तादी गापाको प्रशासनिक भवन बन्यो सर्ने साइत जुरेन

  • त्रिशूली प्रवाह
  • २१ असार २०७८, सोमबार १२:१९

तादी, नुवाकोट जिल्लाको तादी गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न हुने मितिअगावै निर्माणकार्य सम्पन्न गरी निर्माण व्यवसायीले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । प्रशासनिक भवन निर्माण सम्पन्न भए पनि फर्निसिङ तथा आन्तरिक व्यवस्थापन कोरोनाको कारण हुन नसक्दा सञ्चालनको साइत जुरेको छैन ।

      सार्वजनिक सूचनापाटीअनुसार गाउँपालिकाको प्रशासनिक भवनको निर्माणकार्य गत महिना जेठको १७ गते सम्पन्न गर्ने लक्ष्यसहित ०७६ साल जेठ १७ गतेदेखि मिलेनियम-कल्पवृक्ष जेभीले निर्माणकार्य सुरु गरेको थियो । निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै पुस अन्तिम साता भवनको निर्माणकार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तण गरेको हो । चालू आर्थिक वर्षभित्र नै गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको कारण सम्भव नभएकाले आगामी असोजसम्ममा गाउँपालिकाको कार्यालय नयाँ भवनमा सार्ने योजना रहेको अध्यक्ष नारायणप्रसाद पाण्डेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नलाई ६ करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि निर्माण कम्पनीले पाँच करोड रुपैयाँमा सम्झौता गरेको थियो । भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट एक करोड ६० लाख रुपैयाँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ८५ लाख रुपैयाँ उपलब्ध भएको थियो भने बाँकी गाउँपालिकाको लगानी रहेको छ । झन्डै तीन रोपनी जग्गामा फैलिएको खरानीटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नाममा रहेको जग्गामा गाउँपालिकाको भवन बनाएकोले उक्त जग्गा छिट्टै नै गाउँपालिकाको नाममा ल्याइने अध्यक्ष पाण्डेले बताए ।

     साबिक जिल्ला विकास समितिमा रहेको १६ करोड रुपैयाँ जिल्ला समन्वय समितिको मौज्दात कोषमा जम्मा भएको थियो । मौज्दात कोषमा रहेको रकम जिल्लाको सबै स्थानीय तहलाई समानुपातिक रूपमा वितरण गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । पूर्वाधार निर्माणअन्तर्गत रहेर स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालयको भवन, स्वास्थ्यको भवन निर्माणको साथै खानेपानीको क्षेत्रमा लगानी गर्नलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण गरेको कार्यविधिअनुसार बजेट विनियोजन गरिएको उनले बताए । जिल्ला समन्वय समितिको मौज्दात कोषबाट विनियोजित बजेटबाट शिवपुरी गाउँपालिकाले भवन निर्माण गरी कार्यालय सञ्चालन गरिसकेको छ भने तादी, दुप्चेश्वर र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाले बताइन् ।