नुवाकोट उद्योग वाणिज्य सङ्घलाई निजी क्षेत्रको भरोसायोग्य र निर्विकल्प संस्थाको रूपमा स्थापित गराएँ

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १४:०२

ताराबहादुर कार्की,
अध्यक्ष
नुवाकोट उद्योग वाणिज्य सङ्घ

नुवाकोटमा स्थापित व्यवसायीको रूपमा परिचित ताराबहादुर कार्की अहिले नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहेका छन् । कार्की सङ्घको दोस्रो कार्यकालको उत्तराद्र्धमा रहेका छन् । कार्की नुवाकोट उद्योग वाणिज्य सङ्घमा ०६१ सालमा कार्यसमितिको सल्लाहकारको रूपमा प्रवेश गरेर ०६५ मा कार्यसमितिको सदस्य, ०६९ मा उपाध्यक्ष, ०७३ मा अध्यक्षमा निर्वाचित भएका थिए । कार्की पुनः २०७५ चैतमा सङ्घमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । आगामी वर्ष सङ्घको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने तयारीमा कार्की रहेका छन् । आफ्नो व्यवसाय दुईवटा छोरालाई जिम्मा लगाएर कार्की ०६५ देखि उद्योगी-व्यवसायीको हकअधिकारको पक्षमा वकालत गर्दै व्यवसायीमैत्री जिल्ला बनाउन क्रियाशील रहेका छन् । व्यवसायीको अलावा कार्की राजनीतिक-सामाजिक क्षेत्रमा समेत सक्रिय रहेर जिम्मेवारी बहन गरिरहेका छन् । कोरोना महामारीको कारण सिर्जित वर्तमान अवस्थामा जिल्लाको उद्योग-व्यवसायको अवस्था र नेपाली काङ्ग्रेसको जिल्लाको आशन्न १४औँ अधिवेशनबारे त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको सङ्क्षिप्त अंश :

नुवाकोटमा उद्योगी–व्यवसायीको अवस्था कस्तो छ ?
करिब १८ महिनाअघिबाट कोरोना प्रभावको कारण मानिसको रोजगारी गुम्ने तथा अर्थतन्त्र धराशायी भएको वर्तमान समयमा उद्योग-व्यवसायको अवस्था कमजोर बन्दै गएको छ भने सञ्चालनमा रहेका उद्योग-व्यवसाय पनि सन्तोषजनक रूपले चलेका छैनन् । उद्योगी–व्यवसायीले कर्मचारी कटौती गरिरहेका छन् भने भएका कर्मचारीलाई पनि पूरा काम दिन सकेका छैनन् । घट्दो व्यापारको असरले बैंकको किस्ता भुक्तानीमा समस्या भई उद्योगी-व्यवसायीको धितो लिलामी हुने अवस्था सिर्जना भइरहेको छ । समग्रमा भन्दा उद्योगी–व्यवसायी रक्षात्मक अवस्थामा पुग्नुभएको छ ।

समग्र जिल्लाको आर्थिक गतिविधि कस्तो छ ?
अहिले जिल्लाको १२ वटै पालिकामा आर्थिक गतिविधि शून्य नै छ । हरेक क्षेत्रमा मन्दी भइरहेको छ । हिजो करोडको कारोबार गर्ने उद्योगी-व्यवसायी आज रोडमा पुग्ने अवस्था छ । यस किसिमको लकडाउन अघि बढिरहेको खण्डमा सबै उद्योग-व्यवसाय ताला-चाबी बैंकलाई बुझाउनुपर्ने अवस्थामा पुगेका छन् । उपभोक्ताको क्रयशक्ति घटेको कारण दैनिक उपभोग्य सामग्री र स्वास्थ्य सामग्रीभन्दा बाहेकमा उपभोक्ताले खर्च गर्न सकेको छैन । त्यसकारण होटेल, पर्यटन र यातायात व्यवसाय सबैभन्दा बढी मारमा परेको अवस्था छ । शैक्षिक व्यवसाय समेत धराशायी बनेको छ ।

सरकारले राहतका कार्यक्रमसमेत घोषणा गरिरहेको छ, यसले व्यवसायीलाई राहत पुगेको छैन ?
नेपाल सरकारले गत आ.व.०७७/७८ मा पनि व्यवसायलाई छुट र राहतको कार्यक्रम ल्याएको थियो । उक्त राहत र छुट ठूला व्यवसायीलाई मात्र भयो । आ.व. ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममार्फत साना व्यवसायीको कर छुट, पर्यटन क्षेत्रमा केही राहतका कार्यक्रम सार्वजनिक गरे तापनि पर्याप्त छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवसायीका लागि राहत हुने कार्यक्रम आउने अपेक्षा गरिरहेका छौँ । यसका लागि नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत हामीले नेपाल सरकारसमक्ष माग राखेका छौँ भने ठूलो अपेक्षासमेत गरेका छौँ । मौद्रिक नीतिमार्फत सरकारले व्यवसायको प्रकृति हेरी ब्याज मिनाहा, ऋण चुक्ता गर्ने समयावधि थप तथा कर्जा तिर्नका लागि लकडाउन तथा कोरोना प्रभाव अवधिलाई शून्य समय मानेको खण्डमा मात्र उद्यमी-व्यवसायीलाई राहत पुग्नेछ । यति गर्न सकिएन भने निजी क्षेत्र चलायमान नभएर समग्र अर्थतन्त्र एक दशक पछि पर्नेछ ।

सङ्घमा तपाईंको दोस्रो कार्यकाल सकिन लाग्यो । दुई कार्यकालमा के गर्नुभयो ?
मेरो पहिलो तथा दोस्रो कार्यकालसमेत उद्योगी-व्यवसायीको हितका खातिर सरकारी निकायसँग निजी क्षेत्रका लागि सहज नीति तथा कार्यक्रम तयारीका लागि नै केन्द्रित रह्यो । मेरो दोस्रो कार्यकालमा विश्वलाई नै गलाउने किसिमको कोरोना भाइरसको प्रभावले अर्थतन्त्रसमेत अस्त-व्यस्त भयो । यसबीचमा पनि नुवाकोट उद्योग वाणिज्य सङ्घले उद्योगी-व्यवसायीका लागि स्वास्थ्य सुरक्षाका सामग्रीको वितरण, जनचेतनाका कार्यक्रम, स्वास्थ्य संस्था तथा सुरक्षा निकायमा स्वास्थ्य सामग्रीको वितरण, उद्योग-व्यवसायमैत्री नीति, नियम निर्माणका लागि पहल गरेँ । स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा आवश्यक सुझाब तथा परामर्श दिने काम, बैंक तथा स्थानीय तहसँग उद्योगी-व्यवसायीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता गर्ने तथा व्यवसायीलाई ऋण लिन सहजीकरण गर्ने काम गरिरहेका छौँ । स्थायी लेखा नम्बर लिन सहजीकरण, गाउँ-गाउँमा व्यवसाय सहयता कक्षको घुम्ती शिविर तथा आवश्यकताअनुसार कर्मचारी परिचालन, गाउँपालिकाको उद्योगी-व्यवसायीको तथ्याङ्क सङ्कलन, पाश्र्वचित्र तयार गर्ने, स्थानीय तहको राजस्व र सुधार योजना निर्माणमा सहयोग तथा सल्लाह, सुझाब उपलब्ध गराउने, सार्वजनिक-निजी साझेदारीका कार्यक्रम सुरुवात गर्नका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ । जिल्लामा पोके व्यापारीको प्रवेशमा रोक लगाउने, यदि प्रवेश गरेमा जरिवाना गरी तुरुन्तै जिल्लाबाहिर पठाउने, विनपा-५ पिपलटारमा पाँच आना २ पैसा जग्गा खरिद, इलम प्रशिक्षण केन्द्र परिसरमा तरकारी हाटबजार सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण तथा साप्ताहिक र दैनिक तरकारीबजार सञ्चालन, विनपा-२ वनदेवी मन्दिर क्षेत्रममा भूकम्प स्मारक निर्माण, विदुर नगरपालिकाको बजार क्षेत्रमा सिसिक्यामेरा जडानलगायतका व्यवसायमैत्री कार्य गर्ने, सरोकारवाला निकायसँग सुमधुर सम्बन्ध बनाउने तथा उद्योगी-व्यवसायीलाई सहयोग गर्ने काममा निरन्तर खटिरहेको छु । सङ्घका गतिविधिमा अन्य साझेदार संस्था र पूर्णिमा कार्यक्रमले सहयोग गरिरहेका छन् । कोरोनाको प्रभावमा परेका व्यवसायीलाई कोरोना भाइरसविरुद्धको खोपमा प्राथमिकता प्राप्त सूचीमा राख्नसमेत पहल गरिरहेको छु । जिल्लामा उद्योग वाणिज्य सङ्घलाई निजी क्षेत्रको भरोसायोग्य र निर्विकल्प संस्थाको रूपमा स्थापित गराउन म र मेरो कार्यसमितिका साथी लागिरहेका छौँ । व्यवसायीका हरेक समस्याको समाधानको थलोको रूपमा सङ्घलाई स्थापित गराउन लागिरहेका छौँ ।

तपाईं उद्योगी-व्यवसायीका अलावा राजनीतिक क्षेत्रमा पनि अघि बढ्न खोज्नुभएको हो र ?
म जिल्लाको सफल व्यवसायीसमेत रहेको र सानै उमेरबाट कुनै न कुनै रूपमा राजनीतिप्रति सचेत रहँदै आएँ । ममा राजनीतिक चेतना छ । म ०४६ को परिवर्तनपछि काङ्ग्रेसमा लागेँ । ०४८ देखि नेपाली काङ्ग्रेसको कार्यकर्ताको रूपमा सक्रिय हुँदै आएको छु । उद्योगी-व्यवसायीको छाता सङ्गठन नुवाकोट उद्योग वाणिज्य सङ्घमा काङ्ग्रेस पक्षधरहरूको बाहुल्य स्थापित गराएर उद्योगी-व्यवसायीलाई काङ्ग्रेसप्रति सहयोग र समर्थन गर्ने वातावरण बनाएँ । सङ्घमा स्वतन्त्र भुमिका निर्वाह गरिसकेको अवस्था र आगामी दिनमा अब नुवाकोट उद्योग वाणिज्य सङ्घबाट बिदा लिने र नेतृत्व हस्तान्तरण गर्ने योजना भएकाले मैले गरिरहेको समाजसेवालाई निरन्तरता दिनका लागि अब सक्रिय राजनीतिक जीवनमा प्रवेश गर्ने योजना बनाएको छु । काङ्ग्रेसको केन्द्रीय नेता र क्रियाशील सदस्य तथा कार्यकर्ता तहबाट पनि सुझाब पाइरहेको छु । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आउनुभन्दा अगाडि नेपाली काङ्ग्रेस भद्रुटार गाविस इकाइको सभापतिको जिम्मेवारी पूरा गरिसकेको छु । काङ्ग्रेसका अधिकांश नेता-कार्यकर्ता, शुभेच्छुकले पार्टीको नेतृत्वमा आउन सल्लाह, सुझाब दिइरहनुभएको छ ।

अहिले नेपाली काङ्ग्रेसमा अधिवेशनको लहर चलेको अवस्था छ । तपाईंले कुन तहमा बसेर राजनीति गर्ने योजना बनाउनुभएको छ ?
म अहिले विदुर नगरपालिकाको नगर इकाइ सभापतिमा रहेर अघि बढ्ने योजना बनाइरहेको छु । त्यसका लागि नगर क्षेत्रका क्रियाशील सदस्यसँग छलफल, नेताहरूसँग सल्लाह र सुझाब बटुलिरहेको छु । जिल्लालाई नेतृत्व गर्ने र केन्द्र तहका आदरणीय नेताज्यूसँग समेत आफ्नो कुरा राखिरहेको छु । सबै क्षेत्रका नेता-कार्यकर्ताले सकारात्मक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

नगर सभापतिमा तपाईंको योग्यता पुग्छ त ?
किन नपुग्ने ? पार्टीको तर्फबाट टिकट प्राप्त गरी नुवाकोट उद्योग वाणिज्य सङ्घमा दुई कार्यकाल नेतृत्व गरिसकेको अवस्था छ भने साबिक भद्रुटार गाविसमा पञ्चायतकालमा एक वडाध्यक्ष निर्वाचित भएको तथा बहुदलपश्चात् एकपटक पुनः वडाध्यक्षमा निर्वाचित भएको थिएँ । नेपाली काङ्ग्रेसको १२औँ अधिवेशनमा भद्रुटार गाउँ इकाइ सभापतिमा निर्वाचित भई सफल कार्यकाल पूरा गरिसकेको छु भने ०४८ सालबाट निरन्तर रूपमा क्रियाशील सदस्यको रूपमा पार्टीको नीति, निर्देशन र हितका लागि पार्टीमा क्रियाशील छु । यस्तै, आर्थिक तथा भौतिक रूपमा गर्नुपर्ने योग्दान निरन्तर रूपमा गरिरहेको छु । त्यसकारण विदुर नगर सभापतिमा मेरो इच्छा र नेता–कार्यकर्ताको विश्वास भनेको यथार्थपरक छ, यो कुनै योग्यता नपुग्ने विषयमा मरो महत्वाकाङ्क्षा होइन । अर्को कुरा, म अबको केही महिनामा नुवाकोट उद्योग वाणिज्य सङ्घको अध्यक्षबाट बिदा हुँदै छु त्यसका कारण मेरो बाँकी जीवन पार्टीका लागि समर्पणसमेत गर्ने योजना रहेको छ । उमेरको कारणले पनि यो मेरो लागि अन्तिम अधिवेशन हो ।

नुवाकोटमा केन्द्रमा समेत नभएका नेतापिच्छेका गुट–उपगुट छन्, तपाईंचाहिँ कुन गुटको हो ?
तपाईंले भनेजस्तो केन्द्रमा कुन नेतालाई समर्थन गर्ने, कुन नेताको योजना, नीति तथा कार्यक्रमसँग नजिक रहने भन्ने कुरा सामान्य हो । तर, नगरपालिका तहमा केन्द्रमा कुन नेताले के भन्छन् भन्दा पनि पार्टीको आधिकारिक नीति-निर्देशन के हो भन्ने कुराले अर्थ राख्ने भएको कारण म कुनै एक नेताभन्दा पनि सबै नेतालाई उत्तिकै सम्मान र आदर गर्छु । त्यसकारण म कुनै पनि गुट-उपगुटमा नभई पार्टीको कार्यकर्ताको रूपमा क्रियाशील छु र रहनेछु । कुनै एक नेतालाई भन्दा सबै नेतालाई उत्तिकै आदर र सम्मान गर्दछु । अर्को कुरा, काङ्ग्रेसमा गुट-उपगुटभन्दा पनि इमानदार कार्यकर्ताले नेतृत्व गर्ने कुरामा हामी विश्वस्त छौँ । म निर्वाचित भएमा आगामी स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनमा विदुर नगरमा हुने खर्च म उम्मेदवार नेतालाई गर्नु नपर्ने प्रतिबद्धता जनाउँछु ।

अन्त्यमा केही भन्नु छ ?
धेरै कुरा समेटिएका नै छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घमा जसरी मेरो कार्यकालमा उद्योगी-व्यवसायीको भरोसायोग्य सङ्गठनको रूपमा विकास गरी जिल्लाभर सङ्घको प्रभाव स्थापित भएको छ र अबका दिनमा मेरो फुर्सदको समयसमेत भएको अवस्था हो । नुवाकोट उद्योग वाणिज्य सङ्घको जसरी प्रवद्र्धन भएको छ त्यसरी नै अब विदुर नगरपालिका काङ्ग्रेसमय बनाउन मलाई एकपटक विश्वास गर्नका लागि सबै नेता-कार्यकर्तामा आग्रह गर्दछु । साथै हालसम्म आमनुवाकोटवासी उद्योगी-व्यवसायी र नेता–कार्यकर्ताले मलाई गर्नुभएको विश्वास र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।