२ करोडको २ किलोमिटर सिढीँ

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार १२:०१

देउराली, नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं.-४ को गुनाम्सा टोलदेखि तक्पगङसम्म वागमती प्रदेश सरकार सहयोगमा ढुंगाको सिढीँ निर्माण भएको छ ।

      बागमती प्रदेश सरकारको १ करोड रुपैयाँ र म्यागङ गाउँपालिकाको १ करोड रुपैयाँ गरी २ करोड रुपैयाँको लागतमा २ किलोमिटर लामो सिढीँ निर्माण भएको हो । ठाँडै गोरेटो बाटोको रुपमा रहेको उक्त स्थानमा हिँडडुल गर्नलाई सहज बनाउन, वातावरणीय र पर्यटकीय रुपमा समेत सुन्दर बनाउन गुनाम्सा टोलदेखि तक्पगङसम्म सिढीँ बनाईएको म्यागङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामाले बताईन् । तामाङ समुदायको धार्मिक परम्पराअनुसार संस्कृति र संस्कार संरक्षणको लागि कुङ्गलगङमा छ्ुर्तेन रहेको छ । कुङ्गलगङ भन्दा केही दूरी माथि तक्पगङमा चैत्य निर्माण गरिएको छ । छुर्तेन र चैत्यसम्म पुग्नको लागि सहज होस् भनेर सिढीँ निर्माण गरिएको अध्यक्ष आशा तामाङले बताए । सहरी क्षेत्रको कोलाहल पूर्ण वातावरणबाट केही हदसम्म भएपनि मुक्ति दिई पर्यटकलाई आकर्षित गर्नको लागि सिढीँ निर्माणले महत्वपूर्ण योगदान दिने समेत उहाँले बताउनु भयो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनको लागि तक्पगङ डाँडा उत्तम स्थलको रुपमा समेत चिनिएको छ । सिढीँ निर्माण पश्चात् घाँसदाउरा ओसार-पसार गर्नेदेखि खेतीपाती गर्न जानेको लागि सहज भएको छ ।