संक्रमितलाई पाँच हजार पोषण भत्ता

  • त्रिशूली प्रवाह
  • २७ जेष्ठ २०७८, बिहीबार १२:११

ककनी, नुवाकोट जिल्लाको ककनी गाउँपालिकाले कोरोना संक्रमितको आत्मवल बढाउन पोषण भत्ता ५ हजार रुपैयाँ नगद दिन थालेपछि कोरोना संक्रमित खुल्न थालेका छन् ।

     गाउँपालिकाभित्र रहेका ब्यक्तिलाई कोरोना संक्रमण भएमा स्थानीय तहले पोषण भत्तावापत ५ हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । कोरोना संक्रमणकै कारण मृत्यु भएमा २५ हजार रुपैयाँ परिवारलाई क्रिया खर्च उपलब्ध गराउने समेत निर्णय गरेको छ । गाँउपालिकाले निःशुल्क कोरोनाको परिक्षण समेत गराईरहेको छ । संक्रमित भएकाहरूले संक्रमण लुकाउन थालेपछि पोषण भत्ता दिने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनु भयो । कोरोना संक्रमितले पोषण भत्तावापत ५ हजार बुझेर लान थालेका छन् । नागरिकताको आधारमा पालिकाबाहिर संक्रमित भएकालाई पनि पोषण भत्ता दिने निर्णय गरेको उनले बताए ।