्ण भएको थियो । यो दरबार गोसाइँकुण्ड गाउँपालिका-६ को कार्यालयले दरबार संरक्षण गरेको छ । बोङ्जो घले गोल्जुङ र गत्लाङबीचको माथिल्लो बोङ्जो लेक र बोङ्जो (ल्हा) नै भनिन्छ, कसैले चाहिँ बोङ्जो घलेले उत्पत्तिस्थल भार्खुगाउँको याङकार जोङ क्षेत्रलाई मानिन्छ । जोङ दरबारका राजा भार्खु गाउँको याङकारजोङ दरबारका राजा पाल्देन छिरिङ घलेका छोरा हुन् । याङकारजोङ दरबारमा शत्रुले घेरा हालेपछि सानो बालक छोरालाई धुन्चे माइती भएकी राजाकी आमा तथा बालकको हजुरआमा र मामा दुङ्धेनस्याले काठको बाकसभित्र भेडाको ऊनले गुटमुट्याएर लुकाई बालकलाई बचाएकन थिए । तिनै बालकले ठूलो भएपछि धुन्चेको जोङचेतमा दरबार बनाएर बसेको कुरा बुढापाका बताउँछन् ।  अहिले यो दरबारको इतिहास थोरैलाई मात्र थाहा छ । इतिहास मर्न नदिनका लागि धुन्चे बजारमा शङ्ख पार्क निर्माण गरिएको छ । रेडपाण्डा पार्क बनाइएको छ । दुःखलाग्दो कुराचाहिँ बाउबाजेले बनाएका एक माने छ । मानेको भने वास्ता गरिएको देखिँदैन । आस्था र संस्कृतिको धरोहर मासिँदै छन् भने कुनै-कुनैलाई जीवन्त राख्न प्रयास भएका छन् । तर, खोजी र अुनसन्धान गर्न जरुरी छ । धुन्चे गाउँ वरपर रहेका माने छुर्तेनलगायतका पुरातात्विक तामाङ संस्कृतिको खोजी गरी जीवन्त राख्न स्थानीय युवा कम्मर कसेर लागेका छन् । धुन्चे गाउँमा नयाँ बोन्पो थपिएकाकाले बोम्पो धर्मको सुरुवात पनि सृष्टि सँगसँगै भएको मानिन्छ । गत वर्ष धुन्चे गाउँले नयाँ बोन्पो (झाँक्री) पाएका छन् । उनी २१ दिनसम्म जङ्गलमा गुफा बसेर तान्त्रिक विधिबाट पूजापाठ गरेका थिए । उनलाई धुन्चेकै केही युवाले सहयोग गर्दै लामा विद्या सिक्न र बुझ्नका लागि समेत गुफामा बसेका थिए ।

     विशुद्ध तामाङ संस्कृति बोकेको धुन्चेवासी आफ्नै संस्कृतिमा रमाइरहेका छन् । आफ्नो परम्परालाई जीवन्त राख्न पुरानो कुरा खोजी गर्नु आवश्यक रहेको छ । यस्तै रहन–सहन, भेषभूषा, आफ्नै भाषाधर्मका कारण मानवको अस्तित्व जीवित रहेको छ । युग जति नै परिवर्तन भए पनि आफ्नो संस्कृतिलाई मास्न दिनुहुँदैन भन्ने धारणा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङको रहेको छ । घले राजाले शासन गर्दा तितुङ समुदायलाई मार्न रक्सीमा विष हालेर दिएकाले धेरै मरे, एकजना तितुङचाहिँ रक्सी खाएजस्तो गरेर मरेको नाटक गरेर घले राजाले नथाहा पाउने गरी भागेछन् । पछि पूजापाठ गर्नलाई एकजना तितुङ नभई भएन । त्यसपछि त्यस मानिसलाई जसरी पनि खोजेर ल्याउुनपर्ने भयो । भागेर बाँचेका तितुङ थर भएका व्यक्तिलाई खोजेर ल्याएर पूजापाठ गर्न लगाएपछि गाउँमा फैलिएको महामारी ठीक भएको विश्वासमा अहिलेसम्म पूजापाठ तितुङ थर भएकाले गर्दै आएका छन् । त्यसपछि थोक्रा र तितुङले जाँड, खसी खान छाडे, हामीलाई मार्छन्, हाम्रो वंश मासिन्छ भनेर थोक्रा काजी र तितुङ पण्डितको धुन्चेबजार रेडक्रस भवनपछाडि कुल देवताको मन्दिर छ त्यहाँ उनीहरूले केही आपत्वि-पत् परेमा पूजाआजा गर्दै आएका छन् ।  आजको युगमा अहिलेका पुस्तालाई कथाजस्तो लाग्छ । यो भ्रम मात्र हो जस्तो लाग्छ, तर वास्तवमा हाम्रो रहन-सहन, धर्म-संस्कारले नै हामीलाई मानव हुन सिकाएको छ । पुर्खाले देखाएको सत्मार्ग र धार्मिक विश्वासले आजका सन्तती र भावी सन्ततीका लागि कल्याण हुनेछ । हाम्रा धर्म, संस्कृति, संस्कारले गर्दा संसारमा हामी नेपालीको छुट्टै पहिचान रहेको छ ।