तामाङ वाद्यवादनका सामग्री

  • फुर्पा तामाङ

गीत-सङ्गीत मन नपर्ने को होला ? अपवादबाहेक सबैले गीत–सङ्गीतलाई मन पराउने गर्छन् । त्यसैले त मानिसको जीवनमा गीत–सङ्गीतको महत्व हुन गएको हो । हामी खुसी हुँदा गीत गाउँछौँ, नाच्छौँ । दुःखी हुँदा पनि गीत गाउँछौँ । गीत गायनसँग वाद्यवादन बजाएर सङ्गीत हालेपछि सुनमा सुगन्धझैँ हुन्छ । गीत, गायन र सङ्गीत तीनथोक मिलेपछि स्रोतालाई मन्त्रमुग्ध बनाइदिन्छ । पछिल्लो समयमा गीत–सङ्गीतलाई रोग निदानका लागि सङ्गीत थेरापीको रूपमा पनि प्रयोग गर्न थालेको पाइन्छ । रसुवाको तामाङ जातिले वाद्यवादन मुख्यतः दुई किसिमले प्रयोग गर्दै आएको छ । पहिलो, धार्मिक कार्यमा र दोस्रो, सामान्य गीत गाउँदा, नाच्दा । बौद्ध लामा गुरुहरूले र बोन धर्मका बोन्पो (झाँक्री)ले धार्मिक कार्यमा धर्मसँग सम्बन्धित वाद्यवादन प्रयोग गर्दछन् । बौद्ध लामा गुरु र बोन्पो (झाँक्री)ले प्रयोग गर्ने धार्मिक वाद्यवादन पनि अलग–अलग हुन्छन् । सामान्य जनमानसले प्रयोग गर्ने वाद्यवादन र धर्म गुरुहरूले प्रयोग गर्ने वाद्यवादन फरक रहेका छन् । यो लेखमा सामान्य जनमानसले प्रयोग गर्ने वाद्यवादनको मात्र चर्चा गरिएको छ ।

१. पुली :
पुली एक प्रकारको मुरली हो । यो बाजा काली निगालोबाट बनाइन्छ । तामाङ भाषामा ‘सिर्मी’ भन्ने निगालोबाट पुली बनाउँदा सुरिलो धुन निस्किन्छ । यो निगालो समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा मात्र पाइन्छ । भार्खु गाउँको लेकमा पर्ने फुलुम, तेक्च्ये, च्योलाङको जङ्गलमा पाइन्छ । यसैगरी तामाङ भाषामा ‘बर्मा, ब्रामा र छुप’ प्रजातिको निगालोबाट पनि बनाइन्छ । बेंसीमा पाइने ‘कम्मा’ प्रजातिको निगालोबाट पुली बनाउन सकिन्न । किनभने कम्मा प्रजातिको निगालोको प्वाल मसिनो हुन्छ र आवाज राम्रो निस्किँदैन । पुली बजाउन विशेष समय हेर्नुपर्ने बुढापाका बताउँछन् । जाडो महिना लागेपछि पुली नबजाउनु भन्छन् । कारण, पुलीको धुन सुनेर जमिनमुनि माटोभित्र बसेका किरासमेत बाहिर निस्किन्छन् र जाडोले ती मर्छन् । यसरी किरा मरेपछि पाप लाग्छ भन्ने बुझाइ छ । अतः जाडो महिना सकेर घाँस उम्रिन थालेपछि र रूख–बिरुवामा पालुवा पलाउन थालेपछि मात्र पुली बजाउनुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । पुलीको धुन असाध्यै मधुर हुन्छ । गोठमा बस्दा, जङ्गलमा जाँदा र एकान्तमा एक्लो हुँदा विरह (छेर्लु) का गीत पुलीको धुनमा बजाउँदा मानिस टाढैबाट त्यस्तो धुन सुनेर आँसु झार्छन् ।

२. पिपी
‘पिपी’ स्याउलाको पातबाट बजाउने गरिन्छ । जान्नेले जङ्गलमा जाँदा स्याउलाको पात टिपेर मुखमा च्याप्छन् र सुरिलो धुन निकालेर बजाउने गर्छन् । असाध्यै सिपालुले हातको सहायताबिना नै ओठले च्यापेर पिपी बजाउन सक्छन् । पिपी बजाउन तामाङ भाषामा ‘पिपी दोङ्बो’ रूखको पात प्रयोग गर्छन् । पिपी बजाउन डोमाङको पात, मकै गोडमेल गर्दा हरियो मकैको पात पनि प्रयोग गर्छन् । यो पिपी पनि जङ्गलमा गाईवस्तु चराउन जाँदा, दाउरा खोज्न, आलु, मकै गोडमेल गर्न, करु, गहुँ भित्र्याउने बेला विरहका गीत गाएर बजाउने गर्छन् ।

३. डम्ङेन
तामाङ भाषामा टुङ्नालाई डम्ङेन भनिन्छ । डम्ङेन काठ, छाला र नाइलनको डोरीबाट बनाइन्छ । उहिले नाइलनको डोरी नहुँदा बाख्रीको आन्द्रा सुकाएर प्रयोग गरिन्थ्यो रे ! डम्ङेन तामाङ जातिमा निकै प्रचलित र प्रयोग गरिने वाद्यवादन हो । यसकारण डम्ङेन बनाउन र बजाउन जान्नेलाई सिपालु (खेबा) शब्दले सम्बोधन गरिन्छ । डम्ङेन बजाउन यसको अर्थ (शेप्प) बताउनुपर्छ । यसको अर्थ बताउन नजान्नेले यो बजाउन मिल्दैन भन्ने मान्यता छ । नयाँ गाउँ–ठाउँमा पुग्दा डम्ङेन बजाउनुअघि त्यसको अर्थ बताएपछि मात्र त्यो गाउँ–ठाउँका मानिसले डम्ङेन बजाउन दिने परम्परा रहेको बुढापाका बताउँछन् । अर्थ गीत गाएर सुनाउँदै बाजा पनि बजाउनुपर्ने हुन्छ । गीत यस्तो रहेको छ :

डम्ङेनकी आपा, तर्क सिङ्की दोङ्बो (डम्ङेनको बुबा, ओखरको रूख हो)
डम्ङेनकी आमा, ह्रम् सिङ्की दोङ्बो (डम्ङेनको आमा, उत्तिसको रूख हो)
डम्ङेनकी गो नि, सिङ्कीकर्मो ह्यिन्से (डम्ङेनको टाउको, सिंहको टाउको हो)
डम्ङेनकी नम्च्यो, केर्पा सिङ्की इर्सिङ (डम्ङेनको कान, लेकाली चुत्रोको सिन्का÷काठ हो)
डम्ङेनकी ताँती, ह्रमो गेमुयिग्युमाह्यिन् (डम्ङेनको ताँती÷डोरी, बुढी बाख्रीको आन्द्रा हो)
डम्ङेनकी ड्वेपा, ल्वु गेमुयिपक्को ह्यिन् (डम्ङेनको पेट, बुढी भेडीको छाला हो)
डम्ङेनकी ह्रिमो, ल्वेकोर च्युङिह्यिन् (डम्ङेनको बुट्टा, बाह्र वर्षे चक्र हो)
तबु खलः ताँती, च्यी, ङ्यी, सुम् (घोडाको माथि ताँती÷डोरी, एक, दुई, तीन)
ङ्युङ्मे दुङ्च्या लेन्दी, डम्ङेन् दुङ्गे ह्यिन् (निगालोको बजाउने सिन्काले, टुङ्ना बजाउने हो)

टुङ्ना बनाउन अरू पनि काठ प्रयोग गर्छन् । लेकमा पाइने तामाङ भाषामा भनिने बेल, सेतो गुराँस (म्लामेन्दो), तामार मेन्दो, ह्याउली, धुपी, लालीगुराँस आदि । यी काठलाई एक वर्षसम्म वा ६ महिनाजति गाईवस्तुको गोबर मल थुपारेको बीचमा गाडेर राख्यो भने टुङ्नाको धुन राम्रो हुनुको साथै नफुट्ने भनाइ रहेको छ । अगाडि र पछाडिको भागमा कलात्मक बुट्टा खोपेका हुन्छन् । युवायुवती एक ठाउँमा भेला भई डम्ङेन बजाएर रातभरि गीत गाएर नाच्ने चलन रहेकोमा अचेल यस्तो परम्परा हराउँदै गएको छ ।

४. पिवाङ
पिवाङ काठबाट बनाइन्छ । टुङ्ना बनाउने काठबाटै पिवाङ बनाइन्छ । यो एक प्रकारको सारङ्गी हो । यसको टाउको भने काठमा मान्छेको आकृति खोपेर बनाइन्छ । यसको पेट भाग खोक्रो हुन्छ । यसमा बजाउनका लागि प्रयोग गर्ने सामान टुङ्नाको सँग मिल्छ । बजाउँदा रेट्ने तार÷डोरी भने गधा, घोडा वा चौँरीको पुच्छरबाट बनाइन्छ । त्यसमा खोटो सल्लाको खोटो÷चोबमा डोरीलाई चोबेर पिवाङ बजाउनुपर्छ । पिवाङको धुन सुमधुर हुन्छ । विरहका गीत गाएर पिवाङ बजाउँदा नरुने विरलै हुन्छन् ।

५. कोङ्से
कोङ्से एकतारे वाद्यवादन हो । काठको मानावाफुलु (तामाङ भाषा¬मा¬¬) आकारकोमा एउटा सीधा लट्ठीजस्तो आकारकोमा डोरी÷ताँती राखेर बनाइन्छ । यसको धुन निकाल्न पिवाङ (साराङ्गी)झैँ रेट्नुपर्छ । यो निकै ठूलो धुनमा बज्ने गर्छ । हिजोआज यो बाजा देख्नै छोडेको छ । उहिलेका बुढापाकाले यो बाजा पनि बजाउने गर्थे रे !

६. गोङ्गब
‘गोङ्गब’लाई नेपालीमा बिनायो भनिन्छ । यो बाजा गीतमा मिठास दिन बजाउने गरिन्छ । फलाम, तामा, पित्तलबाट यो बाजा बनाइन्छ । अचेल यो बाजा उति प्रयोग गरेको देखिन्न ।

७. बिक्कुल
अङ्ग्रेजीमा माउथहार्बिनलाई तामाङमा बिक्कुल भनिन्छ । यो बाजा गाउँघरका युवायुवतीले निकै मन पराउँछन् । एक्लै हुँदा वा समूहमा हुँदा पनि बजाउन मिल्ने भएकाले यो बाजा लोकप्रिय भएको हुनुपर्छ । यो बाजा तामाङले प्रयोग गरेको देखिन्छ तापनि यो बाजा गाउँघरमा उपलब्ध स्रोत–साधनबाट बनाएको देखिन्न । यसकारण पनि पुख्र्यौली वाद्यवादन हो भनेर ठोकुवा गर्न सकिन्न । बिक्कुल बाजामा विरहको गीत मात्र नभएर नाच्ने गीत पनि बजाउन मिल्छ ।

८. ह्वाइबी
सुसेली पनि एक प्रकारको सङ्गीत हो । वाद्यवादन नहुँदा एक्लै पनि गीत जान्नेले सुसेली हालेर धुन निकाल्न सक्छन् । सुसेली दुई प्रकारले गर्न सक्छन् । मसिनो सुसेली र मोटो । मसिनो धुन निकाल्न दाँत देखाएर सुसेल्छन् । मोटो धुन निकाल्न ओठलाई अगाडि ल्याएर दाँत नदेखाईकन धुन निकालिन्छ । सुसेलीलाई तामाङमा ‘ह्वाइबी’ भनिन्छ ।

(धार्मिक वाद्यवादन अर्को लेखमा क्रमशः …)

phurpatamang10@gmail.com