धुन्चेमा व्यावसायिक तरकारी खेती

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:०४
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ धुन्चेका युवा व्यावसायिक तरकारी खेतीमा संलग्न हुन थालेका छन् ।

      कृषि र पशुपालनलाई आधुनिक र प्रविधियुक्त बनाएर उत्पादन बढाउन गोसाइँकुण्ड गाउँपालिका-६ का प्रमोदकुमार तितुङले एपी एग्रो रसुवा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छन् । कृषिमा पुराना शैलीलाई पनि आत्मसात् गर्दै हालको आधुनिकीकरण यन्त्रलगायत विभिन्न नौलो तरिकाको प्रयोग गरी अर्गानिक तरकारी र पशुपालन विगत दुई वर्षदेखि गर्दै आएका छन् । उनको काम देखेर कृषि ज्ञान केन्द्रले सहयोगसमेत गरेको छ । उनलाई कृषि ज्ञान केन्द्र नुवाकोटले एक निर्वाचन क्षेत्र एक नमुना कृषि फार्ममार्फत प्राप्त २५ लाख अनुदान सहयोग दिएको छ । केन्द्रको सहयोग र आफ्नो व्यक्तिगत ६० लाखको लगानीमा करिब २७ रोपनी जग्गा भाडामा लिएर उनले एपी एग्रो कृषि फार्म दर्ता गरी प्लास्टिकको टनेल निर्माण गरेका छन् । उनको टनेलमा अहिले काउली, बन्दा, गोलभेंडा, सिमी, साग-सब्जीलगायतका मौसमी-बेमौसमी तरकारी उत्पादन भइरहेको छ । तितुङको फार्मको तरकारीले सदरमुकाम धुन्चेको तरकारी ५० प्रतिशत माग पूरा गरिरहेको छ । उत्पादित तरकारी बिक्री-वितरणमा समस्या नभएकोसमेत उनले बताए ।

      स्थानीयस्तरमै केही गरौँ र विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई समेत प्रेरणा मिलोस् भनेर दिनरात मिहिनेत गरिरहेका तितुङ धुन्चेका नमुना कृषकको रूपमा स्थापित भइरहेका छन् । कृषि क्षेत्रमा केही गर्छु भन्ने युवाका लागि प्रदेश सरकारले अनुदान दिइरहेको छ । प्रदेशले सहयोग गरे बाख्रा, कुखुरा तथा च्याउलगायतका व्यवसाय थप गर्दै लैजाने योजना उनले बनाएका छन् । लाखौँ खर्च गरेर विदेशमा पसिना बगाउन छोडेर युवा शक्तिलाई देशमा नै आत्मनिर्भर बनाउन सके देश समृद्ध हुन्छ । पढेलेखेका तितुङ युवामाझ उदाहरणीय कृषि व्यवसायी बनेका छन् । सरकारले प्रमाणपत्र धितो राखी कृषि, पशुपालन क्षेत्रमा युवाको आकर्षण बढाउन सहुलियत दरको ऋण उपलब्ध गराउने भने पनि बैंकिङ प्रक्रिया निकै असहज र झन्झटिलो भएकाले युवा पुस्ता कृषिमा आकर्षित हुन नसकेको उनी बताउँछन् । आधुनिक तवरबाट कृषि पेसा गर्न युवालाई प्रोत्साहन गर्दै बजारको समेत व्यवस्था गर्न सके तरकारी खेतीबाट पनि राम्रो आम्दानी गरी जीविकोपार्जन र रोजगारी सिर्जना गर्न सकिने तितुङले बताए । साथै, तितुङलाई यस कृषि व्यवसायलाई ऊर्जा दिन आङछिरिङ तामाङ तल्लीन रहेका छन् ।

      एकीकृत कृषि व्यवसायका माध्यमबाट स्थानीयस्तरमा महिला, दलित तथा विपन्न परिवारलाई समेत रोजगार प्रदान गरी वातावरणमैत्री तथा शुद्ध प्राङ्गरिक खेती प्रणालीलाई जोड दिँदै आएका तितुङ कृषि व्यवसायलाई हेयको दृष्टिले हेर्न नहुने बताउँछन् । कृषि क्षेत्रलाई बाध्यकारी कामको रूपमा हेरिएको, मिहिनेत धेरै मुनाफा थोरै हुने भएकाले अहिलेका युवाको रुचि कृषि क्षेत्रमा घट्दै गएको छ । तितुङले युवाको श्रमशक्तिलाई कृषि व्यवसायमार्फत जीविकोपार्जनको मुख्य विकल्पको रूपमा पनि स्थापित गराउन एक रोल मोडलको रूपमा भूमिका निर्वाह गरेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।