तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:१५
Buddha Eyes

स्थानीय निकायले दिगो प्रतिफलको भन्दा पनि चर्चा बटुल्ने योजना छनोट गर्दा बदनामीको चाङमा बढोत्तरी ! डाँडामा भ्यूटावर, बजार क्षेत्रमा स्वागत गेट र घन्टाघर बनाउने सुरुको लहड अहिले स्थानीय निकायलाई घाँडो भइरहेको छ । सदरमुकामको नगरपालिकाले बट्टारबजारमा झन्डै आधा करोडमा बनाएको घन्टाघरको घडी आधा दर्जन महिना पनि चल्न नसक्नु कस्तो दुर्भाग्य ! घडी बन्द भएपछि स्थानीयको कान लाटो भइरहेको छ । झन्डै ६ महिना घन्टैपिच्छे ट्वाङ-ट्वाङको आवाजले दिनरात डिस्टर्भ महसुस गर्नेलाई अहिले हाइसञ्चो ! नगरपालिका अन्य क्षेत्रको बजेट रकमान्तर गरेर भए पनि आउँदो चैतसम्मका लागि घडी घुमाउन प्रयासरत ! घडी पुनः चल्ने भएपछि स्थानीयवासी वडा कार्यालयमा अनशन बस्न भिडभाड गर्दा उक्त क्षेत्रमा निर्माण भइरहेको सडक कालोपत्रेको काम ढिला हुने हो कि भन्ने चिन्तामा बिचरा उपमेयरज्यू !